काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरेर भित्रिएको सुनको मालिकको नाम प्रहरीले आइतबार सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले साढे ३३ किलो सुनको मालिक हरिशरण खड्का रहेको र उनी दुबईमा बसेर सुनको कारोबारमा संलग्न रहेको बताएको हो। उनीसँगै अन्य चार जनामा पनि साढे ३३ किलो सुनमा लगानी रहेको ब्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले जानकारी दिए।
‘खड्कासँगै रोसन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलको सुनमा लगानी रहेको छ’, डिआइजी सिलवालले भने ‘उनीहरु सबै जना दुबईमा रहेकोले पक्राउको लागि रेडकर्नर नोटिस जारी गरेका छौं, अब इन्टरपोलमार्फत खोजी गर्नेछौं।’
बैदेशिक रोजगारीको लागि दुबई गएका खड्काले पछिल्लो समय सुन तस्करी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको पनि डिआइजी सिलवालले जानकारी दिए। प्रहरी र विमानस्थलका कर्मचारीलाई प्रलोभनमा पारेर सुन तस्करी गर्ने गरेका थिए।
गत पुस २१ गते विमानस्थलको भन्सार जाँच पास गरेर गौशालाको पिंगलास्थानमा पुग्दा प्रहरीले गोपालबहादुर शाहीको साथमा रहेको साढे ३३ किलो सुन बरामद गरेको थियो। शाहीसँग सुन लिन बसेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले त्यही दिन पक्राउ गरेको थियो। उनीहरुको बयानको आधारमा प्रहरीले भन्सार विभागमा कार्यरत श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो।
भन्सारका कर्मचारीकै बयानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। एसएसपी खत्रीको भन्सारका अधिकृत यादवसँगको मिलेमतो देखिएपछि पक्राउ गरिएको थियो। एसएसपी खत्रीले प्रत्येक पटक सुन भित्रदा एक लाख रुपैयाँ लिने गरेको अनुसन्धानमा खुलेको सिआइवीका अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए।
प्रहरीले अनुसन्धान गर्दै जाँदा न्युरोड वैभव सुन पसलका राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी सिलवालले जानकारी दिए। ‘तस्करीबाट आएको सुन बेच्ने र भारतमा पनि पठाउदै आएको देखिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको छ’, उनले भने ‘उनीहरुले नेपालमा एजेन्टको रुपमा काम गरिरहेको खुलेपछि पक्राउ गरिएको हो।’
प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ भने पाँच जनालाई फरारको सूचिमा राखेर खोजी गरिरहेको छ। पछिल्लो समय दुबईबाट सुन आउने क्रम बढेपछि प्रहरीले निगरानी बढाएर साढे ३३ किलो सुन बरामद गरेको थियो। नेपालमा दुबईको साथै केरुङ नाकाबाट पनि सुन भित्रने गरेको छ। केरुङको नाका भई काठमाडौं भित्रिएको १५ किलो सुन पनि प्रहरीले बरामद गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।