|

अमेरिकाले ताइवानी अधिकारीहरूसँगको सम्पर्कमा लगाएको प्रतिबन्ध हटाउने भएको छ। ताइवानको मुख्यभूमि चीनलाई थप चिढ्याउन अमेरिका उद्धत भएको आरोप लागेको छ। 

अमेरिकी विदेश मन्त्रालयको एक विज्ञप्ति जारी गर्दै चीन सरकारको अनुकूलताका लागि दशकौं पहिले यो प्रतिबन्ध लगाइएको, तर अब यो नियम अन्त्य गर्न लागिएको जानकारी दिएको छ। यो कदमसँगै चीन थप क्रुद्ध हुनसक्ने र अमेरिका र चीनबीच तनाव बढ्ने आशंका गरिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शासनको अन्तिम समयतिर यो फैसला गरेको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्छ भने ताइवानी नेताहरूले यो भूमि स्वतन्त्र र सम्प्रभु मुलुक भएको दावी गर्ने गर्छन्। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले शनिबार ताइवानी अधिकारीहरू र अमेरिकीबीच सम्पर्कमा लगाइएको प्रतिबन्ध फुकुवा भएको घोषणा गरेका हुन्। अबदेखि सम्पर्कमा कुनै पनि प्रतिबन्ध नलाग्ने पनि उनले बताएका छन्। साथै, ताइवान एक 'जीवित लोकतन्त्र' भएको पनि उनले दावी गरे। 

यो घोषणा पश्चात ताइवानका विदेशमन्त्री जोसेफ वू ले पोम्पियोलाई धन्यवाद दिएका छन् र पछिल्लो अमेरिकी कदमप्रति आफूहरू आभारी रहेको उल्लेख गरेका छन्। 

चीनले भने अमेरिकालाई एक चीन सिद्धान्तको सम्मान गर्न भनेको छ। 

चीन र ताइवान सन् १९४० को दशकमा भएको एक गृहयुद्धपछि अलग भएका थिए। तर ताइवानलाई अहिलेसम्म स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिइएको छैन।

अमेरिकापरस्त केही थोरै मुलुकहरूले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.