|

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सिंगो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताएका छन्। कांग्रेसले आज सदरमुकामस्थित गोठलापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको लेखकले बताए। 

प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरूले अहिले आन्दोलन नगरेको उनले खुलाए। 'केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ,' उनले भने, ‘यसअघि माननीय गृहमन्त्रीज्यूलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौं, उहाँले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभएको छ।’

नेता लेखकले घटनाको अनुसन्धानका लागि प्रहरी र प्रशासनलाई हालसम्म आफूहरूले सहयोग गरेको दाबी गरे। भने, ‘सरकारप्रति विश्वास छ, प्रहरीले छिट्टै हत्यारा पत्ता लाग्नेमा विश्वस्त छौं, भागरथीको हत्यारालाई तत्काल सार्वजनिक गर्न कांग्रेसको माग छ।’

प्रहरीलाई कांग्रेसले गरेको सहयोग र कांग्रेसले गरेको धैर्यतालाई कमजोरीका रुपमा नलिन उनले आग्रहसमेत गरे। भने, ‘निर्मलाको पन्तको जस्तो स्थिति फेरि भागरथी भट्टमा दोहिरियो भने नेपाली कांग्रेस चुप लागेर बस्ने छैन, यसका लागि सरकार जवाफदेही हुनेछ, जिम्मेवार हुनेछ, यो चेतावनी दिन चाहन्छु।’

एक फरक प्रसंगमा उनले नेकपा नेतृत्वको सरकारले देशको दुर्दसा भएको बताए। कांग्रेस नेतृत्वले बनाएको संविधानलाई कुल्चिँदै केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका उनले बताए।

प्रतिनिधिसभा विघटन हुनु असंवैधानिक, अलोकतान्त्रिक नेपाल कम्युनिष्ट पार्टीको अधिनायकवादी, निरंकुशतवादी, तानाशाहीवादी चेतना र चेन्तनबाट प्रेरित निन्दनीय घटना हो।’  

कांग्रेसले जिम्मेवार प्रतिपक्षको जिम्मेवारी निभाएको भन्दै उनले कम्युनिष्ट सरकारले आफूले काम गर्न नपाएको भने पनि कांग्रेसले ३ वर्षसम्म १ दिन नेपाल बन्द, चक्काजामसमेत नगरेको दाबी गरे।  उनले भने, ‘कांग्रेसले जिते देशले जित्छ, कम्युनिष्टले जिते,देश हार्छ।’

माघव–प्रचण्ड समूह संयुक्त आन्दोलनको लागि आग्रह गरिरहेका भए पनि आफूहरू संयुक्त आन्दोलनको पक्षमा नरहेको उनको भनाइ थियो। 'संविधान भत्काउने नेकपासँग मिलेर संयुक्त आन्दोलन गर्न सकिँदैन,' उनले भने, ‘नेपाली कांग्रेस आफैं आन्दोलन गर्छ,' आफैं जनतामाझ जान्छौं।’ 

गत माघ २१ गत विद्यालयबाट घर फर्किएको बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्ट माघ २२ गते साँझ स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्। 

घटनापश्चात नेपाली कांग्रेसले रमेश लेखकलाई घटनाको सत्यतथ्य बुझेर पार्टीलाई प्रतिवेदन बुझाउन प्रतिनिधिका रुपमा खटाएको थियो। नेता लेखकले यसअघि भागरथीको शव भेटिएको स्थान अवलोकन , परिवारसँग भेटघाटसँगै २ लाख सहयोग, प्रहरी अनुसन्धानमा खटिएका प्रहरी अधिकृत, जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तासँग छलफल पनि गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.