|

बागलुङ : कालीगण्डकी नदीमाथिको खोंचमा द क्लिफ प्रालिले शनिबारदेखि बन्जी जम्प सञ्चालनमा ल्याएको छ। 

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा जोड्ने पाँच सय मिटर लामो पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल औपचारिक रुपमा आजबाट सञ्चालनमा आएका हुन्। 

निर्माण कम्पनी द क्लिफ प्रालिका सञ्चालक तथा लगानीकर्ता युवराज जोशीले बन्जीमा हाम फालेर बन्जी जम्पको औपचारिक सुरुवात गरे। बन्जीसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ। अन्य साहसिक खेलहरु पनि आजैदेखि सुरु भएको अध्यक्ष कार्कीले बताए।

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोलादेखि पुलको उचाइ २ सय २८ मिटर अर्थात् ७ सय ४८ फिट छ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाइमा छ। 

द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गरेको छ। यहाँको स्विङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले दाबी गरे। बन्जी र स्विङ गर्न दुवैको मूल्य सात हजार रुपैयाँ तोकिएको छ। औपचारिक शुरुवातसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउनेछन्। 

रिसोर्टसहित बन्जी निर्माणका लागि २० करोड रुपैयाँ लगानी रहेको छ। यो पुल, बन्जी र रिसोर्टले बागलुङको पर्यटनमा सहयोग पुग्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.