|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले पोल गाडेर टाँगेको तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न २०७४ सालमा प्रकृया अघि बढायो। त्यसको एक वर्षपछि २०१९ मार्चमा प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी ठेक्का सम्झौता भयो।

तर, समयमै तार व्यवस्थापनको काम हुन सकेन। पछि २०७६, फाल्गुन ५ गते पहिलो चरणमा रन्तपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने काम भयो। त्यसबेला महाराजगञ्‍ज क्षेत्रमा विद्युतीय तारलाई भूमिगत बनाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए।

तर, त्यस क्षेत्रको काम अहिले रोकिएको छ। सम्झौताअनुसार महाराजगञ्ज क्षेत्रको २ सय १० किलोमिटर लम्बाइमा ४ सय भोल्टको तार र ११ केभीको १ सय ५५ किलोमिटर तार भूमिगत गर्नुपर्नेछ। 

प्राधिकरणका अनुसार लकडाउन खुकुलो भएपछि भने तारलाई भूमिगत गर्ने काम अघि बढेको छ। लकडाउनकै बीच चावहिल क्षेत्रमा भने काम भयो। अहिले कोटेश्वर,जडिबुटी लगायत क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेको छ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिना भन्छन्, ‘पहिलो चरणमा महाराजगञ्ज, रत्नपार्कबाट काम थालिएको थियो। तर, कोभिड–१९का कारण काम गर्न सकिएन।’ उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा तार भूमिगत पार्ने काम सकिएपछि भरतपुर, पोखरा,लगायत बाहिरी जिल्लामा तार व्यवस्थापन गर्ने प्राधिकरणको योजना छ।

सन् २०२१ सम्ममा भूमिगत तारको काम सक्ने लक्ष्य भएपनि कोरोना महामारीका कारणले यो काम २०२२ सम्म धकलिने तिम्सिनाले बताए। उनले भने,‘अरू क्षेत्रको टेण्डर हुने क्रममा छ। टेण्डर भइसकेको ठाउँमा तारलाई धमाधम भूमिगत पार्ने काम भइरहेको छ।’

सबै भूमिगत तार गरिसकेपछि उपत्यकाका अव्यवस्थित तार व्यवस्थित हुने उनको अपेक्षा छ। एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा हुन लागेको यस कार्यका लागि ७ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान प्राधिकरणको छ।

कत्तिको सजिलो छ भूमिगत गर्ने काम?

कोटेश्वर क्षेत्रको तार भूमिगत पार्ने काममा खटिइरहेका कामदार कृष्ण केसीका अनुसार पहिला ६ फिटसम्म जमिन खन्नुपर्छ। खाडल खनिसकेपछि पाइप राखेर सकेट जोडिन्छ। तर, पाइपभित्र केवल तार छिराउँदा भने गाह्रो पर्छ।

‘छोटो दूरीको पाइपमा हातले नै ठेलेर तार हाल्न सकिन्छ,’उनले भने,‘लामो दूरीको भने गाह्रो पर्छ। त्यसैले रसीको व्यवस्था गर्नुपर्छ। मेसिनबाट खिच्नुपर्छ। त्यसपछि मेसिनद्वारा तार छिराइन्छ।’

उनका अनुसार सामान्य व्यक्तिले यो काम गर्न सक्दैन। तर, भूमिगत तारको तालिम लिनेको लागि भने यो काम गर्न सहज छ। एक किलोमिटरमा तार भूमिगत गर्ने, खाडल पुर्नेलगायत सबै काम सिध्याउन दुई दिनसम्म समय लाग्छ। 

अव्यवस्थित तारले शहर कुरूप

धुवाँ र धुलो काठमाडौं उपत्यकाको पहिचान बनिसकेको छ। त्यसमा पनि यन्त्रतन्त्र तारले शहरलाई झनै कुरूप बनेको छ।

व्यवस्थापिका संसदको विकास समितिले २०७४ सालमै काठमाडौं उपत्यकाभित्र अव्यवस्थितरुपमा रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन सरकारलाई निर्देशन दिएको थियो।

तर, व्यवस्थित हुन सकेन। अहिले बिजुलीका पोलमा हेरि नसक्नु गरी तार झुन्डिएका छन्। त्यति मात्रै नभई सडकमा बिजुली, इन्टरनेट लगायतका तार छरपस्ट हुँदा सर्वसाधारणको ज्यानसमेत उच्च जोखिममा छ।

चावहिलमा भेटिएका सुमनराज चौलागाईं बिजुलीका तार अव्यवस्थित हुँदा ज्यान जाने जोखिम बढ्ने बताउँछन्। ‘अव्यवस्थित तारले शहर कुरूप मात्रै होइन,’ उनले भने, ‘त्यसमा मान्छे पर्‍यो भने ज्यान जान्छ। तर, सरकारले व्यवस्थित गर्नेतिर ध्यान नै दिँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.