बाइडन प्रशासनको रवैया कुर्दै विश्व

|

अमेरिकी राष्ट्रपतीय चुनावको परिणामले विश्वभर नै अर्थ राख्छ। अवसर र सुविधाको खोजीका लागि अमेरिकातर्फ बाटो तताउने तरखरमा रहेका अल्पविकसित र विकासोन्मुख देशका नागरिकदेखि अमेरिकाले नै थोपरेको युद्ध सन्त्रासमा बाँचिरहेका द्वन्द्वग्रस्त मुलुकहरूसम्मले अमेरिकी राष्ट्रपतीय चुनावप्रति निकै चासो दिन्छन्‌। 

अमेरिकी सत्तामा लगभग पालैपालो गरी दुई वटा पार्टी आसिन हुन्‌। रिपब्लिकन र डेमोक्य्राट। युद्धका मामिलामा यी दुवै दल बरोबर हिस्सेदार छन्‌। तर आप्रवासीका सन्दर्भमा रिपब्लिकन भन्दा डेमोक्य्राटहरू बढी नरम देखिन्छन्‌।

​वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिका राष्ट्रपतिहरूले झैँ कतै न कतै युद्ध थोपर्ने कामलाई क्रमभ‌ंग गरिदिए। यस अघिदेखि नै जारी युद्धलाई अत्यावश्यक अवस्थामा निरन्तरता दिनु बाहेक उनले नयाँ युद्धको घोषणा गरेनन्‌। कैयन देशहरबाट अमेरिकी सैनिक फिर्ता गरे। विदेशमा रहेका केही अमेरिकी सैन्य शिविर र हवाई अड्डाहरू बन्द गराए। 

तर, आप्रवासी र वैश्विक व्यापारमा उनले चालेको अनुदार कदमले विश्व नै प्रभावित भयो। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनेदेखि कठोर आप्रवासन नीतिसम्मका उनका कदम अमेरिकाभित्र र बाहिर पनि अलोकप्रिय रह्यो। विश्व महाशक्तिको ताज पहिरिएको अमेरिकी प्रशासनको नीतिले उसका घरेलु मामिला मात्रै प्रभावित तुल्याउँदैनन्‌। वैश्विक सम्बन्धमा पनि विशेष अर्थ राख्छ। आर्थिक क्षेत्रमा त चीनसँग व्यापार युद्ध गर्दै ट्रम्पले विश्वभर नै हलचल ल्याइदिए। यी सबै पछाडिका कारण थियो : उनको 'अमेरिका पहिलो (अमेरिका फस्ट)' नारा।

अब अमेरिकी सत्तालाई डेमोक्य्राट जो बाइडनले हाँक्दैछन्‌। ट्रम्पका बहुलट्ठी नीतिदेखि रुष्ट भएका विश्वभरका मानिसहरूले जो बाइडनप्रति निकै सहानुभूति देखाए र उनको जीतका लागि कामना गरे। यसको कारण हो : बाइडनले चुनाव जिते आप्रवासन नीति लचिलो हुन्छ, अमेरिकी विकास र समृद्धिको रसास्वादन गर्ने मौका आफूलाई पनि प्राप्त हुन्छ। सरकारहरूका सुरक्षा स्वार्थदेखि त्यहाँका नागरिकको अमेरिका मोहले यसमा काम गरेको सजिलै बुझ्न सकिन्छ। 

नफेरिने नीति

आप्रवासीहरूका हकमा सामान्य लचकता बाहेक ह्वाइटहाउस जसले सम्हालेपनि विश्वव्यापार र अन्तराष्ट्रिय सम्बन्धमा खासै फरक परेको देखिएको छैन। ट्रम्पको कार्यकाल बाहेक सबै अमेरिकी राष्ट्रपतिहरूले कुनै न कुनै रूपमा युद्ध थोपरिरहेका हुन्‌ र आफ्नो रणनीतिक स्वार्थका लागि अल्पविकसित र विकासोन्मुख देशलाई मोहोरा बनाइरहेका हुन्‌।

​नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले पनि ट्रम्पले झैं अमेरिकी स्वार्थलाई नै पहिलो प्राथमिकतामा राख्ने बताइसकेका छन्‌। झट्ट सुन्दा कुनै पनि देशको शासकले उसकै देशको स्वार्थलाई पहिलो प्राथमिकता दिन्छ भन्नु स्वाभाविक हो। तर 'अमेरिकी स्वार्थ' भित्र लुकेका साना अवयवहरूले पनि वैश्विक स्थिरता, शान्ति, रणनीतिक र आर्थिक क्षेत्रमा ठूलो प्रभाव पार्दछ। 


डोनाल्ड ट्रम्प र जो बाइडन ।

अमेरिकी सरकार र प्रशासनको उच्च तहमा रहने आफ्ना सहयोगीबारे बाइडनले भनेका छन्, 'मलाई पहिलो दिनदेखि नै यस्तो टीमको आवश्यकता पर्नेछ : जसले हामीले भोगिरहेका चुनौतीहरूको सामना गर्न सकोस्। हाम्रो सुरक्षा, समृद्धि र मूल्यमान्यतालाई अघि बढाउन सकोस्।' 

