|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल–प्रचण्डको गृहजिल्ला चितवनमा आम हड्तालको सामान्य प्रभाव परेको छ। नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालका कारण आज  जिल्लाका मुख्य बजार क्षेत्रहरुमा पसलहरु बन्द छन् भने, सार्वजनिक गाडीहरु चल्न सकेका छैनन्।

सडकमा मोटरसाइकल र अटो छिटफुट चलेका छन्। पुलचोक भएर पूर्व–पश्चिम जाने मालबाहक गाडीहरु नारायणी पुल र मेन रोडमा रोकिएका छन्। यात्रु बहाक बसहरु चलेका छैनन्। प्रचण्ड–माधव समूहका जिल्ला नेता तथा कार्यकर्ताहरु बिहानै देखि नारायणगढ पुलचोकमा उपस्थित भएर गाडीहरु चल्न दिएका छैनन्। 

नेकपाकी केन्द्रीय सदस्य एंव भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेकपा चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसद घनश्याम दाहाल लगायतका नेताहरु बन्द सफल बनाउन सहभागि छन्। 

जिल्लामा हालसम्म प्रचण्ड–माधव समूहका कार्यकर्ताहरुले पाँच वटा सवारी साधनहरुमा ढुंगा हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आँपटारी–मुग्लिन सडक अन्तर्गतको भतेरीमा चार वटा र मिलनचोकमा एउटा ट्रकमा ढुंगा हानिएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए। 

मोटरसाइकलमा गएका कार्यकर्ताहरुले ट्रकको अगाडीको सिसामा ढुंगा हानेको उनले बताए। ढुंगा हान्ने कोहि पनि पक्राउ परिसकेका छैनन्। चोक–चोकमा प्रहरी तैनाथ गरिएको छ। भित्री क्षेत्रहरुमा भने पसलहरु निर्वाध खुलेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.