|

स्याङ्जा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्योन्वयन इकाई सुन्तला सुपर जोनले यस वर्षको सुन्तला उत्पादनको तथ्यांक लिन क्रप कटिङ (बाली कटानी) सम्पन्न गरेको छ। पुतलीबजार, भिरकोट, अर्जुनचौपारी र वालिङका १७ वटा वडाको विभिन्न क्लस्टरमा बाली कटानी गरिएको हो।

क्रप कटिङ तथ्यांक अनुसार यस वर्ष स्याङ्जामा सुन्तलाको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष १२.३२ मेट्रिक टन प्रतिहेक्टर सुन्तला उत्पादन भएको थियो भने यस वर्ष प्रतिहेक्टर जमिनमा १७.४ मेट्रिक टन उत्पादन भएको प्राविधिक सहायक इन्द्र सुवेदीको भनाइ छ। उनले भने, ‘हामीले प्रत्येक वर्ष सुन्तलाको उत्पादकत्व मापन गर्न बाली कटानीको कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ, जोनभित्र समावेश भएको ४ पालिका १७ वडाको १४९३ हेक्टर जमिनको बगैँचालाई अध्यावधिक गरेका हौँ।’

११५७ हेक्टर क्षेत्रफलको सुन्तला बँगैचालाई क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत १४९३ हेक्टर पुर्‍याइएको छ। स्याङ्जा जिल्लामा यस वर्ष उत्पादनमा वृद्धि भएपनि कोभिडको कारण मूल्यमा भने गिरावट आएको परियोजना कार्योन्वयन इकाइ माधवप्रसाद लम्सालको भनाई छ। लम्साल भन्छन्, ‘राजमार्गमा सवारी साधनको ओहोरदोहोरमा कमी आएको कारण सडकमा छेउछाउका सुन्तला बिक्री भएन, आर्थिक गतिशीलता पनि घट्यो त्यसैले यस वर्ष सुन्तलाले राम्रो मूल्य पाउन सकेन।’

सुपर जोनभित्र समावेश भएका कृषकले प्राविधिक शिक्षा, हाते ट्याक्टर, निलो टुथो, लगायतको सामाग्रीमा अनुदानमा पाएका छन्। गत वर्ष ९ हजार मेट्रिक टन सुन्तला जिल्ला बाहिर निकासी भएको थियो। स्याङ्जाभित्र यस वर्ष १२ हजार मेट्रिकटन बाहिर जिल्लामा बिक्रीको लागि निकासी गर्ने अनुमान गरिएको छ। 

देश संघीय संरचनामा जाँदै गर्दा स्थानीय पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले भने कुनै पनि बालीको तथ्यांक अध्यावधिक गर्न सकेका छैनन्। सुन्तला सुपर जोनमा समावेश नभएका करिव एक हजार हेक्टर जमिनको तथ्यांक अध्यावधिक हुन नसक्दा वास्तविक उत्पादन र क्षेत्रफल भने पहिचान हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.