गुटगत प्रतिस्पर्धाले पार्टी विवाद उत्कर्षमा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखिएको आन्तरिक विवादको जिल्ला तहसम्म देखिन थालेको छ। पछिल्लो केही महिना यताबाट क्रमबद्ध रुपमा देखिएको नेकपाको विवाद विस्तारै जिल्ला तहसम्म पुगेर छताछुल्ल हुन थालेको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक स्वार्थको कारणले नेकपाभित्रको विवादले पार्टी फुटको संघारमा पुगेका छ। शीर्ष तहमा विवाद चुलिँदै गएपनि दोस्रो र तेस्रो तहका नेताहरु एकताको पक्षमा उभिएको भएपनि जिल्ला तहमै फरक कित्ताबीच विवादले जरो गाड्न थालेको हो। 

शीर्ष तहमा गुटगत राजनीतिले गाँजेको नेकपामा केन्द्रीय सचिवालयबाट नै नेताहरु दुई धारमा बाँडिएका छन्। विवाद उत्कर्ष तर्फ केन्द्रित भइरहँदा प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन्। ९ जनाको सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। 

यद्यपि, गृहमन्त्री थापा अध्यक्ष दाहाल खेमाको भएपनि पछिल्लो समय प्रधानमन्त्री ओलीको कित्तामा देखिएका छन्। तर, उनले अहिलेसम्म कुन गुटमा रहेको खुलेका छैनन्। 

यस्तै, अध्यक्ष दाहाल खेमाबाट सचिवालयमा वरिष्ठ नेताद्वय  माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। पार्टीभित्रको विवादको क्रममा यतिबेला नेकपाभित्र लिखित रुपमा 'पत्र युद्ध' चलिरहेको छ। अध्यक्ष दाहालसहित बहुमतको सदस्यले कात्तिक २८ गतेको सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदनलाई ओली पक्षले आरोप पत्रको संज्ञा दिइरहेको छ। 

पार्टी एकता बचाउका लागि अध्यक्ष दाहालले त्यो पत्र फिर्ता लिनुपर्ने माग गरिरहेका छन्। त्यसो त प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको सचिवालय बैठकमार्फत् त्यसको प्रतिउत्तर फर्काउने तयारी गरिरहेका छन्। उनले आगामि १३ गते बस्ने सचिवालय बैठकमा त्यसको प्रतिउत्तर फर्काउनेछन्। ओलीले प्रतिउत्तरपछि मात्रै पार्टीभित्रको विवाद कुन मोडमा पुग्ने निर्धारण गर्न सकिने नेताहरुको धारणा छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको विवादको कारणले तल्लो तहमा देखिएको विवादबारे चर्चा गरौँ। 

चितवनमा सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी

गृहजिल्ला चितवनमा शनिबार विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा पुगेका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए। 

पार्टीभित्र गुटगत राजनीति मौलाइरहेको बेलामा वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका नेता पाण्डेमाथि प्रधानमन्त्री केपी शर्मा ओली खेमाका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्। 

‘कार्यक्रममा मैले आफ्नो धारण राखिरहेको थिए। त्यही क्रममा एक समूह आएर जनताको बहुदलीय जनवाद जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद भन्दै नारा लगाउन थाले’ सुरेन्द्र पाण्डेले भने। 

नेता पाण्डे विरुद्धको घटनालाई लिएर वरिष्ठ नेताद्वय  माधवकुमार नेपाल र झलनाथ खनालले ध्यानाकर्षण गराएका छन्। उनीहरुले घटना सुनियोजित भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्। 

वरिष्ठ नेता  खनालले पाण्डे विरुद्ध भएको नाराबाजीको घटनाले पार्टीभित्रको विवाद उत्कर्षमा पुग्नसक्ने बताएका छन्। ‘पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई विनम्र अनुरोध छ’, उनले भनेका छन्। 

वरिष्ठ नेता नेपालले भनेका छन्,  ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई गन्तव्य राखिरहेको बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा गरेका छन्। 

सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाएको उनको तर्क छ। 

घटनालाई लिएर चितवन जिल्ला पार्टी कमिटीका अध्यक्ष इकमासिंह लामा र सचिव रामचन्द्र पाठकले विज्ञप्ती जारी गरेर केही अराजक व्यक्तिहरु कार्यक्रममा प्रवेश गरेर नाराबाजी गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको बताएका छन्। 

पर्सा घटना

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेलामा कात्तिक ६ गते पर्सामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निकट नेताहरूबीच हानाहानको स्थिती भयो। कम्युनिष्ट पार्टी (नेकपा) को गाउँपालिका कमिटीका पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण कार्यकम स्थलमा साङ्घातिक आक्रमण भएको थियो। 

घटनामा पर्सा जिल्ला कमिटीका सदस्य तथा त्यसै गाउँपालिका कमिटीका सचिव मुकेस चौरसियाको हत्या भयो। अन्य केही व्यक्ति घाइते भए। कार्यक्रममा बाँसको भाटाले अन्धाधुन्ध प्रहार भएपछि उनको मृत्यु भएको थियो। ६ गते घाइते भएको उनले उपचारको क्रममा ७ गते अस्पतालमा ज्यान गएको थियो। 

