|

अर्घाखाँची : दुईतिहाइ बहुमतले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी तोकिएसँगै दाङ, अर्घाखाँची र प्युठानका नागरिक खुशी भएका छन्। प्रदेश ५ का १२ वटा जिल्लाको केन्द्रविन्दुमा राजधानी तय भएपछि यहाँका नागरिकले दिप प्रज्वलन गरी खुशी मनाएका हुन्। 

प्रदेशका १२ वटा जिल्लालाई पायक पर्ने केन्द्र अर्थात दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको संगमस्थल भालुवाङमा राजधानी तोकिएपछि यस क्षेत्रका नागरिक उत्साहित देखिन्छन्‌। विकास निकै पछि परेको भालुवाङ क्षेत्रमा प्रदेश राजधानी आएपछि अब विकासले गति लिने स्थानीय गंगाराम भट्टराईले बताए।

'प्रदेश सभाले यस ठाउँलाई स्थायी राजधानी कायम गरेको छ, हामीले कल्पना पनि नगरेको निर्णय हुँदा निकै खुशी भएका छौं, ' उनी भन्छन्‌, 'ऐलानी जग्गा भालुवाङ क्षेत्र विकासमा त्यसैपनि पिछडिएको थियो, वन क्षेत्र फडानी गरी बस्न थालेको ४० वर्ष बितिसक्दा पनि अहिलेसम्म हातमा लालपुर्जा पाउन सकिएको थिएन।'

राजधानी आएपछि यहाँका नागरिकले राहत पाउने राप्ती गाउँपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद पोखरेलले बताए।। आफूहरू वर्षौंदेखि भालुवाङ नजिकै अर्घाखाँचीको भूभागमा बस्दै आएपनि जिल्लाको सदरमुकाम सन्धिखर्क जान अपायक पर्ने हुँदा सबै काम प्रदेश राजधानी भालुवाङबाट हुने भएपछि निकै सजिलो हुने स्थानीय बीना बेल्बासेको भनाई छ।

उनीहरूमात्र होइनन्,  राजधानीले अर्घाखाँची शीतगंगा नगरपालिकाको भूभाग पनि समेटिएकाले अर्घाखाँचीबासी पनि उत्तिकै खुशी छन्। सबै जिल्लाको प्रतिनिधित्व हुने गरी न्यायोचित रुपमा राजधानी कायम गरिएकाले आफूलाई खुशी लागेको ज्योति भविश्वर बहुमुखी क्याम्पस,  शीतगंगा अर्घाखाँचीका क्याम्पस प्रमुख विष्णु प्रसाद भट्टराईले बताए। उनले भने, 'पाल्पा, गुल्मी र अर्घाखाँचीबाट प्रदेश राजधानी भालुवाङ जान निकै सजिलो हुनेछ, यस क्षेत्रमा अब विकासले गति लिनेछ।' 

भालुवाङको इतिहास

​वनभित्रको वस्ती भालुवाङ शुरू देखि नै लालपूर्जाका लागी चर्चामा आइरहने वस्ती हो। अर्घाखाँची शीतगंगाको लाहापे, सातमारा, तिनखण्डे, धोद्रे लगायतका धेरै क्षेत्र राजधानी केन्द्रभित्र पर्दछन्। राप्ती नदीको वारीपारी समथर जग्गामा मानिसहरू बसोबास गर्दै आएका छन्।

ऐलानी जग्गा भालुवाङ क्षेत्रमा बसिरहेका एक हजार पाँच सयभन्दा बढी घरपरिवारको एउटै मात्र इच्छा थियो : घर र बसेको जमिनको लालपुर्जा पाउने, तर वस्ती बसेको चालीस वर्षसम्म भोगचलन गरेको जग्गाको लालपुर्जा नपाएका यहाँका बासिन्दामा प्रदेश राजधानी नै आफ्नो ठाउँमा तोकिएपछि खुशीको सीमा नै छैन। 

चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने दाङको भालुवाङ अर्घाखाँची र प्युठान जिल्लासँग जोडिएको क्षेत्र हो। पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने भालुवाङ बजारलाई पूर्वी दाङको अहिलेको मूख्य बजारका रुपमा हेरिएको छ। यहीँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुटिन्छ।

अहिले राजधानी घोषणा भएको भालुवाङ क्षेत्र प्युठान र रोल्पा जाने नाका समेत बनेको छ। भालुवाङको खास बजार क्षेत्र अहिले पूर्वपश्चिम राजमार्ग भन्दा पूर्वपट्टी थियो। रोल्पा प्युठानबाट मानिसहरू त्यहि किनमेल गर्न आउने गर्दथे। पूर्वपश्चिम राजमार्ग त्यो बजारभन्दा पश्चिमतिरबाट खुलेपछि गाडीहरूको चहलपहल शुरू हुनासाथ मानिसहरूले राष्ट्रिय वन फडानी गरि यहाँ घर बनाएर बस्न थाले।

जब राजमार्गलाई छोएको ठाँउमा नयाँ बजार बस्यो। अहिले यस ठाउँ पुल्चोक नामले प्रख्यात छ। चल्तीको बजार सुक्दै गयो र पुल्चोकमा शहरीकरण बढेसँगै अर्बौं रुपैयाँ लगानी गरी पूर्वाधार बनाइएको छ। तर भालुवाङ बजार अहिले पनि वनको स्वामित्वमा रहेको छ। भालुवाङको पुल्चोक क्षेत्रका अधिकांश घरहरू राष्ट्रिय वन क्षेत्रमा बनेका छन्।

जग्गाधनी लापुर्जाका लागी पटकपटक प्रयास गरेपनि भालुवाङ बजारका जग्गा व्यक्तिका नाममा दर्ता हुन सकेको छैन। अहिले पनि यहाँका बासिन्दाले नगर विकास समितिलाई कर तिरेका आधारमा सरकारी सेवा सुविधा तथा आफ्नो सम्पत्ति उपभोग गर्दै आएका छन्। करिव ३१ बिगाहाभन्दा धेरै जग्गामा फैलिएको देउखुरी, भालुवाङ क्षेत्र दाङ र कपिलवस्तु भारतीय सीमा क्षेत्र नजिक रहेकाले राजधानीलाई व्यावसायिक रुपमा पनि छिमेकीसँग जोडिन सहज हुनेछ।

प्रदेशका पछाडी परेका पहाडी जिल्ला अर्घाखाँची, प्युठान र लुम्बिनी क्षेत्रको विकासको संभावनालाई अगाडी बढाउने उदेश्यले समग्र प्रदेशको हितलाई केन्द्र बिन्दुमा राखेर भालुवाङ क्षेत्रमा राजधानी तोकिएको मुख्यमन्त्री शंकर पोखरेल बताउँछन्‌।

राजनीतिक पूर्वाग्रहबाट प्रदेश ५ को राजधानी कायम गरिएको भन्ने आरोपको खण्डन गर्दै उनले राप्ती, गढवा गाउँपालिका र शीतगंगा नगरपालिकामध्ये दुईवटा पालिकाको नेतृत्व प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका नेताहरूले नै गरिरहेको बताए।

​तीनवटा पालिकामध्ये दुईवटामा नेपाली कांग्रेस र एउटा पालिकामा नेकपाले नेतृत्व गरिरहेको छ। त्यही ठाउँमा प्रदेशको स्थायी राजधानी कायम गरिएको छ। शीतगंगा नगरपालिकाको भु–भाग समेटिने गरि भालुवाङमा स्थायी राजधानी कायम गर्दा सबै जिल्लाको सन्तुलित विकासमा टेवा पुग्ने पोखरेल बताउँछन्‌।

​दाङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पूर्वी रुकुम, रोल्पा र प्युठानलगायत सबै जिल्लालाई पायक पर्ने केन्द्रविन्दु भएकाले देउखुरी भालुवाङ क्षेत्रलाई प्रदेश सरकारले स्थायी राजधानी बनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.