अप्ठ्यारोको बेला आफन्त र साथीभाइले गरे सहयोग

|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–५ का बाबुकृष्ण श्रेष्ठका बुवा फोक्सोका बिरामी हुन्। उनको नियमित उपचार नगरपालिकाले नै सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा हुँदै आएको छ। त्यही उपचारका क्रममा बाबुकृष्णका बुवामा कोरोना भाइरस संक्रमण देखियो।

बाबुकृष्णको परिवारमा १७ जना छन्। बुवामा कोरोना संक्रमण देखिएपछि परिवारका सबैजनाको परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भयो। ‘त्यसपछि परिवार नै होम आइसोलेसनमा बस्यौं,’ बाबुकृष्णले भने, ‘दैनिक गुजाराका लागि आवश्यक सामग्री साथीहरुलाई फोनमार्फत भन्ने र उनीहरुले घरमै ल्याइदिने गरी सहयोग गरे।’ 

उनका अनुसार घरबाहिर ननिस्किएकाले छरछिमेकी र समाजको नराम्रो व्यवहार खेप्नु परेन। साथीहरुले ठूलो सहयोग गरे। आफन्त र इष्टमित्रले फोनमार्फत सान्त्वना र हौसला दिने गरेको उनले बताए। उनले भने, ‘साथीभाइको सहयोगले ओम आइसोलेसनको बसाइ सहज भयो।’

मध्यपुर थिमि–५ का बाबुकृष्णको जस्तै भक्तपुर नगरपालिका–३ का एक परिवारले पनि साथी र आफन्तले राम्रो सहयोग पाएको सनाए। तर, स्थानीयले भने हेला व्यवहार गरेको ती परिवारको गुनासो छ। वडा नम्बर ३ बाराहीस्थानमा एउटै परिवारका १३ जना कोरोना संक्रमित भएका थिए। चार दाजुभाइको परिवार एकै घरमा बस्ने भएका कारण संक्रमितको संख्या बढ्दै गएको थियो।

शुरुमा उक्त परिवारको एकजना ज्येष्ठ सदस्यमा कोरोना संक्रमण देखिएको थियो। दमका बिरामी समेत रहेका उनमा संक्रमण पुष्टि भएपछि अस्पताल आइसोलेसनमा उपचारका लागि लगिएको थियो। त्यसपछि परिवारका सबैको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखियो। तर, कसैमा पनि लक्षण देखिएन। संक्रमित भएपछि स्थानीय निकाय र प्रहरीको रोबहरमा घर सिल गरे। घर सिल गरेपछि स्थानियले घृणा गरेको एक संक्रमितले सुनाए। 

‘जब हाम्रो घरका १३ जना सदस्यहरुलाई कोरोना पोजेटिभ आयो। हामीसँग बोल्न, हाम्रो घर छेउ आउन समेत स्थानिय हिच्किचाए,’ एक संक्रमितले भने, ‘यतिसम्म भयो, मानौं हामीले छोएपछि, हामीसँग कुरा गरेपछि तत्काल रोग सर्ने जस्तो व्यवहार भयो। हामीमाथि ठूलो ज्यादति नै भयो।’

रोगभन्दा पनि सामाजिक भेदभावले बढी चिन्तित बनाएको उनको अनुभव छ। ‘यस्तो बेला सामाजिक सदभाव राम्रो हुनुपर्नेमा झन् हामीलाई हेपाहा व्यवहार देखाइयो,’ उनले भने, ‘समाजले हेपाहा प्रवृत्ति देखाए पनि संकटको बेला आफन्त र साथीहरुले राम्रो सहयोग गरे।’

घरमा खाद्यान्नलगायतका दैनिक आवश्यक वस्तुको लागि आफन्त र साथीहरुलाई फोन गरेर जानकारी दिने उनीहरुले घरसम्म ल्याइदिने गरेको उनले बताए। ‘त्यो समयमा मेरो नजिकको आफन्त नभएको भए सायद दैनिक आवश्यक खाद्यान समेतको अभावले भोकमरी हुने अवस्था आउँथ्यो,’ उनले भने। 

