|

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकाले निर्माण गर्न लागेको १५ शय्या क्षमता रहने अस्पतालका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन्। मोलुङ गाउँपालिका-२ को रामपुर बजारमा एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको नौ रोपनी जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन्।

जग्गा प्राप्त भएपछि अस्पताल निर्माण प्रकृया अगाडि बढाइने गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए। यसअघि रामपुरमा स्वास्थ्य चौकीमात्रै थियो। गाउँपालिकाले यसअघि नै ​मोलुङ-२ रामपुरमा अस्पताल निर्माण गर्ने निर्णय गरिसकेको छ।

रामपुर बजार शहरी क्षेत्रका रूपमा विकास हुँदै गएकाले जनसंख्याको अत्यधिक चापसमेत रहेको र गाउँपालिकाका सबै वडालाई पायक पर्ने गरी रामपुरमा अस्पताल निर्माण शुरू गर्नु सकारात्मक काम भएको स्थानीय प्रकाश दाहालले बताए। उनका अनुसार राइटर बाजे भनेर चिनिएका समाजसेवी गंगाप्रसाद दाहालको स्मृतिमा उनका छोरा तथा नातिले जग्गा उपलब्ध गराएका हुन्।

गाउँपालिकालाई रमा दाहाल, चतुर्भुज दाहाल, उत्तमकुमार दाहाल र सन्तोष दाहालले मिलेर उपलब्ध गराएको नौ रोपनी जग्गा रजिस्ट्रेसन पास गर्ने प्रकृयामा रहेको छ। गाउँपालिका अध्यक्ष मणिराज राईले अस्पतालका लागि दिन लागेको जग्गा अनुगमन गरेर पास गर्ने प्रकृया अघि बढाउन सहजीकरण गरेका थिए।

उपयुक्त जग्गा खोजीमा रहेको गाउँपालिकालाई जग्गादाताहरूले निःशुल्क जग्गा दिएर स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेका अध्यक्ष राईको भनाई छ। उनले अब चाँडै संघीय सरकारले दिएको अनुदानबाट अस्पताल निर्माण प्रकृया शुरू हुने बताए। 

गाउँपालिकाको केन्द्र प्राप्चा तोकिएपछि असन्तुष्ट रामपुरवासी अस्पताल बन्ने भएपछि भने उत्साहित रहेका छन्। संघीय आयोगले केन्द्र प्राप्चा तोकेपछि गाउँपालिका केन्द्र रामपुरमै राख्न उनीहरूले आन्दोलन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.