|

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले जनताको बहुदलीय जनवादका कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पछि फर्कन खोजेको शंका भएको बताएका छन्‌।

‘हामीले सबै पक्षलाई संयम हुन र पार्टी एकताबद्ध भएर जानका लागि आग्रह गरिरहेका छौं, आफ्नो तर्फबाट एकताको पक्षमा निकै मेहनत गरिरहेका छौं। नेतृत्वबीचको विवाद चर्किन नदिन र मत्थर बनाउन सुझाव दिने, सल्लाह दिने, अलिअलि दवाव दिने कामहरू पनि भएको छ,’ ​पूर्व उप–प्रधानमन्त्री समेत रहेका रायमाझीले बिहीबार नेकपा सिन्धुलीका नेता कार्यकर्तासँगको भेटमा भने, ‘स्थायी कमिटीले सुझाव दिएपनि निर्णायक भूमिका दुई अध्यक्षकै हुने भएकाले पार्टी एकताका लागि दुवै अध्यक्षले नै बढी मेहनत गर्नुपर्छ।’ 

‘पार्टी एकताका लागि प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल लगायत सचिवालय सदस्यहरूले अलि बढी मेहनत गर्नुपर्ने बताउँदै नेता रायमाझीले भने, ‘हामीले त सुझाव दिने सल्लाह दिने मात्रै हो।’ वादविवाद बढ्दै जाँदा पार्टीभित्रै लडाइँ शुरू हुनसक्ने भन्दै सँगै बसेर नेतृत्वले आफ्नो भूमिका निर्वाह गरे सबै समस्या हल हुँदै जाने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरूलाई जनताको बहुदलीय जनवाद (जबज) को औचित्यबारे बताउँदै हिँड्न थालेकाले उनी फेरि एकतालाई बिर्सेर पूरानै बाटो हिँड्न थालेको हो कि भन्ने भान हुन थालेको उनले बताए। ‘प्रधानमन्त्री ओलीले जबजतिर फर्किन खोजेजस्तो, नेता कार्यकर्तालाई अब जबज हो भन्ने खालको कुरा गर्दै हिँड्नु भएको छ। उहाँ फेरी पछाडी फर्किन खोजेको हो कि, पार्टी एकताको सहमतीलाई कार्यान्वयन गर्न नखोजेको हो कि जस्तो शंका उत्पन्न भएको छ। यस्ता क्रियाकलापले पार्टीमा समस्या ल्याउँछ,’ उनले भने।

यदी नेकपा फुटेमा नयाँ बन्ने दुवै पार्टीलाई जनताले विश्वास नगर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.