डिआइजीको टोली पनि घटनास्थलमा

|

बैतडी : दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा तीन दिन शैक्षिक हड्ताल गरिएको छ।। विद्यालयबाट घर फर्किरहेको बेला भागरथीको बाटोमा हत्या भएको थियो।

अपराधीलाई कारबाहीको माग गर्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन्। सोही समितिले आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरेको समितिका सदस्य भुवन कार्कीले जानकारी दिए। तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने समितिले निर्णय गरेको छ।

गाउँपालिकाका सबै विद्यालय बन्द रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेब नाथले जानकारी दिए। विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको उनको भनाइ छ।

संघर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र  माघ २९ गते  आम हड्ताल गर्ने घोषणा गरेको छ। यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घरनजिकै रहेको लबलेक जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो।  उनको शनिबार शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ। अस्पताल स्रोतले  भने बलात्कारपछि हत्या भएको बताएको छ। आफन्तले जिल्ला अस्पतालमा रहेको शव जिम्मा लिएको छैन।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव जिम्मा नलिएको भागरथीका काका शिवराज भट्टले बताए। ‘दोषी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं,’ उनले भने, ‘घटना भएको चार दिन बितिसक्दा हत्यारा पत्ता लागेको छैन्, भागरथीको न्यायकै लागि शव नबुझेका हौं।’

थप अनुसन्धानका लागि घटनास्थलमा डिआइजी 

घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेको छ।  घटनालाई गम्भीरतापूर्वक लिएकाले थप अनुसन्धानका लागि सुवेदीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरिक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पगेर अध्ययन गरिररहेको छ। यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।

भागरथीको शव पोष्टमार्टमअघि नै भेजाइनल स्वाब संकलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। यसैगरी अन्य आवश्यक प्रमाणहरू पनि संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ छ। 

‘घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागिपरेको छ,’ उनले भने, ‘घटनामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौं।’ किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ। भागरथी सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत थिइन्।  

एक ठाउँमा राजनीतिक दल

भागरथीको न्यायका लागि बैतडीका राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन्। सबै राजनीतिक दलहरुले हत्यारालाई पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ। अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ। यस्तै, नेकपाकै प्रचण्ड–माधव समूहका सचिव प्रेमप्रकाश भट्टले विज्ञप्ती  जारी गर्दै सरकारले घटनाको सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गरेका छन्।

नेपाली कांग्रेसले पनि घटना संवेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाई सार्वजनिक गर्न अपिल गरेको छ। जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने माग गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले पनि एक विज्ञप्ती जारी गर्दै दोषी पत्ता लगाउन माग गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.