|

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९)को संक्रमितको मृत्युमा नयाँ रेकर्ड देखिएको छ। अमेरिकामा एकै दिन कोरोना संक्रमणबाट चार हजार जनाभन्दा बढीको मृत्यु भएको छ।

अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडिसीले दिएको जानकारीअनुसार बिहीबार चार हजार १८० जनाको मृत्यु भएको छ। त्यस दिन मात्र दुई लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन्।

यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको स्वास्थ्यसम्बन्धी निकाय सिडिसीले जनाएको छ। सिडिसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो।

शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब १ लाख ३२ जना नागरिक कोभिडको संक्रमणका कारण बिरामी भएर अस्पतालमा नै रहेका बताइएको छ। नयाँ वर्ष सुरु भएपछिको पहिलो सातामा नै अमेरिकामा २३ हजार ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्ला दिनहरुमा संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले बताएका छन्। 

यस सातामा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन्। उनीहरुमध्ये केहीलाई कडा लक्षण देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले बताएका छन्। अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। त्यसैगरी कोरोना संक्रमणजन्य जटिलताका कारण ३ लाख ६९ हजार जनाको मृत्यु भएको छ। 

उक्त संख्या जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबारसम्मको हो। पछिल्ला केही दिनमा संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको छ। गत वर्षको डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर ९ करोड १० लाखभन्दा बढी संक्रमित भएका छन्। यस्तै १९ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ। ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.