|

कुलप्रसाद काफ्ले

चितवन : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढका होटलहरूको स्तरीकरण गरेको छ। खाद्य प्रविधिले सोमबार र मंगलबार दुई दिन नारायणगढका १२ वटा होटलहरूको अनुगमन गरी खाद्य स्वच्छताको आधारमा होटलको स्तरीकरण गरेको हो। नारायणगढका होटलहरूको पहिलो पटक स्तरीकरण गरिएको हो।

१२ वटामध्ये चार वटा होटल ‘ख’ वर्ग, एउटा होटल ‘ग’ वर्ग र चार वटा होटल ‘घ’ वर्गमा परेका छन्। तीन वटा होटल स्तरिकरणमा नै परेनन्। खाद्य स्वच्छता र सरसफाईको आधारमा होटलहरूको स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले जानकारी दिए। ‘खाद्य स्वच्छता र सरसफाइसम्बन्धी ५० वटा सूचक छन्, त्यसको आधारमा हामिले होटलहरूको स्तरीकरण गर्छौं’, उनले भने, ‘एउटा सूचकको अंक २ हुन्छ। स्तरीकरणमा पर्न एउटा सूचकमा कम्तिमा एक नम्बर ल्याउनुपर्छ।’ 

खाद्य प्रविधिले खाद्य स्वच्छता र सरसफाइका आधारमा होटलहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गिकरण गरेको छ। ‘क’ वर्गमा पर्ने होटलको स्तर अति उत्तम, ‘ख’ वर्गमा पर्ने होटलको स्तर उत्तम, ‘ग’ वर्गमा पर्ने होटलको स्तर सन्तोषजनक र ‘घ’ वर्गमा पर्ने होटलको स्तर सामान्य हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जनाएको छ। होटलको स्तर निर्धारण गर्न खाद्य विभागले ५० वटा सूचक तयार पारेको छ।

                                                           होटल स्तरीकरणको स्टिकर टाँस्दै खाद्य प्रविधिका अधिकृत

कार्यालयका अनुसार ‘घ’ वर्गमा पर्न ५० देखि ६४, ‘ग’ वर्गमा पर्न ६५ देखि ७९, ‘ख’ वर्गमा पर्न ८० देखि ८९ र ‘क’ वर्गमा पर्न ९० भन्दा माथि अंक ल्याउनुपर्छ। ‘घ’ वर्गमा पर्ने होटललाई सामान्य स्तरको पहेँलो स्टिकर, ‘ग’ वर्गमा पर्ने होटललाई सन्तोषजनक स्तरको एक तारा भएको हरियो स्टिकर, ‘ख’ वर्गमा पर्ने होटललाई उत्तम स्तरको दुई तारा भएको हरियो स्टिकर र ‘क’ वर्गमा पर्ने होटललाई अति उत्तम स्तरको तीन तारा भएको हरियो स्टिकर दिइने उनले बताए।

नारायणगढका होटल मुक्तिनाथ, होटल न्यु हेभन र होटल हेप्पी होम र मामाघर तन्दुरी एण्ड तास रेष्टुरेन्ट ‘ख’ वर्गमा परेको खाद्य अनुसन्धान अधिकृत अधिकारीले बताए।

त्यस्तै, जमघट रेष्टुरेन्टले ‘ग’ वर्ग र रेड कार्पेट, न्यु होटल जम्काभेट, मान्द्रो रेष्टुरेन्ट र न्यु होटल होलिडे होमले ‘घ’ वर्गको स्तर पाएको उनले बताए। नारायणगढ पुलचोकका ठुला भनिएका होटल तिरुपती, होटल डिस्कभरी र होटल अतिथि भने स्तरीकरणमा नै पर्न सकेनन्। होटलहरूको स्तरीकरण गर्नुअघि खाद्य प्रविधिले होटल सञ्चालकहरूलाई खाद्य स्वच्छता सम्बन्धि तालिम समेत दिएको थियो।

‘स्तरीकरणमा पनि पर्न नसक्ने होटलहरूले धेरै सुधार गर्नुपर्ने देखियो’, अधिकारीले भने, ‘तत्काल सुधारका लागि हामीले निर्देशन दिएका छौँ। विशेषगरी भान्छामा नै बढी हेलचक्राई गरेको पायौँ।’ स्तरीकरणमा परेका होटलहरूको ६ महिनापछि पुनः अनुगमन गरिने उनले बताए।

होटल स्तरीकरणमा पर्न नसक्नुमा आफ्नै कमीकमजोरीहरू रहेको होटल तिरुपतीका व्यवस्थापक वसन्त अधिकारीले स्वीकार गरे। ‘दैनिक रुपमा गर्ने सामान्य कुराहरूमा कमजोरी औँल्याउनु भएको छ’, उनले भने, ‘स्तरीकरणमा पर्न नसक्नु हाम्रो कमीकमजोरी पनि हो। यसलाई अब हामीले विस्तारै सुधार गर्दै लैजाने प्रयास रहन्छ।’

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले होटलहरूको स्तरीकरण गर्दा खानाको मूल्यलाई पनि आधार मान्नुपर्ने बताए। कतिपय होटलले खानाको परिमाण नै नखुलाई उपभोक्तासँग मनलाग्दी पैसा असुल्ने गरेको उनले बताए। खाद्य प्रविधिले गत बर्ष सौराहाका ३४ वटा होटलहरूको स्तरीकरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.