|

काठमाडौं : नेपालीहरूको  दोस्रो ठूलो चाड तिहार आज। सबैको घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइँदै छ। यस वर्ष मंसिर १ गते भाइटीका परेको छ। त्यस दिन दिदी-बहिनीले दाजुभाइरलाई टीका लगाई फूलको माला लगाएर पुज्ने चलन छ। त्यसो त यतिबेला काठमाडौंका चोक गल्ली र बजार सबैतिर फूल र मालाको व्यापार भइरहेको छ।

सर्वसाधारणलाई पनि फूलको माला किन्न भ्याइनभ्याई छ। जोरपाटी चोकमा फूल माला किन्दै गरेकी जोरपाटीकै रिता पाख्रिन भन्छिन्,‘तिहार आइसक्यो। १ गते भाइटीका छ। त्यसैले अहिले फूलको माला किन्न आएको हुँ।’ फूलमाला किनमेलले गर्दा यतिखेर सडकमा चहलपहल बढेकाले कोरोना संक्रमणको जोखिम रहेको उनले बताइन्।

कोरोनाले गर्दा फूलमाला पनि महँगिएको उनी बताउँछिन्। ‘उपत्यकामा धेरै कोरोनाको जोखिम छ,’उनले भनिन्,‘यस वर्ष घरभित्रै सीमित रहेर तिहार मनाउने योजना बनाएका छौँ।’ उनका अनुसार उनले प्रतिमाला दुई सय ५० का दरले सयपत्रीको माला किनेकी छन्। अघिल्लो वर्ष दुई सय सम्ममा उनले किनेकी थिइन्।

अर्का, रञ्जना लामिछाने पनि शनिबार जोरपाटी चोकमा फूल माला किन्न व्यस्त देखिन्थिन्। ‘घरमा भाइहरू छन्,’उनले फूलको माला हेर्दै भनिन्,‘घरमा रोपिएन। कोरोना जोखिम भए पनि किन्नै पर्‍याे।’ कोभिड–१९ का कारण फूलको माला महगिँदा न्यून वर्गकाले खरिद गर्नमा समस्या हुने सुनाइन्।

फूल व्यापारी अनिता देवी यादवका अनुसार अहिले सयपत्री मालाको दुई सय ५० मूल्य पुगेको छ। मखमली मालाको प्रति ६० रुपैयाँ मूल्य रहेको छ। ‘कोरोनाले गर्दा व्यापार छैन,’उनले भनिन्,‘पहिलाको भन्दा आधा ग्राहक घटेका छन्। फूलको मूल्य भने अघिल्लो वर्षभन्दा २०/५० रुपैयाँले बढेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.