|

बर्दिया : भदौ ४ गते बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित ढकैला मध्यवर्ती सामुदायिक वनवाट काठ चोरी निकासी गर्ने २ जनालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको थियो।

उनीहरूको साथबाट २८ क्युफिट कर्मा र जामुन जातो काठ र आरा एक थान बरामद भयो।  

त्यस्तै, भदौ ९ गते बाँसगढी नगरपालिका–२ अमैयास्थित बाघखोर मध्यवर्ती सामुदायिक वनवाट डल्लपमा लोड गरी अवैध साल जातको काठ ओसारपसार गर्ने ६ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले ३३ क्युफिट साल जातको काठ बरामद गरेको थियो। 

यस्तै, भदौ ९ गते नै बाँसगढी नगरपालिका–१ भंगा स्थित मध्यवर्ती वनमा अवैध साल जातको काठ चोरी निकासी गर्ने २ जनालाई पक्राउ गरी उनीहरूको साथबाट ७१ क्युफिट परिमाणको साल काठ बरामद गरिएको थियो। 

यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मधुवन नगरपालिका–१ डल्लाबाट चित्तलको चोरीशिकार गरेको कसुरमा एउटा मृत चितलसहित एक जनालाई पक्राउ गरियो। 

भदौ १८ गते ठाकुरबाबा नगरपालिका वडा नं २ अम्बासाबाट अवैध काठ चोरी निकासी गर्ने ४ जना लाई निकुञ्जको टोलीले पक्राउ गर्‍यो। उनीहरूको साथबाट ६० क्यूफिट परिमाणको साल, साज र सादन जातको काठ र आरा पाँच थान बरामद गरिएको थियो।

भदौ २३ गते बैजनाथ गाउँपालिका वडा नं १ बाट अवैध काठ चोरि निकासी गर्ने २ जना पक्राउ र निजहरूको साथ बाट १६ क्यू फिट परिमाणको साल जातको गोलिया काठ बरामद गरिएको थियो। 

बाँसगढी नगरपालिका वडा नं ४ अस्नेरी बाट अवैध साल काठ चोरी निकासी गर्ने दुई जनालाई पक्राउ गरी उनीहरूको साथबाट २१ क्यू फिट परिमाणको साल जातको चिरान काठ र चार थान फ्रेम आरा बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले जनाएको छ। यस्ता घटनाले लकडाउनको मौका छोपेर बर्दिया निकुञ्जमा वन्यजन्तु तस्करहरू सलबलाउन थालेको देखाउछ।

तस्करहरूको चहपलपहल बढ्यो

झण्डै दुई साताअघि बर्दिया निकुञ्ज भित्र तस्करले थापेको पासोमा पाटे बाघ परेपछि निकुञ्जमा वन्यजन्तु तस्कर सक्रिय रहेको पुष्टि भयो। निकुञ्जभित्रको लमकोहली फाँटा क्षेत्रमा तस्करले चित्तलका लागि थापेको पासोमा परेर मरेको अर्ध वयस्क पाटे बाघ फेला परेको थियो। पासोमा परेको बाघ फेला पर्दा बाघ सडिसकेको थियो।

निकुञ्जका अनुसार मृत बाघ फेला परेको स्थान निकुञ्जको मुख्यालयबाट करिव १० किलोमिटर टाढा पर्छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सुरक्षा पोष्ट झण्डै तीन किलोमिटरको दुरीमा पर्छ। बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले थाहा नै पाएन। जब थाहा पाए : तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो। 

बाघलाई पासोमा पार्ने गिरोहको खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जको सुरक्षार्थ निकुञ्ज भित्र नेपाली सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोष्टहरू छन्। 

बाघलाई पासोमा पारेको घटनाले बर्दिया निकुञ्ज भित्र तस्करहरूको चहपलपहल बढेको तथ्य प्रष्ट भएको स्वयम संरक्षणकर्मीहरू बताउँछन्। पासोमा परेर बाघ मरेको घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ। चैत्रमा लकडाउन भएदेखि निकुञ्जमा वन्यजन्तुका तस्करहरू सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको जनाएको छ।

निकुञ्जले स्वीप अप्रेसन बढायो

तस्करी रोक्न निकुञ्ज प्रशासनले अहिले सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएका छन्। तिनीहरूमध्ये केही व्यक्ति नराम्रो गतिविधिमा लागेको निकुञ्जको आशंका छ। वन्यजन्तुको चोरीशिकार गरेको आरोपमा फरार रहेका व्यक्तिहरू पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरूको निगरानी बढाएको निकुञ्जको भनाई छ।

लकडाउन अवधिभित्र तस्करीमा संलग्न झण्डै सात सय जना समातिए

देशभर लकडाउन सुरु भयो त्यसयता वन र वन्यजन्तु तस्करीमा संलग्न झण्डै ७ सय जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको निकुञ्ज जनाएको छ। पक्राउ परेकाहरूमध्ये १५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्धा चलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए।

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको र चोरीशिकार, निकुञ्ज छेवैमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षामा चुनौती रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। 

निकुञ्जभित्र अति संवेदनशील क्षेत्रमा क्यामेराह पनि जडान गरिएका छन्। निकुञ्जको क्षेत्रभित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरूको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ। 

वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोष्टहरूबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ। लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकाशं कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.