ओखलढुङ्गा : सीमा विवाद र प्रचार नहुँदा रामेछापको सैलुङ ओझेलमा परेको छ। रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकाबीच सीमा विवाद र प्रचार नहुँदा सैलुङ ओझेलमा परेको हो।
प्राकृतिक रूपमा निर्मित सयवटा थुम्काबाट सैलुङ बनेको छ। सयवटा थुम्का भएकै कारण यसलाई सैलुङ भनिएको हो। चिसो मौसममा हिउँ पर्ने सैलुङ हिउँ खेल्न र प्राकृतिक मनोरम, जंगल तथा हिमालको दृश्यावलोकनको लागि पनि त्यतिकै रमणीय छ। धार्मिक दृष्ट्रिकोणले पनि सैलुङ हिन्दु र बौद्ध धर्मालम्वीहरूको सङ्गमस्थल हो।
हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्ध धर्मावलम्बीहरूले बुद्धले पाइला टेकेको ठाउँको रूपमा लिने गरेको पाइन्छ तर, सीमा विवाद, उचित प्रचार र आवश्यक पुर्वाधार नबन्दा पर्यटकीय तथा धार्मिक महत्वको सैलुङ क्षेत्र ओझेलमै छ।
लुङको डाँडोमा बुद्धले टेकको ढुङ्गामा वुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ बौद्ध धर्मावलम्बीहरू पूजा गर्न पुग्ने गर्दछन्। त्यस्तै डाँडामा आन्तिम संस्कार गर्दा मोक्ष प्राप्ति हुने पनि बौद्ध धर्मावलम्बीहरूको विश्वास छ। यस हिसावले दुवै धर्म मान्ने मानिसहरूको सैलुङ पवित्र तीर्थस्थल रहेको दोरम्बा गाउँपलिकाका अध्यक्ष कमानसिंह लामाले बताए।
सीमा विवाद नटुङ्गिदा व्यवस्थापनमा समस्या
रामेछाप र दोलखाको सीमा विवाद लामो समयसम्म नटुङ्गिदा व्यवस्थापनमा समस्या भएको छ। रामेछाप र दोलखाबीचलामो समयदेखि सीमा विवाद भएका कारण पर्यटकीय स्थल सैलुङमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन गर्न समस्या भएको हो।
सैलुङ सीमा नाकाको विषयमा दोलखा र रामेछापवासीले आ–आफ्नो जिल्लामा पर्ने भनेर दावी गरिरहेको हुँदा कुन जिल्लाको जिम्मा रहने भन्ने कुरामा अन्योलता छाएको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह लामाले बताए। सैलुङ जुन जिल्लामा परेपनि यथाशक्य दुबै जिल्लाका सम्बन्धित निकाय र विशेषज्ञहरू बसेर सीमा विवाद चाँडै टुङ्ग्याउनुपर्ने लामाको भनाइ छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण, ऐतिहासिक, पुरातात्त्विक महत्व बोकेको, आकर्षक प्रकृतिले सजिएको आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्नसक्ने स्थान भएपनि दुई जिल्लाको सीमा विवादले पछिल्लो समय सैलुङमा पर्यटकीय व्यवस्थापनमा समस्या आइरहेको छ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सीमा विवाद नै यस क्षेत्रको विकासको बाधक भएको बताउँदै छिटै दोलखा जिल्लासँग समन्वय गरी विवाद टुङ्गयाउने बताए। पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको भए पनि सीमा विवादका कारण निर्माण भएका भौतिक संरचना संरक्षण तथा नयाँ निर्माणमा समस्या आइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।