अमेरिकाबाट शुरू भएको ‘ब्ल्याक लाइभ्स् म्याटर’ अभियान सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएको छ।
नर्वेका प्रतिनिधिसभा सदस्य पिटर इडीले ‘जातीय भेदभाव र हिंसाविरुद्ध उक्त अभियानले विश्वस्तरमा गरेको संघर्षको कदर गर्दै’ पुरस्कारको लागि मनोनयन गरेका हुन्।
नर्वेमा राष्ट्रिय स्तरमा सेवारत् राजनीतिज्ञले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन दर्ता गराउन पाउँछन्। त्यसका लागि मनोनयनकर्ताले दुई हजार शब्दमा आफ्नो मनोनयनबारे व्याख्या गर्नुपर्छ। उक्त अभियान विश्वभर सकारात्मक सन्देश छर्न सफल देखिएको इडीले बताए।
गत वर्षको मे महिनामा अमेरिकी प्रहरीद्वारा जर्ज फ्लोयड नाममा अश्वेत नागरिक मारिएपछि संसारभर ‘ब्ल्याक लाइभ्स् म्याटर’ अभियान उत्कर्षमा पुगेको थियो। सन् २०१२ मा अमेरिकाकै फ्लोरिडा राज्यमा गोलाबारीमा परी ट्रायोभन मार्टिन नाममा नागरिकको मृत्यु भएपछि यससम्बन्धी ह्यास्ट्याग सुरू भएको थियो।
प्रहरीले अश्वेत नागरिकमाथि गर्ने अन्यायपूर्ण व्यवहारप्रति समाजले देखाएको प्रतिक्रियालाई संगठित रूपमा प्रस्तुत गरेकाले अभियानको महत्व बढेको हो। अहिले संसारभर थरिथरी नाम र ब्यानरमा यो अभियान सञ्चालित छ। ‘वुमन्स लाइभ्स् म्याटर’ र ‘दलित लाइभ्स् म्याटर’ जस्ता अभियान यही अभियानबाट प्रेरित हुन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगले अभियानलाई झनै व्यापक बनाइदिएको छ।
‘नोबेल पुरस्कार समितिले जहिल्यै सामाजिक न्याय र शान्तिलाई महत्व दिएको छ‚ ’इडीले भने‚ ‘ब्ल्याक लाइभ्स् म्याटर अभियानले नागरिक अधिकारसम्बन्धी अभियानको विरासत बोकेकाले मनोनयन गरिएको हो।’
सन् २००० मा एमनेस्टी इन्टरनेशनल नर्वेको महासचिव रहेका इडीले ब्ल्याक लाइभ्स् म्याटर अभियान ‘हिंस्रक संगठन भएकाले पुरस्कृत गर्न नहुने’ आशयका इमेलहरू पनि प्राप्त गरेका छन्। ‘म सबै किसिमका हिंसाको विरोधी हुँ। तर‚ मार्टिन लुथर किङले सन् १९६४ मा पुरस्कार पाउँदा होस् वा मण्डेलाले सन् १९९३ मा पाउँदा होस् : उनीहरूलाई पनि यस्तै आरोप लाग्थ्यो’‚ उनी भन्छन्‚ ‘यो उति बलियो तर्क होइन, कहिँकतै अभियानमा हिंसा घुसेको रहेछ भनेपनि सिंगो अभियानलाई दोष लगाउनु हुँदैन।’
एक सर्वेक्षण अनुसार जर्ज फ्लोयडको मृत्युपछि भएका प्रदर्शनमध्ये ९३ प्रतिशत कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक थिए।
मनोनयन दर्ता गर्ने समय सोमबारबाट सकिएको छ। आउँदो अक्टोबरमा मात्रै विजेताको नाम घोषणा गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।