मदिरामुक्त गरेपछि लाभ बाहेक हानी शून्य

|

मदिरा सेवनले मुलुकलाई पतनको दिशामा लैजाने निश्चितप्रायः छ। यस अवस्थामा नेपालमा मदिरा पूर्णरुपमा निषेधित गर्नु नै राष्ट्र र जनताको हित छ।

यसर्थ, नेपाललाई मदिरा मुक्त देश घोषणा गर्नुपर्छ। यसरी घोषणा गरेको दिनबाट नेपालमा मदिरा उत्पादन गर्ने र पैठारी गर्ने काम पूर्णतः उन्मुलन गर्नुपर्छ। मदिरा भन्नाले रक्सी, बियर, वाइन र घरपारुवा रक्सी लगायतलाई बुझ्नु पर्छ। यी सबैको उत्पादन, बिक्री, वितरण र सेवनमा पूर्णतः रोक लगाउनुपर्छ।

नेपालको धर्म, सँस्कृति, परम्परा, रीतिरिवाज र विशिष्टता जोगाईराख्न यस क्षेत्रका धर्म गुरु, अगुवा, बूढापाकासँग राय परामर्श गरी उपयुक्त ढंगले सीमित मात्रामा घरपारुवा मदिराको उत्पादन गर्न र धार्मिक काममा मात्रै प्रयोग गर्न दिनुपर्छ।

मदिराका उद्योग र पसल हटाउने

झट्ट सुन्दा कतिपयलाई असम्भव र अप्रिय पनि लाग्ला, तर हाल मदिरा उत्पादन गर्ने गरी खुलेका सबै कारखानाको मूल्यांकन गरी क्षतिपूर्ति दिई बन्द गर्नैपर्छ। यसरी मदिरा उद्योग खाली गरेपछि सो स्थानमा अस्पताल, स्कूल, प्रहरी चौकी, सामुदायिक भवन र पालिकाका कार्यालय स्थापना गर्नुपर्छ।

हाल मदिरा उद्योग सञ्चालन गर्ने उद्योगीलाई अर्को क्षेत्रको उद्योग स्थापना गर्न सरकारले जमिन, ऋण र इजाजत लगायतका सुविधा दिन कञ्जुस्याई गर्नु हुँदैन। यसैगरी, मदिरा बिक्री गर्ने पसललाई पनि क्षतिपूर्ति स्वरुप अर्को व्यवसाय गर्न निःशुल्क तालीम, बैंकको ऋण, इजाजत लगायतका छुट सुविधा दिनुपर्छ।

मदिरा न्यूनीकरण योजना

तत्काल मदिरा मुक्त नेपालको घोषणा गर्न नसकिने भए मदिरा नियन्त्रणका लागि अहिलेदेखि नै कडाई गर्न जरुरी छ। जसअनुसार नेपालभरिका होटल, रेष्टूराँ, लज, रिसोर्ट, होमस्टे लगायतलाई ‘मदिरा रहित’ र ‘मदिरासहित’ को वर्गीकरणमा राखी मदिरासहितको पसललाई मदिरा रहितको तुलनामा कम्तिमा पाँच दोब्बर धेरै कर लगाउनु पर्छ।

सरकारी भोज भतेरमा मात्रै होइन, सर्वसाधारण नागरिकले पनि पार्टी प्यालेस लगायतका खुल्ला एवं सार्वजनिक स्थानमा आयोजना गर्ने भोज–भतेरमा मदिरा पूर्णरुपमा निषेध गर्नुपर्छ। सरकारी कार्यालय, सार्वजनिक स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थल लगायतका सबै स्थानमा मदिरा निषेध गरी सो स्थानमा सेवन गर्नेलाई कैद सहितको दण्ड घोषणा गर्नुपर्छ।

मदिरा बिक्री गर्ने पसल साँझ ६ बजे खुल्ने र राति ९ बजेभित्र बन्द भइसक्नु पर्छ। ती पसलमा १८ वर्षमुनिका मानिसको प्रवेश निषेध गर्नुपर्छ। सो पसलमा प्रवेश गर्नेको गतिविधि सिसी क्यामरामा कैद गर्नुका साथै तीन पुस्ते खुलाएर मात्रै मदिरा खरिद गर्न पाउने व्यवस्था हुनुपर्छ।

मदिरा खरिदकर्ताले मदिरा पिउने इजाजत लिनुपर्नेछ। यस्तो इजाजत लिँदा चिकित्सक र घरपरिवारको अनुमति आवश्यक पर्नेछ। निजले दिनको बढीमा १०० मिलिसम्म पिउन पाउने हुनुपर्छ।

