|

काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको जिल्ला पार्टी कार्यालय प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कब्जामा लिएका छन्।

केन्द्रमा पार्टी फुटको अन्तिम संघारमा रहेका बेला मंगलबार प्रधानमन्त्री ओलीनिकट नेकपा जिल्ला कमिटी सदस्य कञ्चन अधिकारी नेतृत्वको टोलीले पार्टी कार्यालयमा ताला लगाएका हुन्।

पार्टी कार्यालयमा तालासहित कब्जा गर्न अधिकारीसँगै जिल्ला कमिटी सदस्यहरु राकेश लामा, जेनिस लामा, कुमार तिमल्सिना, विपिन लामा, अनेरास्ववियू केन्द्रीय सदस्य निरोज पौडेल गएका थिए। 

त्यस्तै उनीहरुसँग युवा संघका जिल्ला संयोजक विक्रम चौलागाई, अनेरास्ववियू जिल्ला संयोजक उपेन्द्र शर्मा, युवा संघ काभ्रेका नेता सागर रायमाझीलगायत ओली पक्षका जिल्ला नेता तथा कार्यकर्ता पुगेका हुन्।

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेपछि आफूहरुले जिल्ला पार्टी कार्यालयमा ताला गरी कब्जा लिएको उनीहरुको भनाइ छ। 

दाहाल–नेपाल पक्षका एक नेताले पार्टी कार्यालयमा ताला लगाउनु ठूलो कुरा नभएको बताए। ‘कार्यालयमा ताला लागउनुभन्दा पार्टी फुट्नबाट जोगाउनु र एकता बलियो बनाउनुचाहिँ ठूलो कुरा हो,’ उनले भने, ‘पार्टी कार्यालयमा लगाएको ताला त जुनसुकै बेला पनि खोल्न सकिन्छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.