|

काठमाडौं : आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ। पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ। साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन्। सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहने छैन। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन्।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए। उनले थपे, ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं।’

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए। भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ। 

यसैगरी सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए। ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ। फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ। फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, ‘आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग मेरो धेरै पुरानो नाता छ। म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आइएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ। किनकि यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएका छौं।’

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ। यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पुर्‍याउँछ।

यस संस्करणका वक्ता एवं मध्यस्तकर्तामा बिना थिङ तामाङ, रमेश भुसाल, चन्द्रप्रसाद ढकाल, सिलसिला आचार्य, राजकुमार बानियाँ, डा। रोलिना धिताल र रोशन मिश्र रहेका छन्। यस्तै‚ निश्चल बस्नेत, विश्व पौडेल, आयुषी केसी, प्रियङ्का कार्की, रवीन्द्र पुरी, सोबिता गौतम, स्वेच्छा राउत, हरि खनाल, बिकेश कविन, चन्द्रप्रकाश बानियाँ, दुर्गा कार्की वक्ता एव मध्यस्तकर्ता रहनेछन्।

यस्तै‚ आभास्ना पाण्डे, केशव दाहाल, कुवेर चालिसे, भाष्कर ढुङ्गाना, अरनिको पाण्डे, आलोक तुलाधर, मनुश्री महत, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, मञ्जुदेवी गुरुङ, सीता सुन्दास, प्रदीप रोदन, अमृत सुवेदी, सौगात वाग्ले, भावना तामाङ, जगन्नाथ लामिछाने, इल्या भट्टराई, यज्ञश, बोनिता शर्मा, दीपक परियार, सोनिका मानन्धर, बसन्त बस्नेत,  डा। अनुप सुवेदी, मिलन बगाले, शिवानी सिंह थारु, प्रकृति भट्टराई बस्नेत, निरञ्जन कुँवर, भिक्कु कश्यप वक्ता एवम् मध्यस्तकर्ता रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.