|

पर्वत : निर्माण डिजाइन र प्रविधि फेरिएसँगै अचेल गाउँमा समेत आधुनिक बन्ने क्रम बढिरहेको छ। परम्परागत नेपाली, त्यसमा पनि ढुंगाका छाना भएका घरहरू देख्न मुस्किल हुन थालेको छ।

तर, पर्वतको मोदी गाउँपालिका–८, चित्रेमा रहेका घरहरूले भने अहिलेको आधुनिकतालाई बिर्साइदिन्छन्।

होमस्टेका लागि जिल्लामै प्रख्यात रहेको चित्रेमा ढुंगाका छाना भएका नयाँ  तथा पुराना घरहरूले त्यहाँ पुग्ने धेरैको मन लोभ्याउँछ। होमस्टे समेत रहेका कारण र गाउँको वास्तविकता जीवन्त राख्न परम्परागत घरहरूको संरक्षण गर्दै नयाँ बन्ने घरका छाना पनि ढुंगाले नै छाउने गरिएको छ।

ढुंगा र खरको छानो भएका घर सुरक्षा र स्वास्थ्यका हिसाबले राम्रो मानिने भएका कारण उक्त गुरुङ बस्तीका प्राय सबै घरका छाना ढुंगाले नै छाइएको आफूले बुझेको पर्वत कटुवाचौपारी घर भई चित्रेको पञ्चकोशी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक मधुसुदन अधिकारी बताउँछन्।

ढुंगाका छाना भएका घर नेपालको लागि इतिहास र पुर्खाहरूको सम्पत्ति भएको उनको भनाई छ। त्यसमा पनि छाना छाउन लायकका ढुंगा चित्रेमा पाउँदा जस्तापाता भन्दा सस्तो पर्ने भएकोले गाउँलेहरूले ढुंगाकै छाना बनाउने गरेको अधिकारीले बताए।

‘छाउने ढुंगा स्थानीय स्तरमै पाउँदा लागत सस्तो पर्‍यो, गर्मीमा चिसो र चिसोमा तातो हुने भएका कारण पनि यहाँका मानिसहरूले घरका छानामा ढुंगा नै प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘होमस्टे भनेकै ग्रामीण परिवेश देखाउने कुरा हो, गाउँमा संस्कार र संस्कृति नै रहेन भने पर्यटकहरू किन आउने ? बजारका कङ्क्रिट घरमा बसेकाहरूलाई एकै रात भएपनि ढुङ्गे घरमा सुताउनु होमस्टेको आकर्षण हो।’ ढुङ्गे छाना भएका घर लोप हुन लागेको बेला नयाँ पुस्तालाई समेत जानकारी हुनसक्ने गरी चित्रेका घरहरूमा आकर्षण बढेको अधिकारी बताउँछन्।

चित्रेकै ७० वर्षीया मीनकुमारी गुरुङलाई त जस्ताले छाएको छानामुनि बस्नै मन लाग्दैन। जस्तापाताले छाएका घर पित्तल र ढुंगाले छाएका घरहरू सुनजस्तै भएकोले त्यो परम्परा छोड्न नहुने उनको भनाई छ। छाउने बेलामा टिलिक्क टल्किने जस्तापातामा केही वर्षभित्रै नै खिया लागेर कुरूप हुने, तर ढुंगाको आयु कल्पना नै गर्न नसकिने भएकोले आफ्ना बाजे-बज्यैका पालादेखि नै ढुंगाले छाना छाउने परम्परा रहेको मीनकुमारी बताउँछिन्।

‘सुन र पित्तलको तुलना कसरी गर्न सकिन्छ ? छाउने बेलामा टिलिक्क टल्किने जस्तापातामा केही वर्षमा नै खिया लागेर कुरूप हुन्छ, टिनका छाना पित्तल हुन, ढुंगाका छाना सुन हुन्,’ उनले भनिन्, ‘उहिल्यै हाम्रा पुर्खाहरूले नै ढुंगाले घर छाए। यस्ता घरमा बस्दा निकै तातो हुन्छ, चित्रेका सबैका घर यस्तै छन्।’

वडाध्यक्ष सुकबहादुर गुरुङका अनुसार बसाइँसराइ हुनुभन्दा पहिले झन्डै १३ सय घरहरू रहेको चित्रेमा अहिले ४ सय ४४ घर रहेका छन्। बसाइँ सरेर गएकाहरूले पनि पूराना घरहरू भने भत्काएका छैनन्। गाउँमा रहेकामध्ये ९९ प्रतिशत घरका छाना ढुंगाले छाइएका थिए।

तर, २०७२ सालको भूकम्पका कारण भत्किएका घरका छाना भने जस्ता पाताले छाइएको छ। भूकम्पले भत्किएपछि पुन:निर्माण क्रममा बनेका घरहरूमा बाहेक सबै घरहरूमा अहिले पनि ढुंगाको छाना रहनु चित्रेको गहना भएको उनको भनाई छ।

‘यहाँका ९९ प्रतिशत घरका छाना ढुंगाले नै छाइएका छन्, होमस्टेमा आउने पर्यटकहरूले पनि ढुंगाले छाएका घरहरूलाई निकै मन पराउनुहुन्छ, फोटो खिचेर लैजानुहुन्छ,’ वडाध्यक्ष गुरुङ भन्छन्, ‘भूकम्पले भत्किएका र चर्किएका घरहरूको पुन निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन जस्तापाताले नै छाउने भनी माथिबाट आएको आदेश भनेर पुन निर्माण कार्यालयले ढुंगा हाल्न दिएन, तर ती बाहेक अरू सबै घरमा ढुंगाकै छाना छन्।’

गाउँमा एउटा मात्र घरमा खरको छाना छ। निकै वर्ष पहिले बनेको उक्त घुमाउने घरलाई संरक्षण गरेर राखिएको छ भने त्यसको अस्तित्व जोगाउन खरले नै छाउने गरिएको छ।

पछिल्लो समयमा आम्दानी बढ्दै जाँदा गाउँमा समेत सिमेन्ट र बालुवाबाट बनाइने पक्की घर बन्दा ढुङ्गे घरहरू लोप हुँदै जान लाग्नु दुःखद भएको वडाध्यक्ष गुरुङको भनाई छ।

पछिल्लो समय घर छाउने ढुंगाको अभाव हुँदै जानु, त्यससम्बन्धी काम गर्ने जनशक्ति अभाव हुनु, ढुंगा खानी नै लोप हुनु तथा भेटिएपनि लामो दूरीबाट मान्छे लगाएर बोक्नुपर्ने लगायतका कारण ढुंगाले छाना छाउने परम्परा हराउँदै गएको छ।

गर्मीमा शीतलता र जाडोमा न्यानोपन हुने, हावाहुरी तथा आगलागीबाट पनि सुरक्षित हुने लगायतका कारणले पहिलेका घरका छानाहरू ढुंगाले छाउने गरिएको भए पनि सजिलो र छरितो कामका लागि आजभोलि जस्तापाताको प्रयोग हुने गरेको छ।

केही वर्ष पहिलेसम्म जिल्लाका ग्रामीण क्षेत्रमा रहेका घरहरूमा ढुंगाले छाएको देख्ने गरिएको भए पनि गाउँ-गाउँमा सडक विस्तार भएर सामान आयात गर्न सजिलो भएपछि जस्तापाताले ढुङ्गे छानालाई विस्थापित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.