दीर्घ रोगी र ६० वर्षमाथिकालाई घरमै बस्‍न आग्रह

|

काठमाडौं : सरकारले कोभिड-१९ का कारण देशको अवस्था झन् खराब हुन थालेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबारको नियमित ब्रिफिङका क्रममा कोभिडले देशको अवस्थामा धेरै खराब भएको बताए।

उनले दुई महिनाअघि नै मन्त्रालयले भनेको कुरा अहिले पनि सर्वसाधारणले नसुनेको भन्दै दु:ख व्यक्त गरे। 'अहिले माइतीघरसहितका स्थानमा भिडभाड र जुलुस गरेर हिँड्ने क्रम बढेको छ', उनले भने, 'दुई महिनाअघि पनि भिडभाड र जुलुस नगर्न मैले भनेको थिएँ। अहिले माइतीघर र बालुवाटारसहितका स्थानमा फेरि भिडभाड बढ्दा कोरोना खतरनाक हुने देखिएको छ।'

गौतमले जुलुस र भीडभाडले ठूलो क्षति निम्त्याउने पनि चेतावनी दिए। 'यसले ठूलो क्षति हुनेवाला छ, यो क्षतिलाई रोक्न जुलुस नगरौं। काठमाडौंसहितका घना बस्तीमा कोभिड-१९ को संक्रमण बढेको छ', उनले भने, 'अवस्था धेरै खराब भएको हामीले आँकलन गरेका छौं।'

गौतमले ६० वर्ष नाघेका र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्किन पनि अपिल गरे। '६० वर्ष पुगेका कोही पनि घर बाहिर ननिस्किनु होला, मधुमेह रोगी, फोक्सो र मुटुसहितका बिरामीले घरबाट ननिस्किनु होला', उनले थपे, 'केही दिनका लागि तपाईंहरु घरमै बस्नुस्। घरबाट बाहिर निस्कनै परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू।'

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण भएपछि सरकारले अवस्था जटिल मोडतर्फ गएको बताएको छ। पछिल्लो २४ घण्टायता काठमाडौं जिल्लामा मात्रै ६ सय ९८ जना संक्रमित भेटिएका छन्। अर्कातिर ललितपुरमा ७९ जना संक्रमित भेटिँदा भक्तपुरमा ८२ जना नयाँ संक्रमित थपिएका छन्। 

यस्तै देशभर शुक्रबार २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। सरकारले पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनामा पिसिआर परीक्षण गरेको छ। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.