पर्वमा परिवारसँग बस्‍न पाए मनै हलुंगो

|

काठमाडौं : फ्रन्टलाइनमा काम गर्नेहरू जारी कोरोना महामारीबाट सबैभन्दा बढी जोखिममा छन्। चिकित्सक, सुरक्षाकर्मी, सफाइ कर्मचारी र सञ्चारकर्मीहरूमा बढी मात्रामा संक्रमण देखिएको छ। सबैजना कोभिडको त्रासमै पनि आ-आफ्नो कार्यक्षेत्रमा काम गरिरहेका छन्।

कोरोनाले विश्वभर लाखौं मानिसको ज्यान लिइसकेको छ। आफूले काम गरेको अस्पतालमा कोभिड संक्रमितको उपचार गर्ने घोषणा गर्दा सबै चिकित्सकको मनमा डर पस्नु स्वाभाविक हो।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. वसन्त बास्तोला पहिलो दिनदेखि संक्रमितको उपचारमा संलग्न छन्। अस्पतालमा हज्जारौं संक्रमितको उपचार भइसकेको छ।

अस्पतालमा केही संक्रमितले मृत्युवरण पनि गरेका छन्। दैनिकजसो संक्रमितहरू भर्ना हुन्छन्। केहीको स्वास्थ्य अवस्था ठिकै भएर आउने गरेको र कोही भने शरीरमा अक्सिजन कमी भएपछि आउने गरेको उनी सुनाउँछन्।

पहिलोपटक कोरोना संक्रमितको उपचार गर्नुपर्छ भन्दा उनलाई डर लागेको थियो। कोभिड संक्रमितको उपचार गर्नु पर्दाको क्षण स्मरण गर्दै उनी भन्छन्, 'सबैतिर कोरोना लागेर मानिसको मृत्यु भइरहेको छ, हामी पनि कतै मृत्युको सूचीमा त पर्दैनौँ ? भन्ने त्रासले धेरै सताएको थियो, बानी भइसक्यो अहिले खासै डर लाग्दैन।'

दुई किसिमका कोभिडका बिरामीहरू अस्पतालमा भर्ना हुने गरेका छन्। गम्भीर अवस्थाका र स्वास्थ्यमा सामान्य सुधार हुने खालका लक्षण भएकाहरू आउने गरेका छन्। बिहानै राउण्ड ड्युटीमा जाँदा बिरामीहरूको मुहारमा हाँसो छ वा छैन, अघिल्लो दिनभन्दा स्वास्थ्यमा कति परिवर्तन आएको छ ? त्यसको मिहिन ढंगले बुझ्ने उनी प्रयास गर्छन्।

'गम्भीर अवस्थाका बिरामी निको हुँदा आनन्द'

'सिकिस्त भएर आएका संक्रमितहरू निको भएर घर फर्किंदा सबैभन्दा बढी खुसी लाग्छ,' उनले भने, 'संक्रमण मुक्त भएर जाने संक्रमितले दिएको प्रतिक्रियाले अझ बढी काम गर्नलाई उर्जा मिल्छ।'

गम्भीर अवस्थाका बिरामी भएको ठाउँमा उनको तीन पटक सम्म ड्युटी पारिसकेको छ। पहिलो,दोस्रो भन्दा तेस्रो ड्युटी सबैभन्दा गाह्रो हुने गरेको उनी बताउँछन्। दैनिक अस्पतालमा ड्युटी गर्न जाँदा गम्भीर अवस्थाको बिरामी भर्ना हुने गरेको उनले बताए। नयाँ भर्ना भएका संक्रमितलाई बढी मात्रामा अक्सिजनको जरुरी हुने गरेको छ।

चिकित्सकको जीवन बिरामीको सेवा गरेर समय बित्छ भन्ने लाग्दोरहेछ डा. बास्तोलालाई। वार्डमा पीपीइ लगाएर छिरेपछि बाहिर निस्कँदा बेलुकी ५ बजिसक्छ। उनले एक सिफ्टमा १०० भन्दा बढी संक्रमितलाई हेर्ने गर्छन्। गम्भीर अवस्थाकालाई अक्सिजन र नशाबाट औषधि दिने गरिएको उनले बताए।

'समय मानिसको नियन्त्रणमा हुँदैन'

ड्युटीको समयमा सधैंभरी हौसला मात्र प्राप्त हुँदैन। ड्युटीकै शिलशिलामा कोही बेला तीतो अनुभव पनि उनले भोग्ने गरेका छन्। उपचार गर्दा समय कहिले पनि मानिसको वशमा नरहेको उनले महसुस गरेका छन्।

भावविहोल हुँदै उनले भने, 'कहिलेकाहीँ काम गर्दा भएको त्यस्ता क्षणले मानसिक रुपमा कमजोर बनाउने गर्दोरहेछ, यो समयमा घर परिवारको याद आउने र अर्कोतिर देशमा महामारी फैलिँदै गर्दा आफैँले थाम्नै नसक्ने भारी बोकेको जस्तो महसुस हुँदोरहेछ।'

उनलाई आइसोलेसनमा बसी संक्रमितको उपचार गर्दा तरबारको धारमा बसे जस्तो लाग्दो रहेछ। कार्यक्षेत्रमा रहँदा आफ्नो स्वास्थ्यको केही ख्याल नगरी काम गरेको जस्तो डा. बास्तोलालाई लागेको छ। संक्रमितको उपचार गरेर क्वारेन्टाइनमा बस्न थालेपछि कतै संक्रमित त भइएन भन्ने चिन्ताले सताएको उनीसँग अनुभव छ।

डा. बास्तोलाको स्थायी घर पोखरा हो। अस्पतालले उपलब्ध गराएको क्वार्टरमा उनी बस्छन्। शुरूका दिनमा संक्रमितको उपचार गर्न थालेपछि परिवारले चिन्ता गर्ने गरेका थिए। सबै जना संक्रमण हुन थालेपछि घरका बाबा-आमाले मन बुझाउन थालेको उनले सुनाए।

'हाम्रो योगदानले संक्रमितले नवजीवन पाए'

उनलाई महामारीको समयमा देश र जनताको सेवा गर्न पाउँदा गर्न पाउँदा जीवनमा ठूलै उपलब्धि हासिल गरेक जस्तो भएको छ। 'संकटको बेला राज्यलाई सहयोग गर्न पाउनु भनेको घर बनाउँदा एउटा थपेको जस्तो भएको छ,' डा. बास्तोलाले भने, 'सबै मानिसले संकटको समयमा राज्यलाई कहाँ योगदान गर्न पाउँछन्‌ र अझ हाम्रो सेवा तथा योगदानले धेरै मानिसले नवजीवन पाउँछन्।'

संक्रमितको उपचार हुनुभन्दा अगाडि आइसोलेसन र आइसीयुको निरन्तर उनले अवलोकन गरेका थिए। उपचारको लागि विभिन्न स्रोतसाधनहरूको अध्ययन गरी पूर्ण तयारीका साथ बसेका थिए।

तिहारको बिदामा भने उनी घर जाने योजनामा छन्। महामारीको समयमा परिवारसँगै भेटघाट गर्दाको क्षण सबैभन्दा रमाइलो हुने गरेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.