जन्मदिन र श्राद्धमा दान गर्नेहरू बढ्दै

|

पर्वत : कुस्मा नगरपालिका–२ खुर्कोट निवासी शेषराज रेग्मीका बुबा आनन्दराजको गत माघ ११ गते श्राद्ध थियो। बुबाको श्राद्ध गर्दै गर्दा शेषराजलाई लाग्यो-पिण्डमा तर्पणसँगै कसैलाई भलो गर्न पाए बुबाको आत्माले शान्ति पाउने थियो।

भलाइको कामको लागि उनले पर्वत अस्पतालको गरिब तथा असहाय लक्षित विपद् कोषलाई सम्झिए। सदरमुकाम आएर उक्त कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरे।

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका खुर्कोटकै चन्द्र क्षेत्रीले पनि आफ्ना छोराको जन्मदिनको अवसर पारेर उक्त कोषमा १० हजार रुपैयाँ जम्मा गरे।

जन्मदिनमा खुसी साट्न हजारौँ रुपैयाँ खर्च गर्नुभन्दा सामाजिक काममा सहयोग गर्दा अरू धेरैलाई फाइदा पुग्ने भएकोले क्षेत्रीले कोरियाबाटै कोषमा रकम जम्मा गरेको बताए।

शेषराज र चन्द्र जस्तै पर्वतका धेरैले श्राद्ध, जन्मदिन वा अन्य विशेष अवसरमा सहयोग गर्नको लागि अस्पतालको विपद् कोषलाई नै सम्झिने गरेका छन्। यही कारण अभियान शुरू गरेपछि अहिलेसम्म कोषमा २२ लाख रुपैयाँ भन्दा बढी जम्मा भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

‘अहिले पुण्यको काम गर्नको लागि सबैले यही कोषलाई सम्झिन थाल्नुभएको छ। श्राद्ध होस वा जन्मदिन-सक्दो सहयोग जुटेर नै कोषमा २२ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ,’ उनले भने, ‘यो कोष शुरू गरेर यति धेरै पैसा जम्मा पार्ने गण्डकी प्रदेशमा सायद हामी नै हौँ, प्रदेशले पनि यस अभियानलाई विशेष धन्यवाद दिएको छ।’

जन्मदिन वा अन्य उत्सवमा रमाइलो गरेर हजारौँ रुपैयाँ फजुल खर्च गर्नुभन्दा त्यसलाई जोगाएर सामाजिक कार्यमा लगाउँदा प्राप्त गरिने आत्मसन्तुष्टि नै फरक हुने भएकोले कोषमा रकम जम्मा गरेको सहयोगदाताहरू बताउँछन्।

नयाँ पुस्तामा सहयोगी भावनाको विकास गराउनको लागि पनि विशेष अवसरमा सहयोग गर्ने बानी बसाल्नमा बुबाको श्राद्धमा कोषमा रकम जम्मा गरेको शेषराजको भनाई छ। ‘जीवनमा दान गरेमा पनि पुण्य मिल्छ भन्ने छ। पिण्डमा तर्पण दिनुको साथै समस्यामा परेका कोहीलाई सहयोग गर्न पाए बुबाको आत्मले शान्ति पाउने थियो भन्ने लाग्यो,’ शेषराजले भने, ‘एउटा व्यक्तिलाई पैसा दिनुभन्दा अस्पतालको विपद् कोषमा हाल्न पाए पैसा नभएर प्राण गुमाउने अवस्थामा पुगेकाहरूको जीवन बाँच्न सक्छ। यसले धेरैलाई फाइदा पुग्छ। पछिल्लो पुस्तामा सहयोगी भावनाको विकास पनि हुन्छ।’  

उक्त कोषमा जम्मा भएको रकमबाट आफन्त नभएका, गरिबीको समस्यामा रहेका, बेवारिस बिरामी लगायतको उपचार गरिने अध्यक्ष पहाडीले बताए। उक्त कोषबाट अहिलेसम्म पाँच जनालाई सहयोग गरिएको छ।

कोष शुरू भएको एक वर्षको अवधिमा रकम जम्मा गर्ने अभियान थालिएको र अब कार्यविधि तयार पारेर उक्त कोषलाई प्रयोगमा ल्याइने अध्यक्ष पहाडीको भनाई छ।

यसरी जन्मियो विपद् कोष

२०७६ सालको चैत महिनामा खुर्कोटकै खाल्टाकी पुतली दर्जीले पर्वत अस्पतालमा बच्चा जन्माइन्‌। सरकारले सुत्केरी महिलालाई दिने सुविधा बाहेक उनको अन्य खर्च पाँच हजार दुई सय रुपैयाँ आएको थियो।

अस्पतालबाट डिस्चार्ज हुने दिनमा उनको साथमा पैसा नभएपछि पुतलीका श्रीमान् पैसा खोज्न बिहान आठ बजे गाउँमा पुगेको भए पनि दिउसो दुई बजेसम्म पनि फर्किएनन्।

पुतलीको परिवारको आर्थिक अवस्थाका बारेमा जानकार अध्यक्ष पहाडीले उनीहरूलाई घरमा पुर्‍याउनको लागि आफ्नो निजी गाडी दिएका थिए। उनी पुनः अस्पतालमा आउँदा गाडी त्यहीँ थियो, पुतली काखमा बच्चा लिएर पिलपिल गर्दै रोइरहेको अवस्थामा थिइन्। घर नभएको कारण थियो पैसा नभएका कारण क्यान्टिन, फेन्सी पसल र अस्पतालको बिल तिर्न नसक्नु!

पुतलीको यो अवस्था देखेपछि अध्यक्ष पहाडीले सरकारले दिएको सुविधाले मात्रै बच्चा जन्माउन सक्ने अवस्थासम्म नरहेको बेलामा गरिब, असहाय तथा बेवारिस बिरामीले कसरी बाँच्न सक्लान् भन्न चिन्ता लाग्यो। त्यही घटनाबाट प्रेरित भएर सामाजिक सञ्जाल फेसबुकबाट विपद् कोषमा सहयोग गर्न आह्वान गरिएपछि अभियानले सार्थकता पाएको हो।

‘त्यो बेलामा पुतलीको अवस्था यस्तो थियो कि अहिले मैले शब्दमा बोलेर उहाँको पीडा देखिँदैन। नवजात बच्चा काखमा लिएर रुँदै गरेकी आमा, पैसा खोज्न गएका श्रीमान् नआएको अवस्थामा उनको मनमा के भएको थियो होला ?’ पहाडीले भने, ‘मान्छेलाई न्याय गर्न, धर्म गर्न, भगवानको आशीर्वाद लिन एउटा अभियान थाल्न मन लागेर कोषको घोषणा गरियो। अहिलेसम्म २२ लाख रुपैयाँभन्दा बढी रकम उठेको छ। बोलेकामध्ये केहीको पैसा भने आउन बाँकी छ।’

यो कोषमा सहयोग गर्नेहरूको सङ्ख्या हालसम्म करिब ८० जना पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.