अस्थायी शिक्षकको समस्या अब नरहेको जिकिर

|

सिन्धुली : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि विद्यालयहरु प्रविधियुक्त हुनुपर्ने बताएका छन्। 

बिहीवार सिन्धुलीको मरिण गाउँपालिका–७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

मन्त्री पोखरेलले अहिलेको समयमा प्रविधिको प्रयोगबिना कुनै पनि सामुदायिक विद्यालयको विकास हुन नसक्ने भन्दै शिक्षक प्रविधिमा अद्यावधिक गर्नुपर्ने बताए।

‘हाम्रो देशमा गाउँ र सहर, निजी र सार्वजनिक, आर्थिक स्रोत भएका र नभएका, प्रविधि भएका र नभएका विद्यालयबीच खाडल छ’, उनले भने, ‘शिक्षामा गुणात्मक सुधार दिने हो भने विद्यालय प्रविधिमैत्री पनि बनाउनुपर्छ। प्रविधियुक्त पनि बनाउनु पर्छ। प्रविधिको प्रयोगबिना शैक्षिक सुधार हुने छैन। त्यसका लागि सबै शिक्षक प्रविधिमा अद्यावधिक हुन जरुरी छ।’

मन्त्री पोखरेलले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय आवश्यकतालाई पक्रिएर विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताए। अस्थायी शिक्षकहरुको समस्या हाल भएको भन्दै मन्त्री पोखरेलले अब शिक्षक हुन लोकसेवा आयोग पास गर्नैपर्ने व्यवस्था सरकारले लागू गर्ने बताए।

‘अब हामी १७ थरीका शिक्षक राख्न सक्दैनौँ। शिक्षक हुन लोकसेवा आयोग पास गर्नैपर्छ’, कतिपय स्थानीय तहले धमाधम शिक्षक नियुक्ति गरिरहेको भन्दै मन्त्री पोखरेलले थपे, ‘संविधानले शिक्षक नियुक्तिको अधिकार स्थानीय तहलाई दिएको छैन।’ 

विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारको भएपनि शिक्षक नियुक्तिको अधिकार नदिएको उनले बताए। तीन तहको सरकार मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

मन्त्री पोखरेलले २०७२ सालको विनाशकारी भुकम्पबाट क्षति भएको विद्यालयहरूको पुन निर्माण यो बर्ष करिब सक्ने योजना रहेको बताए।

कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र प्रभावित हुन नदिन महामारी सुरु भएदेखि नै स्थानीय सरकारलाई आवश्यक बजेट पठाएर वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरिएको उनले बताए। 

कार्यक्रममा बोल्दै मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले पालिकाले शिक्षा र स्वास्थ्य सुधारमा ठूलो बजेट लगानी गरेको बताएका छन्।  

एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले उक्त भवन बनाएको हो। 

कन्ट्याक–लुम्बिनी जेभीले ११ करोड ६६ लाख ७३ हजार ४३५ रुपैयाँमा उक्त निर्माण गरेको हो। २१ कोठे भवन बालमैत्री–अपांगमैत्री रहेको विद्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.