मदिरा सेवनबाट हुने हानी

अल्कोहल सेवनले शरीरमा मात्रै नभई मुखमा पनि विभिन्न समस्या देखिन्छ। बेलायतबाट प्रकाशित हुने जर्नल विएमसीका अनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका किटाणुबाट संक्रमित हुन्छ।

अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ। एक अमेरिकी अनुसन्धान अनुसार मदिरा पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो र पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ।

सामान्य मानिसभन्दा मदिरा सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना बढि देखिएको छ। मदिरा सेवन गर्नेहरू मधुमेह र मुटुरोगबाट पीडित छन्। मानिसले तनावबाट मुक्ति हुने निहुँमा मदिरा सेवन गर्छ, तर मदिराले उल्टै मष्तिष्कलाई प्रतिकूल असर गर्छ।

मदिरा सेवनले शरीर शिथिल हुने, निन्द्रा नपर्ने, मनमा कुरा खेल्ने जस्ता समस्या पैदा हुन्छ। रक्सीमा हुने टक्सिन (विषादी पदार्थ) ले कलेजोको कोषहरूलाई नष्ट गर्दै लैजान्छ। जस्तो कारण कलेजोमा चिल्लो तथा अन्य पदार्थ जम्मा भई फ्याटी लिभर हुन पुग्छ। जसका कारण खान मन नलाग्ने, दाहिने कोख दुख्ने, पाचन शक्ति कमजोर हुँदै जाने लक्षण देखिन्छ।

मदिरा नियन्त्रणमा विश्वव्यापी अनुभव

सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाचोभले सन् १९८५ देखि १९८८ सम्म एण्टी अल्कोहल क्याम्पेन (ड्राई ल) लागू गर्नुभएको थियो। अमेरिकामा संविधान संशोधन मार्फत मदिराको उत्पादन, ढुवानी, आयात तथा बिक्री वितरणमा निषेध गरिएको थियो। मुस्लिम बाहुल्य देशमा हालपनि मदिरा निषेधित नै छ।

छिमेकी मुलुक भारतको विहार, गुजरात जस्ता स्थानमा मदिरा नियन्त्रणले आर्थिक समृद्धि भित्र्याएको छ। हाल पनि भारतमा नियन्त्रितरुपमा मात्रै मदिरा बिक्री गर्ने गरिएको छ। पाकिस्तान लगायतका मुलुकमा अझै पनि मदिरा सेवन गर्नेले तीन पुस्ते खुलाउनु पर्ने व्यवस्था छ।

क्यानडा लगायतका मुलुकले पनि मदिरा नियन्त्रणमा प्रयास गरेको देखिन्छ। फ्रान्स, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकले मदिराको उत्पादन गर्ने भए पनि ती मुलुकको खपत न्यून छ।

नेपालमा मदिरा नियन्त्रणको प्रयास

२०५१ सालमा यसै पङ्तिकार अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा उक्त जिल्लालाई पूर्णतः मदिरामुक्त जिल्लाको रुपमा सञ्चालन गरिएको थियो। करिब ६ महिनामा मदिरा सेवनकर्ताहरूबाट दण्ड स्वरुप असुली भएको पाँच लाख रुपैयाँ मंगलसेन कलेजलाई हस्तान्तरण गरिएको थियो।

यसै पङ्क्तिकार राजश्व सचिव हुँदा अर्थ मन्त्रालयबाट जारी भएको मदिरा बिक्री वितरण नियमन निर्देशिकाले इजाजत लिएर मात्रै मदिरा बिक्री गर्न पाइने, मदिराको छुट्टै पसल हुनुपर्ने व्यवस्था गरेको थियो।

पसलमा छासमिस गरेर अरु सामान बिक्री गर्न पाइने, डिपार्टमेन्ट स्टोरमा छुट्टै मदिरा कक्ष खडा गर्नुपर्ने, छुट्टै बिक्री किताब खडा गर्नुपर्ने, बिलबिजक अनिवार्य रुपमा जारी गर्नुपर्ने र अन्तःशुल्कको स्टिकर अनिवार्य हुनुपर्ने, विहान १० देखि राति १० बजेसम्म मात्रै पसल खोल्न पाईने व्यवस्था गरिएको थियो।  

अठार वर्ष उमेर नपुगेकालाई बिक्री गर्न नपाइने, केन्द्रमा र जिल्लामा अनुगमन समिति रहने, निर्देशिका विपरित काम गरे मदिरा जफत हुने, दण्ड हुने, इजाजत रद्द हुने लगायतको व्यवस्था पनि गरिएको थियो।

जागरुक जिल्ला

हाल, बाजुराको गौमूल गाउँपालिकाले मदिरा पिउन अनिवार्यरुपमा कार्ड लिनुपर्ने व्यवस्था गरेको छ। वार्षिक पाँच सय रुपैयाँ दस्तुर लिएर कार्ड बनाउनुपर्ने र सो कार्डबाट दैनिक १८० मिलि मदिरा खरिद गर्न सकिने प्रबन्ध भएको छ। साथै यसरी खरिद गरिएको मदिरा साँझ ६ बजेपछि मात्रै सेवन गर्न पाइन्छ।