यति भनिसकेपछि बाइडन अब डोनाल्ड ट्रम्पको नीतिभन्दा खासै टाढा जान नसक्ने देखिएको विश्लेषण हुन थालेका छन्‌। रूस र चीनसँग अनुदार डेमोक्य्राटहरूले उसका छिमेकी मुलुकहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने गरेको तीतो इतिहास छ। चाहे त्यो चीनका विरुद्ध नेपाल होस्‌ या इरानका विरुद्ध अन्य खाडी मुलुकहरू। अफ्रिकादेखि एसियासम्म भएका युद्ध तथा विवादहरूमा अमेरिका कहीँ न कहीँ मुछिने गरेकै छ।

पुरानै अनुभव भोगेकाहरू सत्ता सारथी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन जनवरी २० मा जिम्मेवारी सम्हाल्न ह्वाइटहाउस जाँदैछन्। ट्रान्जिसन टीमले बाइडन प्रशासनमा सामेल हुने केही व्यक्तिहरूबारे जानकारी दिएको छ। 

बाराक ओबामाको दोस्रो कार्यकालमा विदेशमन्त्री रहेका जोन केरीले जलवायु परिवर्तनसँग सम्बन्धित विभाग सम्हाल्नेछन्। बाइडनले केरीलाई जलवायु मामिलामा राष्ट्रपतिको विशेष दूतको भूमिकाका लागि पनि छनोट गरेका छन्। 


जोन केरी ।

 

केरीले नै सन् २०१५ मा अमेरिकी राष्ट्रपतिको प्रतिनिधिका हैसियतले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले सो सम्झौताबाट हात झिकेका थिए। वरिष्ठ डेमोक्रेट नेता केरी सन् २००४ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्ज डब्ल्यू बुससँग पराजित भएका थिए। 

यस्तै, अवरिल हेन्सले अमेरिकी गुप्तचर निकाय सम्हाल्नेछन्।

लामो समयसम्म बाइडनको सहयोगी रहेका एन्टोनी बिङ्केन विदेशमन्त्री बन्ने पक्कापक्की भएको छ। लामो समयसम्म बाइडनको सल्लाहकार रहेका उनले अब अमेरिकी विदेश नीतिका एजेन्डा पनि सम्हाल्नेछन्। 

ओबामा प्रशासनमा उप विदेशमन्त्री रहेका बिङ्केन अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार पनि रहिसकेका छन्। उनी सन् १९९४ देखि २००१ सम्म तत्कालीन अमेरिकी राष्ट्रपति बिल किन्टनका पालामा राष्ट्रिय सुरक्षा परिषदका स्टाफ पनि रहेका थिए। ​

अलेक्ज्यान्ड्रो मायोरकासले बाइडन प्रशासनमा गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी सम्हाल्नेछन्। यस पदमा चुनिन लागेका उनी पहिलो ल्याटिन अमेरिकी मुलका व्यक्ति हुन्। 


अलेक्ज्यान्ड्रो मायोरकास

हिलारी क्लिन्टन, बाराक ओबामा र बाइडनका शीर्ष सहयोगीमध्ये एक रहेका जेक सुलिवनलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको समूहमा छनोट गरिएको छ।​

सुलिवन ओबामाको दोस्रो कार्यकालमा बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। उनले सन् २०१६ भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनका वरिष्ठ नीति सल्लाहकारका रुपमा काम गरिसकेका छन्। उनले अन्तरराष्ट्रिय सम्बन्धमा एमफील गरेका छन्। 

लिन्डा थोमसलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा प्रस्ताव गरिएको छ। उनले पनि पूर्व राष्ट्रपति बाराक ओबामासँग काम गरेकी थिइन्। सन् २०१३ देखि २०१७ सम्म उनी अफ्रिकी मामिलाकी उप विदेशमन्त्री रहेकी थिइन्। 


ज्याक सुलिवन, लिन्डा थोमस र एन्टोनी बिङ्केन ।

अमेरिकी क्याबिनेटमा उपराष्ट्रपतिसहित अन्य १५ डिपार्टमेन्ट (मन्त्रालय) हुने गर्दछन। जसमा कृषि, कमर्स, रक्षा, शिक्षा, उर्जा, स्वास्थ्य तथा ह्युमन रिसोर्स, होमल्याण्ड सेक्युरिटी ९गृह०, हाउसिग एण्ड उर्बान डेभलपमेन्ट, इन्टेरियर, कानुन, श्रम, विदेश, यातायात, अर्थ र भेट्रान अफयर्स प्रमुख छन्।

डिसेम्बर १४ मा औपचारिक रुपमै अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा घोषणा गरिनेछ। तर बाइडनसँग पराजित वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकारेका छैनन्। 

ट्रम्पले हार स्वीकार नगरेपनि बाइडनले आफ्नो सरकार र प्रशासनमा रहने सम्भावित व्यक्तिहरूको नाम अघि सारेका हुन्। ट्रम्पले चुनावमा व्यापक धाँधली भएको भन्दै चुनावी परिणामविरुद्ध लगातार विषवमन गरिरहेका छन्।

चुनावमा जो बाइडनलाई करिब ३०६ र ट्रम्पलाई २३२ इलेक्टोरल मत मिलेको अनुमान गरिएको छ। अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल मत आवश्यक पर्छ। चुनावी परिणाम लगभग आइसकेपनि औपचारिक घोषणा हुन भने बाँकी नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.