वामदेव गौतम र माधवकुमार नेपालको व्यवस्थापन निर्णायक : विश्लेषक

|

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता महाधिवेशन तयारी थालेको छ। यही भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने गत माघको केन्द्रीय कमिटीको निर्णय अनुमोदन गरेको हो। 

स्थायी कमिटी बैठकले मंसिरभित्र कार्यकर्ता सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको छ। नेकपाका नेताहरूले ८ लाख पार्टी सदस्य रहेको बताउने गरेका छन्‌। यद्यपि, सदस्यहरुको अभिलेख चुस्त-दुरुस्त नभएकाले नेकपालाई सदस्यतासम्बन्धी विषय टुङ्ग्याउन सकस पर्ने देखिन्छ।

स्थायी कमिटीको म्यान्डेटअनुसार आइतबार (भदौ २८) बसेको संगठन विभाग बैठकले असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय गरेको छ।

संगठन विभाग सदस्य खगराज भट्टले पार्टीले निर्णय गरिसकेपछि महाधिवेशन हुनेमा शंका गर्नुपर्ने स्थिति नरहेको बताए। पार्टीको विवाद पूर्णरुपमा अन्त्य भएको र २ अध्यक्षलाई विश्वास गरेर बढ्नुपर्ने उनीको भनाई छ। कोरोनाकालमा पनि प्रविधि अनुसारको मोडालिटी बनाएर महाधिवेशन हुने उनले तर्क गरे। 

समय उपयुक्त होइन : रघुजी पन्त

भट्टले भनेजस्तो तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न त्यति सजिलो भने छैन। यसबीचमा पार्टीका विभागलाई पूर्णता दिनुका साथै एकताका कामलाई समेत टुंग्याउनुपर्ने चुनौती छ।

कोरोना महामारी तीव्र गतिमा फैलिइरहेका बेला पार्टीले तयारी गरिरहेको महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्रैका केही नेताले समेत आशंका व्यक्त गरिरहेका छन्‌।। 

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेता रघुजी पन्त महाधिवेशनका लागि अहिलेको समय उपर्युक्त नरहेको तर्क गर्छन्। कोरोना महामारीका बेला जनतालाई 'घरमा बस' भन्ने र सत्तारुढ पार्टीले नै महाधिवेशन जस्ता गतिविधि गरे आमजनतामा राम्रो सन्देश नजाने उनको बुझाइ छ। 

तोकिएको मितिमा गर्न सके राम्रो हुने, तर डेढ–२ महिना अरु सबै काम छोडेर जनताको जीउधनको रक्षा गर्नतर्फ लाग्नुपर्ने उनको धारणा छ। उनले भने, ‘अहिलेको परिस्थितिमा महाधिवेशन गर्नु उपर्युक्त हो जस्तो लाग्दैन।’

विश्लेषकले देखेका समस्या

राजनीतिक विश्लेषकहरूले ​हाल दुई अध्यक्षबीच युद्धविराम गर्ने सहमति मात्र भएकाले तोकिएकै मितिमा महाधिवेशन हुनेमा आशंका गरेका छन्।

पार्टी उपाध्यक्ष वामदेव गौतमबारे निर्णय र मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीले पार्टीसँग समन्वयमा गर्ने भन्ने दुई अध्यक्षबीच सहमति भएपनि यो अहिलेसम्म कार्यान्वयन नभएकाले फेरी उस्तै अवस्था आउनसक्ने उनीहरू बताउँछन्‌। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपाको महाधिवेशन कोभिड–१९ को स्थितिमा भर पर्ने बताउँछन्‌। साथै, विभिन्न कारणले महाधिवेशन नहुने र नेकपामा साम्य भएको भनिएको विवाद केही समयपछि फेरि उनले आंकलन गरे। 

‘पहिलो त, कोरोना भाइरसकै कारण असर पर्छ, वामदेव गौतमको व्यवस्थापन मात्रै राम्रोसँग भएन भने पनि बबण्डर हुनेवाला छ। माधवकुमार नेपालले उठाएका विषयहरूका कारण अझ ठूलो विवाद निम्तन सक्छ।’

नेता नेपाल पार्टीको निर्णायक स्थितिमा रहेका र उनी जहाँ जान्छन्, त्यहीँ बहुमत हुने श्रेष्ठ तर्क गर्छन्। भन्छन्, ‘माधव नेपाललाई उपेक्षा गर्नु घातक सिद्ध हुनेछ। उनको कुरा मान्नुको​ विकल्प  पनि छैन। पार्टी अझै पनि प्रणालीमा चलिरहेको छैन्।’ २ जना नेताको निर्णयमै अहिले नेकपा चलिरहेको वाम विश्लेषक श्रेष्ठको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.