|

एजेन्सी : सङ्क्रमित संख्या अत्याधिक बढ्न थालेपछि रुसको राजधानी मस्कोमा अझै कडाइ गर्न थालिएको छ। 

राजधानी मस्कोमा कोरोना भाइरसबाट सङ्क्रमित संख्या पछिल्ला दिन अप्रत्यासित रुपमा बढिरहेका छन्। रुस युरोपमा सबैभन्दा बढी संक्रमित भएको देश हो। यो समाचार तयार पार्दासम्म रुसमा १३ लाख ५४ हजार मानिस संक्रमित भइसकेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा २ सय ८६ जनाकाे निधन भएको छ। 

संक्रमित संख्या बढ्दै गएपछि राजधानी मस्कोमा केही कडा प्रबन्ध लागू गरिएको छ। विषेशषरी सबै बार, क्लब र नृत्य गृहहरुभित्र अपनाइने प्रबन्धलाई कडाइ गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिए।   

त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नुपर्नेलगायत व्यवस्था गरिएको उनले बताए। आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावतसम्बन्धी विवरण र विषेश सम्पर्क पठाउन निर्देशन पनि दिइएको छ। 

कुनै व्यक्तिलाई कोरोना भाइरस नयाँ सङ्क्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनले बताएका छन्। 

रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो। अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना सङ्क्रमित भएका थिए। 

अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना सङ्क्रमित भएका छन्। यो विवरण देशको ८५ क्षेत्रकै हो। कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। 

रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो एक दिनमा मात्रै रुसमा ८ हजार ३९२ जना कोरोनामुक्त भइसकेका छन्। रुसमा अहिलेसम्म १० लाख ४८ हजार ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ : मार्केल

जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड-१९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन्। जर्मनीमा पछिल्लो समयमा कोभिड-१९ का सङ्क्रमित बढ्दै गएकोले उनले यस्तो बताएकी हुन्। 

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ,' मर्केलले भनिन्। अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका उनले बताए। साथै यसबाट अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको उनले बताइन्। 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने उनले बताएकी छन्। 

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारिन्। भनिन्, 'हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ।

लण्डनमा कोभिड–१९ नियन्त्रणका लागि थप कडाइ हुने

बेलायतको राजधानी लण्डनमा पनि कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाइ गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताएका छन्। 

करिब ९० लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमित सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो।

उनले ‘लण्डन एसेम्ली’मा भने, 'मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपाय घोषणा गर्नेछ।' यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ।

बेलायतमा ६ लाख ७३ हजार बढी मानिसमा कोभिड संक्रमण फैलिइसकेको छ भने ४३ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लो एक दिनमा युरोपमध्ये सबैभन्दा बढी बेलायतमै संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा बेलायतमा करिब १९ हजार संक्रमित थपिएका छन्। 

फ्रान्समा पनि चुलियो कोरोना त्रास

फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाइएको छ।

संक्रमण बढ्दै गएपछि हिजो राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति म्याक्रोले कर्फ्यु शनिबारदेखि लागू हुने र चार हप्तासम्म कायम रहने जानकारी दिएका थिए। फ्रान्सले देशमा स्वास्थ्य आपतकाल पनि घोषणा गरिसकेको छ। बुधबार मात्रै फ्रान्समा झण्डै २३ हजार जनामा कोरोना संक्रमण पाइएको थियो। 

हाल पूरै युरोपभर २ लाख ३५ हजार मानिसको कोरोनाका कारण ज्यान गएको छ। पछिल्लो एक दिनमै युरोपभर करिब १ लाख संक्रमित थपिएका छन्। त्यस्तै सोही अवधिमा १ हजार बढीको निधन भएको छ।

कोरोनाले सबैभन्दा बढी आक्रान्त पारेको युरोपमा पछिल्लो एक महिनायता संक्रमण दरमा कमी आएपछि विद्यालय, रेस्टुरेन्ट तथा क्लबलगायत बढी भीडभाड हुने ठाउँ खुलाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.