|

काठमाडौं : विगत केही दिनदेखि जारी कांग्रेस पदाधिकारी बैठकमा आज पनि वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले दर्ता गराएको विरोधपत्रमा छलफल भएको छ। कात्तिक १७ देखि जारी कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको अनौपचारिक छलफल पौडेल पक्ष २७ केन्द्रीय सदस्यले दर्ता गराएको १६ बुँदे विरोधपत्रमा केन्द्रित भएको थियो।

यसअघिका छलफलमा नेताहरूले आ–आफ्ना धारणा राखिसकेका छन्। बाँकी नेताहरूले पनि आफ्ना धारणा राख्नेक्रम जारी छ। यो बैठक भोलि र पर्सि पनि जारी रहने कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति शेरबहादुर देउवालाई गत असोज १२ गते विरोधपत्र बुझाएको थियो। यसका वाबजुत सभापति देउवाले गरेका पछिल्ला निर्णयहरू नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसहित पार्टी कार्यालयमा विरोध पत्र दर्ता गराएको थियो।

पछिल्ला छलफलमा केही विषयमा देउवाले सच्चिएर जाने आश्वासन दिएको नेता महतले बताए। ‘बैठकमा नेताहरूले धारणा राखिरहनु भएको छ, सभापतिजीले केही कुरा सच्‍याएर अघि बढ्ने संकेत गर्नुभएको छ, आगामी दिनका बैठकमा बाँकी बिषयमा पनि सहमति होला।‘ नेता महतले भने।

कांग्रेसले आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न आज केन्द्रीय कमिटी बैठक बोलाएको थियो। तर, यो बैठक पनि २४ गतेका लागि सारिएको छ। केन्द्रीय समिति बैठकको तयारी नपुगेको र पदाधिकारी तथा पूर्व-पदाधिकारीहरूको बैठक नसकिएका कारण बैठक सार्नुपरेको कांग्रेसले जनाएको थियो।

कांग्रेसको आन्तरिक विवाद हल गर्न बसेको शीर्ष नेताहरूको बैठकबाट विवाद समाधानको निष्कर्ष निस्कन सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप लगाएको छ। यस अघि कात्तिक १७ गते पनि देउवाले वर्तमान र पूर्व-पदाधिकारी तथा शीर्ष नेताको बैठकमा यसै विषयमा छलफल गर्न बैठक बोलाएका थिए। बैठकमा सहमति जुट्न भने सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.