रातलाई साथमा लिएर
दिनलाई छोपि राख्ने
आरिसको कालो बादल
एक रत्ती मन पर्दैन उनीहरूलाई
बेतुकको कोकोहोलो
बेमौसमको वृष्टि
हो,
कत्ति मन पर्दैन लामचराहरूलाई
हुन त कहाँ सम्भव छ र
हर साँझ निशाचार फैलाएर
तथ्यको क्षितिजलाई छेकेर
समयलाई रोकिराख्न
हावा पनि छ
हुरी पनि छ
गतिलाई गाली गरेर
स्थिरतालाई निरन्तरता दिन
कहाँ सम्भव छ र ?
हर बिहान नयाँ हुन्छ
प्रतिगमनको सिरेठोले
उदण्डताको अट्टाहसले
कहाँ भत्कन्छ र जनअमन
कुण्ठाका पोकाहरू फुकालेर
दिवा सपनाको रङ्गमञ्चमा
नाचिरहोस पश्चगमन
के फरक पर्छ र अग्रगमनलाई
बरू आशंकामा आत्तिनु
निष्ठा बिर्सेर निसास्सिनु
कदाचित् राम्रो होइन
अस्थिरताको आवेगभित्र
अहमतामा अडिरहनु
विवेक त हुँदै होइन
असन्तुष्टिलाई समेटेर
हीनताबोधको चिच्याहट
सडकभरि पोख्दैमा
विश्वासका सतीसालहरू
कहाँ ढल्छन् र ?
बरु जुटौँ सबै
रक्त सिञ्चित बिहानीको
सुन्दर बगैँचा बचाउन
निःस्वार्थ संकल्पित माली बनौँ
गुन्जायस छैन मनमुटावको
एकतापूर्ण अठोटमा आँट हुन्छ
संकल्पमा साथ र जीत हुन्छ
तपाईंको ईमेल गोप्य राखिनेछ ।