|

झापा : झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा बिओपी स्थापना गरिएको हो।

उक्त अस्थायी बिओपीको आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन्। 

यस वर्ष झापाका पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी तीनवटा नयाँ बिओपी स्थापना भइसकेको डिआइजी दाहालले जानकारी दिए। उनका अनुसार हाल देशभर ११४ वटा बिओपी रहेको छ। सरकारको सीमा सुरक्षा योजना बमोजिम चालु आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पुर्याउने लक्ष्य राखेको छ।

देशभर हालसम्म २०० वटा बिओपी स्थापना भइसकेकोमा बताउँदै डिआइजी दाहालले भने,  ‘प्रदेश १ मा ५० वटा बिओपी पुर्याउनेलक्ष्य छ।’ प्रदेश १ मा अहिले ४२ वटा बिओपी स्थापना भइसकेको छ। आठवटा स्थापना गर्ने क्रममा रहेको दाहालले बताए। बाँकी सबै बिओपी झापामा स्थापना गरिने उनको भनाइ छ।

प्रजिअ तिमिल्सिनाले झापाको १४४ दशमलब २ किलोमिटर खुला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बिओपीले सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए। तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थ पाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए।

भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिन मेची पुलपारि भद्रपुर नगरपालिका कार्यालयले एक बिघा जग्गा दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए। बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको उनको भनाई छ  

मलामी विश्राम भवनमा सशस्त्र प्रहरी

मेची नदीमा दाहसंस्कार गर्न जाने मलामीलाई लक्षित गरी नगरवासीहरूबाट संकलित लाखौँ रुपैयाँको लागतमा निर्माण गरिएको सार्वजनिक मलामी विश्राम भवन लामो समयदेखि प्रयोगविहीन अवस्था थियो।

२०६४ सालमा भद्रपुरका उद्योगी पशुराम अग्रवालको संयोजकत्वमा मलामी भवन निर्माण समिति गठन गरी भवन निर्माण गरिएको थियो। लगभग १३ लाख ९५ हजार रुपैयाँ लागतमा १४ वर्षअघि निर्माण भएको एक तले भवन प्रयोगविहीन बनेपछि सशस्त्र प्रहरीले त्यसलाई प्रयोगमा ल्याएको हो।

कोरोना भाइरस संक्रमणको महामारीपछि सरकारले सीमा नाका बन्द गराएपछि सशस्त्र प्रहरीले त्यही मौका छोपी सो भवन प्रयोगमा ल्याएको हो। बेवारिसे अवस्थामा रहेको भवनलाई सशस्त्र प्रहरीले मर्मत सम्भारसँगै खानेपानी, बिजुली जडान गरी प्रयोगमा ल्याएको बताइएको छ।

प्रयोगमा ल्याएको भवनमा स्थापना गरिएको बिओपीमा २७ जना सशस्त्रको दरबन्दी रहेको प्रहरी निरीक्षक विभुराज दाहालले बताए। २७ जनामध्ये ६ जना भन्सार कार्यालय, ६ जना देवीवस्तीमा रहेको अस्थायी पोस्ट र १५ जना बिओपी खटिने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.