योगासहित खानामा माछामासु र फलफूल

|

विराटनगर : प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका छन्। सरकारी निवासमा उनी १७ दिनदेखि होम आइसोलेसन बसेका छन्।

उनमा अहिले पनि संक्रमणको लक्षणका रुपमा देखिने रुघाखोकी लाग्ने क्रम र नाकले पाउने गन्ध फर्किसकेको छैन। उनी नियमित रुपमा चिकित्सकहरूसँगको परामर्शमा रहने गरेका छन्।

विगतका दिनमा देखिएको लक्षणहरु ज्वरो आउने, पखाला लाग्ने, खानामा अरुचि, जिउ दुख्‍ने लक्षणहरुमा क्रमिक सुधार आइसकेको मन्त्री घिमिरेले बताए। होम आइसोलेसनमा बसिरहेका मन्त्री घिमिरेका चार दिन अघि गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो।

होम आइसोलेसनमा रहेका मन्त्री घिमिरेलाई कोशी कोभिड १९ उपचार केन्द्रका मेडिकल अफिसरका टिमले क्वार्टरमा आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक औषधि दिने कार्य गर्दै आएको छ।

‘कोरोना संक्रमण देखिएपछि मेडिकल टिमले तीन पटक मेरो स्वास्थ्य परीक्षण गरिसक्नु भएको छ,’मन्त्री घिमिरेले भने,‘डाक्टरको सल्लाहअनुसार नै ममा  कोरोनाको सम्पुर्ण लक्षण देखिए पनि होम आइसोलेसनमा बसेको हो।’ अहिले चिकित्सको परामर्शअनुसार आवश्यक स्वास्थ्य सावधान अपनाउँदै आएकाले अबका केही दिनमै ठिक हुने विश्वास लिएको मन्त्री घिमिरेले बताए।

मन्त्री घिमिरेलाई भदौ १३ गते संक्रमण देखिएपछि कोशी कोभिड १९ उपचार केन्द्रका संयोजक डा दीपक सिग्देल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा संजीव शर्मासँगको परामर्शमा घरमै होम आइसोलेसनमा बस्ने सक्ने बताएपछि उनी भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा केही समस्या आएमा उनी अहिले पनि चिकित्सकद्वय सिग्देल र शर्मासँग आवश्यक परामर्श लिने गरेको बताउँछन्।

रक्तचाप र अक्सिजन सामान्य

मन्त्री घिमिरेको उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुख्यतया रुघाखोकी, जिउ दुख्‍ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या देखिएको थियो।

दैनिक भर्चुअल मिटिङमा व्यस्त

सरकारी निवास मन्त्री क्वार्टरमा भदौ १७ देखि होम आइसोलेसनमा रहेका मन्त्री घिमिरेको दैनिकी अहिले संघीय सरकार र पालिकाले आयोजना गरेका भर्चुअल मिटिङमा बित्ने गरेको छ।

सोमबार बिहानै राष्ट्रिय बाल दिवस भर्चुअल मिटिङमा उनी करिब डेढ घण्टा सहभागी भए।

‘संक्रमित भएपछिको बसाइको धेरै समय भर्चुअल मिटिङमा सहभागी भएर बित्ने गरेको छ,’मन्त्री घिमिरेले भने’ ‘आज राष्ट्रिय बाल दिवसको भर्चुअल मिटिङमा बिहानै डेढ घण्टा सहभागी भएँ, संघीय सरकार र स्थानीय पालिकाले आयोजना गरेको भर्चुअल मिटिङमा आजको दिनभरीको दैनिकीमा केन्द्रित छ।’

स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएपछि उनी मन्त्रालयको काम फोनबाटै बुझ्ने र आवश्यक निर्देशन दिने काममा बित्ने गरेको उनले आफनो दैनिकी सुनाए।

