|

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको १ सय २१ बिघा क्षेत्रफलको पोखरीको काम अन्तिम चरणमा पुगेको छ।

जिल्लाको उत्तर पश्चिम क्षेत्रअन्तर्गत सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती किनारमा रहेको पोखरी नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रूपमा सुरु गरिएको गौरवको आयोजना पोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको बागमती नगरपालिका कार्यालयले जनाएको छ।

पोखरीको माध्यमबाट नगरको आर्थिक समृद्धिंसगै पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको नगरपालिकाले जनाएको छ। माघ दोस्रो हप्ताबाट पानी भर्न सुरुभएको पोखरीमा पानी भरिएसगै अवलोकन गर्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको छ। पोखरीमा बागमती खोलाको पानी हाल्ने काम भैरहेको छ।

बागमती नदीको उकास जग्गामा देशकै ठूलो मानवनिर्मित पोखरी बनाउने योजनासहित गत वर्षबाट निर्माण सुरु भएको थियो। नगरको योजनाअनुसार पोखरीलाई चारैतिरबाट पर्खालले घेरिएको छ।



निर्माणको लागि डिजाइन, पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए। अब दोस्रो र तेस्रो चरण अन्तरगतको (फिनिसिङ) सौन्दर्यकरणको काम सुरु भएको उनको भनाइ छ। दीर्घकालीन नगरको मुख्य आयस्रोतको रुपमा समेत प्रयोग हुने गरी पोखरीको परिकल्पना गरिएको मेयर थापाले दाबी गरेका छन्। पोखरी देशकै नमुना बन्नेका मेयर थापा ढुक्क देखिन्छन्।

१२१ बिघा क्षेत्रफलको मानवनिर्मित यो पोखरी देशमै विशाल पोखरी बन्ने नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले दाबी गरिन्। पोखरीमा माछा पालन सगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको छ। पोखरीकोमा बोटिङ स्विमिङ, सँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुने उल्लेख छ। पुर्व पश्चिम लोकमार्ग कर्मैयाबाट २ किलोमिटर दक्षिणमा रहेको पोखरी अन्य गन्तव्‍यमा हिँडेका पर्यटकका लागि समेत विश्रामस्थल र स्थानीय स्तरमा रोजगारी, वातावरण शुद्धीकरण तथा जलचर प्राणीको संरक्षणसमेत रहेको उपप्रमुख मोक्तानको भनाइ छ।

स्थानीय, प्रदेश र केन्द्र सरकार तथा अन्य निकायबाट समेत आर्थिक सहयोगमा निर्माण भएको पोखरीको हालसम्म २५ करोड लगानी भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले जनाएको छ। पोखरी निर्माण सम्पन्न गर्नका लागि ६० करोडको हाराहारीमा लागानी लाग्ने अनुमान रहेको छ।

अधिकृत पोखरेलका अनुसार नगरपालिकाले गरेको प्रक्षेपणअनुसार उक्त पोखरीबाट नगरले बर्सेनि २० करोडको  हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखेको छ।

अहिले पोखरीमा पानी भरिएसगै त्यसको अवस्थाको बारेमा निरीक्षण गर्ने कार्य भैरहेको छ। पोखरीमा भरिएको पानीको मात्रा जमिनमा कुन मात्रामा सोसियको छ,जमिनको कुनै अवस्थामा आएको परिवर्तन समेत प्राविधिकहरुले निरीक्षण गर्ने काम भैरहेको नगरका सव ईन्जिनियर सुजन बडालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.