|

बैतडी : बैतडीको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा चिकित्सक आएका छन्।

केन्द्रले डेढ वर्षपछि चिकित्सक पाएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन्‌। एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले समस्या खेपिरहेका थिए।

नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना चिकित्सक प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने गरेर छनौट भएका हुन्। उनले भनिन्, ‘नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ, हामीले नगरपालिकाबाट पनि थप पारिश्रमिक दिने गरेर डाक्टर नियुक्त गरेका हौं।’ अबका दिनमा प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा सहज हुने विश्वास छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सुनिलसिंह पूजारा छनौट भएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। डाक्टर पुजाराले सेवा शुरू गरिसकेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, पोष्टमार्टम लगायतका सेवाहरू सञ्चालन हुनेछन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमाको पनि सूचीकृत संस्था भएकाले डाक्टरको अभावमा बीमितहरूले सेवा पाउन कठिनाइ भोगिरहेका थिए। अब डाक्टर आएपछि उपलब्ध सबै सेवाप्रवाह गरिने जनाइएको छ।

जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलाबेलामा चिकित्सकको अभाव हुने गरेको छ। अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि अब तल्लोसोराडबासीलाई सजिलो हुने स्थानीय सुरत पार्कीको बताए। उनले भने, ‘लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएका छन्, अब उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको करिब १६ वर्षपछि (दुई वर्ष पहिले) डाक्टर आएका थिए। त्यसयता हेल्थ असिष्टेन्टकै भरमा स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.