|

काठमाडौं : नागरिक अगुवा तथा बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ। फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो।  

लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको बताए। ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भने, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो। ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो।’

२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय नागरिक एवं नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए। प्रकाशक फाइनप्रिन्टका अजित बरालले पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डो¥याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको बताए।

यो कृति आत्मवृत्तान्त होइन, पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो। न्यारेसनका लागि जीवनयात्राको त्यान्द्रो समात्ने क्रममा अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन्। तर यो संस्मरणको पुस्तक होइन । जेजति निजी सन्दर्भ छन्, ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन्।

‘काठमाडौं मानसिकता’सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसङ्ग्रहका बेला राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन्। दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन्।

दोस्रो जुनीमा काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन्। सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश बनेका आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक। सँगै यो हाम्रो विकास यात्रा, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो।

१९९६ भदौमा काठमाडौंमा जन्मिएका पाण्डे २०१७ साल चैतमा तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०३६ साल फागुनमा अर्थसचिवबाट स्वेच्छाले राजीनामा दिएका र पछि अर्थमन्त्रीसमेत भएका विशिष्ट बुद्धिजीवी तथा चिन्तनशील लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गरेका छन्।

संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपिआइए) एवम् २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पिएचडी गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.