सीसीएमसी र उपत्यका मेयर फोरमबीच छलफल

|

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करीब पाँच घण्टा लामो छलफल भएको छ।

पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहनु भएका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।

‘पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ,’ श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो।’

तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको उनले बताए। उपत्यकामा बढिरहेको संक्रमण नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने छलफल गरी प्रस्ताव गर्ने बताए।

‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ', उनले भने। 

त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको उनले प्रस्ट पारे। बुधबार सीसीएमसीका पदाधिकारीहरूसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले कडा लकडाउन र निषेधाज्ञा गर्नै पर्ने बताएका हुन्।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव श्रेष्ठले बताए।

सीसीएमसीका पदाधिकारीहरूसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए। महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेको उनीहरुले बताएका थिए। त्यसको नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको श्रेष्ठले भने। 

 बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरुलाई समन्वय गरेर अघि बढ्न आग्रह गरे। मुलुकभरको संक्रमण तथ्याङ्क मध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो।

आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयासहरु गर्नुपर्ने, समूदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्ने जस्ता विषय पनि बैठकमा उठेको थियो।

स्थानीय तहबाट प्रभावकारी रुपमा जनचेतना मुलक कार्य गर्ने, स्थानीय तह परिचालित भै घरदैलो कार्यक्रम गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो। त्यसैगरी कोरोना संक्रमितको मृत्यु दर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होम आइसोलेसन र गम्भीर विरामीलाई मात्रै अस्पताल लैजाने लगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुपर्ने जस्ता विषयमा पनि छलफल भएको मेयर श्रेष्ठले जानकारी दिए।

छलफलमा संघ र स्थानीय तहबीच समन्वय अभावमा पीसीआर टेष्ट गर्ने, कोरोना संक्रमितको निशुल्क उपचार गर्नेलगायतका विषयमा पनि अन्योलता छाएको भन्दै मेयरहरुले आगामी दिनमा समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.