उक्त परिवारलाई नगरपालिकाले पनि खाद्यान्न सहयोग गरेको थियो। नगरपालिकाले पनि राहत दिएपछि दैनिक गुजारा सहज भएको उनले बताए। अहिले उक्त परिवारका सबैजना कोरोना मुक्त भइसकेका छन्। तर पनि स्थानीयले अभैm शंकाले हेर्ने गरेको संक्रमितको गुनासो छ। उनले भने, ‘अहिले सबैमा नेगेटिभ आए पनि बाहिर गए, पसल गए ऊ कोराना भएको आयो भनी पर पर जाने व्यवहार मन साहै दुःख्छ।’

सूर्यविनायक नगरपालिका–३ का एक परिवारले पनि कोरोना संक्रमण हुँदा साथी र आफन्तले राम्रो सहयोग गरेको बताएका छन्। सो परिवारका तीनजनालाई संक्रमण भएको थियो। कामको सिलसिलामा बाहिर गइरहनुपर्ने भएकाले कन्ट्रायाक ट्रेसिङमार्फत परीक्षण गर्दा कोरोना पोजेटिभ आएको ती परिवारले बताए।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका ती परिवारका एक सदस्यले भने, ‘आफैँ घरबाहिर नआइकन बसें। खासै कुनै लक्षण नदेखिएकाले कुनै डरको सामना चाहिँ गरेनौं। तर स–साना नानीहरु भएकाले नानीहरुलाई नजिकको आफन्तकहाँ पठाएँ।’ 

घर सिल गरेपछि समाजले हेर्ने दृष्टिकोण नराम्रो हुन्छ भनेर स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको समन्वयमा घर सिल नगरी होम आइसोलेसन बसेको ती सदस्यले बताए। यसो गर्दा स्थानीय छिमेकीले कोरोना संक्रमण भएको थाहा नै नपाएको उनले बताए। 

‘स्थानीय तह र प्रहरी प्रसासनसँग सहकार्य गरेर घर सिल नगरेका कारण टोल छरछिमेकमा पनि कोरोना लागेकोहरुको घर भनेर थाहा पाउन दिएनौं,’ उनले भने, ‘आफँै सचेत भएर तीन सातासम्म घरमै बसें। घरमा अरु बेलाजस्तै परिवार सबै सँगै खाना खाएँ।’

दैनिक उपभोग्य सामानाका लागि साथीहरुलाई फोन गरेर जानकारी दिने र उनीहरुले घरमा ल्याइदिने व्यवस्था गरेकाले पनि होम आइसोलेसनमा बस्दा कुनै गाह्रो अप्ठ्यारोको सामना गर्नु नपरेको उक्त परिवारको अनुभव छ।

उता चाँगुनारायण नगरपालिकाका एक परिवारले भने छरछिमकी मात्र नभइ साथीभाइ र आफन्तले समेत सहयोग नगर्दा संक्रमणको बेला दैनिक गुजारा चलाउन समेत मुस्किल भएको बताए। परिवारका तीन सदस्यमा कोरोना संक्रमण भएको खबर फैलिएपछि स्थानीयले मात्र नभएर आफ्नै दाजुभाइले समेत नराम्रो व्यवाहर गरेको उक्त परिवारको दुखेसो छ।

एक संक्रमितले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘घरमा खाद्यान्नको अभाव भएका कारण आफन्त र साथीभाई फोन गर्दा फोन समेत उठाइदिएन। निकै सकसपूर्ण जीवन बिताएँ।’ 

आफ्नो ठेगाना समेत खुलाउन नचाहेका ती परिवारका सबैजना कोरोनामुक्त भइसकेका छन। तर, अहिले पनि समाजको सान्त्वना पाउन नसकेको गुनासो ती संक्रमितले गरेका छन्। अहिले पनि स्थानीय खुलेर घुलमिल गर्न हिच्किचाउने गरेको उनले बताए। उनले भने, ‘अहिले सबैलाई निको भैसकेको छ तर पनि बाहिर, पसल र बारीमा जाँदा समेत संक्रमित आयो जाम जाम भन्ने आवाज सुन्नु परेको छ । यसले धेरै चित्त दुःखेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.