सो घटना पनि सुनियोजित भएको भन्दै अध्यक्ष दाहाल नेपाल समूहले दोषीलाई कारबाहीको माग गरे। तर, हप्ता दिन बितिसक्दा समेत प्रहरीले जाहेरी समेत बुझेको थिएन। तर, चौतर्फी दबावपछि प्रहरीले जाहेरी बुझेर घटनाबारे छानविन गरिरहेका छ। सो घटनालाई लिएर नेकपाको कार्यकारी अध्यक्ष दाहालले समेत दोषीलाई कारवाहीको माग गर्दै विज्ञप्ती जारी गरेका थिए। 

कर्णाली विवाद

नेकपाभित्रको विवाद केही मथ्थर भएपछि कर्णाली विवादपछि बल्झिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपामा नयाँ विवाद सुरु भएको थियो। 

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल हुन्। उनी प्रधानमन्त्री ओली निकट मानिन्छन्। मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्रीको साथ दिएपछि उनको कुर्सी जोगिएको छ। 

ओली पक्षको जबरबारे सुर्खेतमा भेला 

भदौ २५ गतेको स्थायी कमिटीको बैठकपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पार्टीभित्र गुटबन्दी गर्ने माध्यम फाउण्डेसन बनेको भन्दै गतिविधि रोक्न निर्देशन जारी गरे। तर, प्रधानमन्त्री ओली निकट नेताहरुले फाउण्डेशनको गतिविधि अझै रोकेका छैन।

शनिबार कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला प्रशिक्षण गरेका छ। भेलामा नेकपा नेता तथा कार्यकर्तासहित करिब दुई सयभन्दा बढी सहभागी भए। भेलामा प्रधानमन्त्री ओली निकटका नेता कार्यकर्ता मात्रै सहभागी भए। अध्यक्ष दाहा र वरिष्ठ नेता नेपाल समूहले पार्टी फुटाउने खोजेको भेलामा जानकारी समेत गराइएको बुझिएको छ। 

२६ भदौको स्थायी समितिको बैठकले मदन भण्डारी फाउन्डेसन र पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा राजनीतिक गतिविधि नगर्न निर्देशन थियो। 

सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पार्टीभित्र आन्तरिक सर्कुलर जारी गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गरेर नलेख्न निर्देशन दिए। तर, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच पटक पटक सामाजिक सञ्जालमा जुहारी पर्ने गरेको छ। 

शनिबार चितवनमा नेता पाण्डेविरुद्ध भएको घटनामा पनि प्रवक्ता श्रेष्ठ र सल्लाहकार थापाबीच आरोप प्रत्यारोप भएको छ। यही विवादलाई लिएर नेकपाको प्रवक्ता श्रेष्ठले गरेको ध्यानाकर्षणको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले खण्डन गरेका छन्। प्रवक्ता श्रेष्ठले नेता पाण्डे विरुद्ध सुनियोजित रुपमा दुव्र्यवहारको गरेको बताएका थिए। चितवनमा घटेको घटना कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि निहत उनले औल्याएका थिए। 

‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क. सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ, प्रवक्ता श्रेष्ठले भनेका थिए, ‘यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

यसको प्रतिउत्तर फर्काउँदै सल्लाहकार थापाले प्रवक्ता श्रेष्ठ गुटगत राजनीतिमा लागेको आरोप लगाएका छन्। उनले प्रवक्ता श्रेष्ठमाथि बुटवलमा प्रदेश राजधानीको विवादको क्रममा मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलमाथि ढुंगा प्रहार हुँदा नबोलेको भन्दै कटाक्ष गरेका छन्। 

‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य तब न नारायणकाजी!’  उनले अगाडी भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा  निदाउनुभएको थियो क्यारे!’

यस्तै, प्रधानमन्त्री ओलीका विश्वासपात्र तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पनि गलत विचार बिरूद्ध लड्न सही विचार नै पर्याप्त हुने भन्दै होहल्लाको अर्थ नभएको बताएका छन्। 

‘गलत विचार बिरूद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन’ उनले लेखेका छन्, ‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय शसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ।’ 

औपचारिक कार्यक्रममा बिचार राखेकै आधार नेता पाण्डे सहभागी कार्यक्रममा भएको अभद्र व्यावहारको अमानवीय भएको राष्ट्रिय युवा संघ नेपाल संयोजक तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले बताएका छन्। पार्टीका आधिकारिक फोरममा बिचार राखेकै आधारमा गरिएको अराजक गतिविधि आलोचनात्मक मात्रै होइन, दण्डनीय भएको उनको तर्क छ। 

‘चितवनको राप्ति नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममा बिचार राखेकै आधार नेकपाका स्थायी समिति सदस्य तथा सोही क्षेत्रका जनप्रतिनिधि समेत रहेका सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको अभद्र व्यावहारको घोर भत्सर्ना गर्दछु’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टीका आधिकारिक फोरममा बिचार राखेकै आधारमा गरिएको अराजक गतिविधि आलोचनात्मक मात्रै होइन, दण्डनीय छ।’ 

उछ्छ्रिङखल गतिविधि गर्नेमाथि कारवाही गर्न तथा पार्टी अन्तरविरोधलाई शत्रुता पुर्ण गराउने यस्ता अराजकताप्रति पार्टी नेतृत्वले तत्काल सम्हाल्न नेतृत्वलाई आग्रह समेत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.