जनताको नाममा राजनीति, सकडमा आएर नागरिकलाई नै अवरोध

|

काठमाडौं : उपत्यकाको सबैभन्दा ठूलो समस्या सवारी जाम तथा ट्राफिक समस्या छ। सानो सभा-सम्मेलन हुनासाथ काठमाडौंका सडकमा सवारीसाधनको जाम हुन्छ। त्यसो त अझ दिनहुँको सभा सम्मेलनले सवारीसाधनको जामले गन्तव्यमा पुग्न घण्टौं समय लाग्ने गर्छ।

काठमाडौंमा स्थानको अभाव हुँदा विरोधको पहिलो स्वर निकाल्ने ठाउँको रुपमा लिइन्छ माइतीघरलाई। तर, ठाउँ साँघुरो भएको र ठूलो संख्यामा मानिसको उपस्थित हुँदा त्यहाँ मानिसलाई असहज अवस्था हुने भएकोले भृकुटीमण्डपमा सभा सम्मेलन गर्न थालेका छन्।

पछिल्लो समय सबैभन्दा बढी सरकारमा रहेको नेकपाको ओली पक्ष र प्रचण्ड माधव पक्षले विरोध गरिरहेका छन्। दुवै समूहको शक्ति प्रदर्शनले सडक कब्जा गर्ने होडबाजीले र सर्वसाधारण नागरिकले दुःख पाइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे। प्रतिनिधि सभा विघटन पश्चात दैनिकजसो विभिन्न राजनीतिक दल, नागरिक समूहका नाममा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन, सभा र सम्मेलनले नागरिकको स्वतः स्फूर्त रुपमा हिँड्न पाउने तथा व्यापार व्यवसायमा अवरोध हुने गरेको छ।

सरकार पक्ष नेकपाको ओली समूहले यहीँ माघ २३ गते नारायण हिटी संग्रहालय अगाडि सभा गर्ने भएको छ। उक्त दिन त्यस क्षेत्रमा सवारीसाधन निर्वाध रुपमा सञ्चालन हुन नपाउने र सर्वसाधारणलाई आवतजावतमा समस्या हुनेजस्तो देखिएको छ।

'सभा जुलुस गरेपनि अरुको अधिकार नखोसियोस्'

सडक अवरोध गरेर सभा-सम्मेलन गर्न पाइन्छ भन्ने थाहाखबरको प्रश्नमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली भन्छन,' राजनीतिक दलले सभा सम्मेलन गर्न नपाउने भन्ने त हुदैन। तर, जुलुस र सभाले मानिसको आवतजावत गर्ने अधिकार खोसिनु हुँदैन।' पछिल्लो समय सडक अवरुद्ध गरेर प्रदर्शन तथा विरोध गर्ने घटना बढ्दै गइरहेको छ।

माघ २३ गते सडक अवरोध गर्ने गरी प्रदर्शन हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। पराजुलीले भने, 'हामीलाई प्रदर्शन गर्न माग पत्र आएपछि नागरिकको स्वतन्त्र रुपमा हिँड्न पाउने अधिकार हनन नगर्नलाई भन्ने छौं। वैकल्पिक स्थान खोज्न आग्रह गरिन्छ।'

राजनीतिक दलको अगाडि प्रशासन कमजोर भएको जस्तो पनि देखिएको उनी स्वीकार्छन्। काठमाडौंमा दिनहुँ भइरहेको प्रदर्शनलाई लिएर गृह मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी दिए। काठमाडौंमा हुने प्रदर्शन तथा विरोधका लागि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनुपर्ने हुन्छ। 

'हाम्रो काम नागरिकको सुरक्षा गर्ने हो'

विभिन्न माग राखी विरोध जुलुस गर्न पाउने नागरिकको अधिकार रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्ट बताउँछन्। 'कतिपय अवस्थामा आफ्ना माग राख्दा अरुको अधिकार हुने गर्छ हामीले सुरक्षाको व्यवस्था गर्ने काम गर्छौं,' उनले भने, 'प्रक्रिया पुर्‍याएर आएका विभिन्न माग राखी वा सम्बन्धित निकायमा अनुमति लिएर आएका मानिसलाई हामीले अवरोध गर्न मिल्दैन।'

आन्दोलन कसरी गर्ने त्यसको व्यवस्थापन र अनुमति दिने काम जिल्ला प्रशासन कार्यालयको रहेको हुनाले प्रहरीको काम सुरक्षा दिने मात्र रहेको उनले बताए। माघ २३ गते हुने कार्यक्रमका लागि सार्वजनिक यातायातका लागि वैकल्पिक  रुट खोज्ने काम भइरहेको उनको भनाइ छ।

'दरबार मार्गबाट थोरै सवारीसाधन चल्ने भएकोले छनोट गर्‍यौं'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका बागमती प्रदेशका संयोजक आनन्द पोख्रेलका अनुसार नारायणहिटी अगाडिको स्थानलाई छनोट गर्नुको मुख्य कारण त्यो बाटोमा सवारी साधनको चाप अत्यन्त न्युन हुनेगर्छ।

उनले भने,' दरबार मार्गको बाटोबाट थोरै सवारीसाधन सञ्चालन हुन्छ। यो रुटबाट सञ्चालित यातायातका साधनलाई अन्य रुटबाट सार्वजनिक यातायातलाई सहजै सञ्चालन गर्न सकिन्छ। जनतालाई सहज होस भन्नको लागि हामीले त्यो बाटो छनोट गरिएको हो।'

रत्नपार्क र भृकुटीमण्डपमा ३० हजार मानिस अट्ने भएकोले र दरबारमार्गमा २ लाख मानिस रहन सक्ने स्थान भएकोले उपयुक्त ठाउँ छनोट गरिएको नेता पोख्रेलले जानकारी दिए।

पोख्रेलले भने, 'जनतालाई सुविधा प्रदान गर्न दरबार मार्ग छनोट गरिएको हो। हरेक सवारीसाधनको अन्तिम गन्तव्य रत्नपार्क हो। तर, त्यहाँबाट बढी जाँदैन, त्यसैले पनि त्यस स्थान सभा गर्न उपयुक्त रहेको छ।'

नारायणहिटी हामीले केही कुरा सुनाउन चाहेको उनले बताए। उनले भने, 'संसद विघटनसम्बन्धी केही भ्रम छन्। सरकारले गरेका राम्रा काम, निर्वाचन गराउन तयार छौ। निर्वाचनमा जानुपर्छ भनेर र नेकपा नयाँ पार्टी बन्ने चरणमा रहेकोले यस्ता सबै कुरा सुनाउनु छ।'

सडकमा सभा गरेर जनतालाई दुःख दिने कुनै चाहना नरहेको उनको भनाइ छ। हामीले जनताको नाममा राजनीति गरेको हौ यहीँ कुरा बुझाउन सडकलाई प्रयोगलाई प्रयोग गर्दै आइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.