काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण शुरू भएदेखि नै उपचार गरेको अस्पताल हो टेक स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
नेपालमा गत माघ ९ गते पहिलो संक्रमण पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका ती संक्रमित पुरुषको उपचार पनि टेकु अस्पतालमा नै भएको थियो।
कोरोना संक्रमितको उपचारमा शुरूदेखि नै खटिएको एकमात्र अस्पताल हो यो। कोरोना महामारीसँगै आएको चूनौतिलाई अवसरमा परिणत गरी यो अस्पताल फरक पहिचान बनाउन सफल भएको छ।
सरुवा रोग उपचारको लागि देशकै एक मात्र सरकारी अस्पताल पनि यही हो। तर, पछिल्लो समय सरकार र अन्य क्षेत्रबाट पनि हेपिएको अस्पतालको रूपमा समेत चिनिएको थियो।
त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको थियो। स्थापनाकालदेखि नै सरुवा रोगको मात्रै उपचार गर्दै आएको शुक्रराज अस्पताल देशकै एकमात्र केन्द्रीय सरुवा रोग अस्पताल पनि हो।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले शुक्रराज अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। नेपालमा कोरोना संक्रमण देखिएको शुरूको समयदेखि नै यस अस्पताल संक्रमितको उपचार निम्ति रोजाइको अस्पताल बनेको छ।
संक्रमितको उपचारमा अब्बल
नेपालमा कोरोना जोखिम बढ्दै गएपछि अस्पतालले संक्रमितको आएको खण्डमा उपचार गर्नुपर्छ भन्दै पूर्व तयारी गर्दै लगेको थियो। पछि संक्रमण फैलिएर संक्रमित बढ्दै जान थालेपछि यस अस्पताल कोरोना विशेष अस्पतालमा परिणत गरिएको हो। सरुवा रोगको उपचार हुँदै आएको यस अस्पतालले आफ्नो संरचना र काम गर्ने शैली परिवर्तन गर्नुका साथै सबै स्वास्थ्यकर्मीलाई कोरोनाबाट बचेर काम गर्ने तरिका सिकायो।
कोरोना शुरू भएदेखि हालसम्म अस्पतालमा ९ सयभन्दा बढीको उपचार गरिसकिएको र धेरै गम्भीर संक्रमितलाई पनि संक्रमण मुक्त गराएर घर पठाउन सकिएको उनको भनाइ छ।
सुरक्षा र सेवामा उदाहरणीय
सरुवा रोगको अस्पताल भएकै कारण पनि टेकु अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी बिरामीसँग एक्सपोजको विषयमा सतर्क रहने गर्छन्। अझै, अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थालेपछि सकेसम्म आइसोलेसन वार्डमा सबै स्वास्थ्यकर्मीलाई पठाइँदैन।
विशेषज्ञताको हिसावले स्वास्थ्यकर्मीको ड्युटी तालिका छुट्याइएको छ। जसले गर्दा स्वास्थ्यकर्मीलाई संक्रमणट जोगाउन समेत मद्दत गर्छ। स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले काम गराउनु नै टेकु अस्पताल कोभिडको उपचारमा रोजाइको अस्पताल पर्नुको एक प्रमुख कारण भएको डा. बास्तोला बताउँछन्। उनले भने, ‘गुणस्तरीय सेवा दिन हामीले सबै स्टाफहरूका लागि ड्युटी समय तोकिएको छ, जसले गर्दा केही समय स्वास्थ्यकर्मीले आराम पाउँछन् र बिरामीले पनि राम्रो सेवा पाउँछन्।‘
कोरोनालाई डर र त्रासको रूपमा हेर्न नहुने भन्दै डा. बाँस्तोला बिरामीको मनोबल र हौसला बढाउन निकै आवश्यक भएको बताउँछन्। त्यसैले हाल अस्पतालका आइसियुमा होस् वा अन्य वार्डमा उपचार गराइरहेका संक्रमित हुन् : उनीहरूको साथमा नर्स वा अन्य स्वास्थ्यकर्मी सँगै हुने गर्छन्। ती स्वास्थ्यकर्मीले संक्रमितको मनोबल बढाउन मद्दत गरिरहेका छन्।
डा. बाँस्तोलाले भने, ‘कोरोना लाग्नासाथ संक्रमितले आफूलाई एकदमै कमजोर महसुस गर्ने गरेको पाइन्छ, जसले गर्दा उनीहरूलाई मेडिकल औषधीले मात्रै हुँदैन, मनोबल बढाउनेतर्फ पनि उनीहरूलाई चिकित्सक अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार र सँगै हुँदा पनि उनीहरूलाई धेरै सहयोग गर्ने हुँदा हामीले सोही अनुसारको व्यवस्था मिलाएका छौँ।'
कोरोना संक्रमण भई गम्भीर बिरामी परेकालाई सहज रूपमा अक्सिजन दिन अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरेको छ। अस्पतालले करिब डेढ करोड रुपैयाँ लागतमा सो प्लान्ट जडान गरेको हो।
डा. बाँस्तोलाका अनुसार एकपटक आएको लिक्विड अक्सिजन ५० जना बिरामीलाई दिँदा १२ देखि १५ दिनसम्म पुग्छ। बिरामीको चाप अहिले झैं नबढेका बेला चाहिँ यही परिमाण अक्सिजनले २ महिना बढी समयसम्म पुग्छ।
सामूहिक सक्रियताको परिणाम
चीनमा कोरोना संक्रमणका मामिला पुष्टि हुनासाथ अस्पतालले सम्भावित जोखिमलाई आंकलन गर्दै स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्यो। कोरोना नियन्त्रणका लागि एउटा फोकस टीम नै गठन गरियो।
नेपालमा संक्रमण पुष्टि भएपछि र व्यापक रूपमा फैलन थालेपछि आवश्यकता बमोजिम टीम बनाउँदै समूहमै काम गर्दा कोरोना उपचारमा अस्पताल अब्बल सावित भएको डा. बाँस्तोला बताउँछन्। उनले भने, ‘हामीले शुरूदेखि नै टीममा काम गर्यौं, जसले गर्दा प्रभावकारी उपचार र नियन्त्रणमा सफल भयौँ । यो परिणाम हासिल गर्न हामी साथीहरूले प्रतिबद्ध भएर काम गर्नुभयो।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।