खुमलटारमा प्रचण्ड-माधव बैठक

|

काठमाडाैं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ ​अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेट्न खुमलटार पुगेका छन्। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेम्बाङ प्रचण्डनिवास पुगेका हुन्।बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर नेता नेम्बाङ खुमलटार पुगेका हुन्। 

भेटमा पार्टीभित्र देखिएका समस्या, आजै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विषयमा छलफल भएको बताइएको छ। ‘म बालुटारमा थिएँ, अध्यक्ष प्रचण्डले मलाई फोन गरेर खुमलटार भेट्न बोलाउनुभयो,’ थाहासञ्चारसँग नेम्बाङले भने, ‘हामीबीच करिब आधा घण्टाजति पार्टीका समस्या र संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेशका विषयमा कुरा भयो।’ 

भेटमा प्रचण्डले पार्टीमा देखिएका समस्या छलफल, संवाद र वार्ताका माध्यामबाट समाधान गर्नुपर्नेमा जोड दिएका नेम्बाङले बताए। नेता नेम्बाङका अनुसार प्रचण्डले पार्टीभित्र र प्रतिपक्षदलबीच छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका थिए। आफूले पनि अध्यादेश जारी गरेपछि मात्रै थाहा पाएको प्रचण्डलाई नेम्बाङले बताएका थिए।   

‘अध्यादेश जारी भइसकेपछि पार्टी भित्र र बाहिर एक खालको तरंग त उत्पन्न भएको छ, अब यसलाई समाधान छलफलबाट गर्नुपर्ने कुरामा अध्यक्ष प्रचण्डले कुरा गर्नुभयो,’ उनले भने। नेता नेम्बाङ ओली निकट नेता हुन् । पार्टीमा दुई अध्यक्षका बीचमा मतभिन्नता हुँदा नेम्बाङले विवाद समाधानका लागि सहजकर्ताको भूमिका निभाउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.