|

काठमाडौं : गोकर्णस्थित भैरवचौरकी प्रतिक्षा गुरुङ अरु बेलाभन्दा आइतबार साढे ५ बजे नै उठिन्‌। आइतबार उनका लागि खुशीको दिन थियो। कारण स्कुलमा पढ्न जान पाउनु ! सात महिनासम्म स्कुल देख्न नपाएकी प्रतिक्षा खुशीले गदगद हुँदै तयार भइन्‌। कक्षा १० मा अध्ययनरत उनको स्कुलमा ७ बजे देखी नै पढाई शुरू हुने समय तालिका थियो।

उनी अध्यनरत स्कूल गोकर्ण माध्यमिक विद्यालयमा आइपुग्दा अरु साथीहरू आइरहेका थिए भने कोही कक्षाकोठामा बसिसकेका थिए। स्कुलमा पाइला टेक्न पाउँदा उनमा खुसीको सीमा नै थिएन। भन्छिन्‌, ‘सात महिनापछि स्कुलमा पाइला मात्रै टेक्दा धेरै खुसी भएँ। धेरै महिनापछि आएकाले स्कुलको गेटमा पुग्दा पनि कहाँ गएको जस्तो नौलो–नौलो भएको भान भयो।’

उनले अनलाइन कक्षाभन्दा भौतिक उपस्थितमै पढ्दा धेरै प्रभावकारी हुने सुनाइन्‌। ‘घरमा बसेर अनलाइन कक्षा पढ्नुभन्दा स्कुलमै पढ्नु धेरै राम्रो हुन्छ,’ थाहाखबरसँग भनिन्‌, ‘हामी स्वस्थ्य मापदण्ड पालना गरेर विद्यालय आउने छौँ।’ सोही विद्यालयको कक्षा १० मा अध्ययनरत समीर मगर पनि स्कुलमै पढ्न पाउँदा धेरै खुशी देखिन्थे।

‘लामो समयपछि कक्षामा साथीसँग बसेर पढ्न पाउँदा धेरै खुशी भएको छु,’ उनले भने, ‘शिक्षकहरूसँग नजिक बसेर पढ्न पाएको छु। अनलाइन कक्षाभन्दा धेरै राम्रो भएको छ।’ सामाजिक दुरी कायम गरेर भए पनि स्कुलमा पढ्न पाउनुपर्ने माग उनको छ। विद्यालयका प्रधानाध्यापक सुस्मिता कार्कीका अनुसार एक हप्ता अगाडी पनि स्कुलमै पठनपाठन गर्न लागिएको थियो। तर, प्रहरी प्रशासनले बन्द गर्न लगायो।

अहिले गोकर्णेश्वर नगरपालिकाले सबै नगरभित्रका स्कुल सञ्चालन गर्ने निर्णय गरेपछि आइतबारबाट पठनपाठन थालेको कार्कीले बताइन्‌। ​‘हामीले अनलाइन कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थी सहभागी भएनन्‌,’ उनले भनिन्‌, ‘यसले गर्दा शैक्षिक सत्र पूरा नहुने भयो। नगरपालिकाले नै स्कुल सञ्चालन गर्ने निर्णय गरेपछि स्कुलमै पठनपाठन गराएका हौँ।’

उनका अनुसार विद्यार्थीले अनिवार्य मास्क लगाएर आउनुपर्ने छ। स्कुलमा साबुन-पानी राखिएको छ। राम्रोसँग हात धोएर सेनिटाइजर लगाएपछि मात्रै कक्षा कोठामा प्रवेश गर्न दिइएको छ। उनले भनिन्‌, ‘हामीले विहान र दिउँसोको सिफ्टमा पढाउँछौं। बिहानी कक्षामा कक्षा ६ र १० लाई बोलाउँछौँ। दिउँसो नर्सरीदेखि कक्षा ५ सम्म विद्यार्थीलाई बोलाएका छौँ। यही अनुसार अरु कक्षाको पनि हप्ताभरको रुटिङ बनाएका छौँ।’ 

एउटा कक्षामा अहिले २० जना राख्न दिइएको छ। एक बेन्चमा एक जना र आवश्यक भएको खण्डमा दुईजना राख्ने गरिएको छ। केन्द्र र स्थानीय सरकारको निर्णयले अन्योलमा परेको उनी सुनाउँछिन्‌। ‘नगरपालिकाले विद्यालय खोल्ने जिम्मा लगाएकाले हामीले पठनपाठन थाल्यौँ,’ उनले भनिन्‌, ‘तर, जिल्ला प्रशासन आएका मानिसले बन्द गराउन खोजिरहेका छन्‌, अब कसको निर्णय सुन्ने? हामी एकदमै अन्योलमा पर्‍यौं।’

केन्द्र सरकारले स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठन गर्न अनुमति दिएमा सहज रुपमै शैक्षिक सत्र सकिने उनको भनाई छ। नगरपालिकाले असोज १६ गतेबाट विद्यालय खोल्ने निर्णय गरेसँगै सुन्दरीजल,नयाँपाटीमा रहेको बालसुधार माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको छ। लामो समयदेखि भएको सुनसान विद्यालयमा अहिले चहलपहल बढेको छ।

बालसुधार विद्यालयमा अध्ययनरत नयाँपाटी, राइटारकी एन्जल शेर्पाले पनि विद्यालयमा आएर पढ्न पाउँदा धेरै खुसी भएको सुनाइन्‌। एन्जल जस्तै अर्का सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत नयापाटीकी प्रमिला तामाङ पनि धेरै खुसी छिन्‌। उनले भनिन्‌, ‘यो कोरोना कारण अब यो वर्षभर पढ्न नपाइने रहेछ भन्ने सोचेकी थिएँ। चिन्ता थियो। तर, विद्यालयमै पढ्न पाएँ।’

स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गरेको बालसुधार माध्यमिक विद्यालयका प्रधानाध्यापक विन्दुराज खनाल बताउँछन्‌। उनले भने, ‘दुई सिफ्टमा विद्यालय सञ्चालन गर्ने कि भन्नेबारे छलफल भैरहेको छ। के कति विद्यार्थी सहभागी हुन्छन्‌, त्यही आधारमा निर्णय गछौँ।’ उनका अनुसार अबदेखि दैनिक दुई घण्टा पढाइनेछ।

विद्यालयमा मास्क, सेनिटाइजर लगाउने र हातधुने व्यवस्था गरिएको छ। सरकारको दुई मतले आफू अन्योलमा परेको पनि उनले सुनाए। ‘केन्द्र र स्थानीय सरकारको एक मत निर्णय नहुँदा सिकाई गतिविधि बढाउन नै अन्योलमा छौँ। विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने एक निर्णय सरकारले गर्नुपर्‍यो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.