बैतडीको पुचौडी नगरपालिकाको बैठकले उक्त नगरपालिकालाई मदिरामुक्त नगरपालिका घोषणा गरेको छ। अबउप्रान्त कुनै व्यक्तिले मदिरा सेवन गरेको भेटिएमा पाँच हजार रुपैयाँ दण्ड गरिनेछ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं. १ र २ ले आफ्नो गाउँलाई मदिरा मुक्त गाउँ बनाउने अभियान आरम्भ गरेका छन्। घुर्कोट गाउँपालिकाले मदिरा बिक्री र सेवनको समय साँझ ५ बजेदेखि ९ बजेसम्म तोकी सो विपरीत मदिरा सेवन गर्ने र बिक्री गर्ने दुवैलाई दण्डित गर्ने निर्णय गरेको छ।

कालिकोट जिल्ला समन्वय परिषद्ले सो जिल्लालाई मदिरामुक्त जिल्ला घोषणा गरेको छ। कालिकोटकै रास्कोट नगरपालिकाले मदिरा मुक्त नगरपालिका घोषणा गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि, २०७४ जारी गरी मदिराको कारोबारमा नियन्त्रण एवं बन्द गर्ने प्रक्रिया अघि बढाएको छ।

लमजुङको सुन्दर बजार नगरपालिका २ परेवाडाँडामा स्थानीयले सार्वजनिक स्थानमा जाँड रक्सी बेच्न र सेवन गर्न निषेध गरेका छन्।

गुल्मीको इश्मा गाउँपालिकाले समाजमा बढ्दो अपराधिक कार्य रोक्न मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ। मुगुको खप्तड गाउँपालिकाबाट शुरु भएको मदिरा नियन्त्रण अभियान छायानाथ रारा नगरपालिकामा हुँदै सोरु गाउँपालिकासम्म पुगेको छ। यस अभियानमा मुलुकका अन्य पालिकाहरू पनि सहभागी भएका छन्।

मदिरा अपराध

चोरी, डकैती, बलात्कार, घरेलु हिंसा, महिला हिंसा, गुण्डागर्दी, अनुशासनहीन जस्ता गम्भीर अपराधमध्ये ७० प्रतिशत घटना मदिरा सेवनबाट भैरहेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ। मदिरा सेवनले कैयौँ दुर्घटनामा परी अकालमै ज्यान गुमाउन बाध्य छन् भने कयौंको घर उजाडिएको छ। मदिरा सेवनले कयौंको सामाजिक प्रतिष्ठामा धब्बा लागेको छ भने कैयौँ दुर्घटनामा परी जीवनभर अंगभंग भएर बाँच्न बाध्य छन्।

केही स्थानमा जुत्ता, चप्पल, भित्री वस्त्र, कण्डम जस्ता अखाद्य वस्तुको प्रयोगबाट घरेलु मदिरा तयार भएको पाइएको छ। यस्ता मदिराको सेवनबाट धेरैले ज्यान गुमाएका छन्। नेपालको धनुषाको कमला नगरपालिका लक्करमा विषाक्त मदिरा सेवनबाट करिब आधार दर्जन मानिसले ज्यान गुमाएका छन्। २०४८ सालमा यसै जिल्लामा १९ जनाले र २०६२ सालमा ६ जनाले विषाक्त रक्सी सेवनकै कारण अकालमा ज्यान गुमाएका थिए।

आगामी पाइला

पहिलो कुरा : तत्कालै मदिराको आयात निषेध गर्नुपर्छ। दोस्रो कुरा, मुलुकभित्र संचालित मदिरा उद्योग बन्द गर्ने प्रक्रिया थालनी गर्नुपर्छ।​ तेस्रो कुरा, हालको मदिरा बिक्री गर्ने पसल र रेष्टुरालाई मदिरा मुक्त तुल्याउने अभियान संचालन गर्नुपर्छ। चौथौ, घरपारुवा मदिरा बनाउने भाँडाकुँडा, उपकरण, सामाग्रीको उत्पादन र बिक्री वितरणमा पूर्णतः रोक लगाउनु पर्छ।

पाचौँ, मदिरा सेवनलाई सामाजिक मर्यादाको उल्लंघन गरेको ठहर गर्ने कानून निर्माण गरी कडाई गर्नुपर्छ। मुलुकलाई मदिरा मुक्त गरेपछि यसका लाभ बाहेक हानी शून्य भएकाले मुलुकले सकारात्मक परिवर्तनको मार्ग पहिल्याउने निश्चित छ।

०००

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.