मन्त्री घिमिरे आफू दिनभरी व्यस्त भइरहँदा आफू संक्रमित भएको महसुससमेत नहुने र जसले गर्दा स्वास्थ्य सुधारमा बल पुगेको उनको ठम्याई छ।

कोरोना लाग्दा कुनै आश्चर्य मानिनँ

‘प्रदेशमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणको काममा व्यस्त रहिरहँदा आफू संक्रमित हुनेमा म पहिलादेखि नै विश्वस्त थिएँ,’ मन्त्री घिमिरेले भने, ‘अन्तत: कोरोना संक्रमण भई छाड्यो,रिर्पोट पोजेटिभ आउँदा कुनै आश्चर्य मानिनँ। त्यसपछिका दिनमा चाँहि आवश्यक खानपानसँगै शारीरिक व्यायाम, स्वास्थ्य सावधानी अपनाएको छु।’ आफू छिट्टै संक्रमणमुक्त हुनेमा विश्वस्त रहेको उनले बताए। उनी यसअघि संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका थिए।

उनले होम आइसोलेसनमा रहँदादेखि नै जे खाँदा पनि तातो खानुपर्ने चिकित्सकीय सल्लाहअनुसार कागती पानी, मह पानी, सामान्य तातोपानीलगायत अन्य तरल पदार्थ दिनमा ४ देखि ५ लिटरसम्म अनिवार्य पिउने गरेको बताए।

योगसहित खानामा माछामासु र फलफूल

बिहान सामान्य योगा तथा अन्य शारिरिक अभ्यास निरन्तर गर्ने र खानामा माछा मासु फलफूल दैनिक  लिने गरेका छन्। औषधीय गुणले भरिएको र शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत दिने गुर्जोजस्ता जडीबुटी प्रयोग गर्दै आएका छन्।

उच्च आत्मबलले संक्रमणलाई जितिन्छ

उच्च मनोबलका साथ खानपान र स्वास्थ्य सावधानी अपनाए कोरोना संक्रमणलाई परास्त गर्न सकिने मन्त्री घिमिरेको बुझाई छ।

उनले व्यक्तिअनुसार संक्रमणको प्रभाव फरक-फरक पर्ने अनुभव आफूले गरेको बताए। जसअनुसार आफूमा कोरोनाको सबै लक्षण देखिए पनि होम आइसोलेसनमा बसेर उच्च मनोबलका साथ खानपान र स्वास्थ्य सावधानीमा विशेष ध्यान दिएकाले स्वास्थ्य अवस्थामा चाँडै सुधार हुने क्रममा रहेको उनले बताए।

‘स्वास्थ्य मापदण्डअनुसार सबै लक्षण भएका संक्रमितलाई अस्पताल भर्ना गराउनुपर्ने हुन्छ,’मन्त्री घिमिरेले भने,‘तर पनि म कोरोनालाई परास्त गर्नसक्छु भन्ने उच्च मनोबल बनाएर होम आइसोलेसनमा बसेको छु।’

त्यसैले संक्रमण हुँदैमा मरिहालिन्छ कि भन्ने चिन्ताबाट पहिला सबै मुक्त भएर आवश्यक स्वास्थ्य सावधानीसँगै खानपानमा ख्याल गर्न उनको सुझाव छ।

तर, कोरोना केही होइन भनेर सामान्य रुपमा हेर्न पनि नहुने सुझाव दिँदै मन्त्री घिमिरेले भने, ‘मानिसको रोगसँग लड्न सक्ने यसको प्रतिरक्षा प्रणालीका आधारमा यसको प्रभाव कम र बढी देखिँदो रहेछ।’ यसबाहेक मन्त्री घिमिरेको आइसोलेसनको बसाई अधिकांश समय अध्ययनमा बित्ने गरेको बताए।

मन्त्री घिमिरे प्रदेश १ मा संक्रमितमध्ये सबैभन्दा उच्च ओहदाका व्यक्तिमा पर्दछन्l।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.