|

काठमाडाैं : दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ। अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ। अझ पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन्।

चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ। त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारैपिच्छे फरक पर्ने गरेको देखिन्छ। फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने बस्तु हो।

आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एउटै जातका एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँसम्म परेको पाइएको छ। बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन्।

नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलैपिच्छे मूल्यमा फरक परेको बताए। चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए।

व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलैपिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन्।

आफुहरुले मूल्य बढाएको भन्दा पनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाइ छ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गर्दै आएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनुको कारण होलसेल बिक्रेताहरु नै रहेको बताए। होलसेल पसलमा नै एउटै जातको स्याउ प्रतिपेटी १ हजार रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म पर्ने भएकाले भाउमा फरक परेको उनले बताए। यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए।

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औसतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ।

त्यस्तै केरा प्रतिदर्जन औसतमा ८५ रुपैयाँ र सुन्तला प्रतिकेजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ। भारतीय सुन्तला भने प्रतिकेजी १ सय ५ रुपैयाँ रहेको छ। त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.