नेता ढुंगाना भन्छन् : वैशाख १७ र २७ गते निर्वाचन नभए देश अन्धकारमा जान्छ

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले संसद् विघटनविरुद्ध कांग्रेसले (भोलि)बुधबार थप रणनीति तय गर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पनि कांग्रेस आन्दोलनमै रहेकाले बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थप रणनीति तय गर्ने बताए।

उनले भने, 'नेपाली जनताको अधिकारसम्पन्न सर्वोच्च संस्था संसद् विघटन गलत हो, कुनै पनि तानाशाहले गर्न खोज्यो भने कांग्रेसले छाड्दैन।’ अहिलेको जटिल परिस्थितिमा कांग्रेसको आन्दोलनलाई अन्तर्राष्ट्रिय शक्तिले पनि हेरिरहेकाले पार्टीले मूल्यांकन गरिरहेको पनि बताए।

त्यसैगरी उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारमा जाने विश्लेषणसमेत गरेका छन्। ‘देश अस्थिरता र अन्धकारमा जाने कुरा, त्यसको जिम्मेवारी कसले बोक्ने? अहिलेको परिस्थिति जटिल परिस्थिति हो, हामीले मूल्यांकन गरिरहेका छौँ।’

उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘अब कम्युनिष्टलाई हामी भएको भए यसो गर्दथ्यौं भन्न सुहाउँदैन​।’

नेता ढुंगानाले विगतमा राजनीतिक अस्थिरता भयो भनेर आफूहरूले प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने गरी संविधानमा व्यवस्था गरेको भए पनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिदिएको बताए।

‘नेकपाको आन्तरिक झगडाको कारणले संसद भंग गर्न पाइँदैन, देशलाई बन्धक बनाउन पाइँदैन, अब अस्थिरता नहोस्, संसद भंग नहोस् भनेर संविधानमा कहीँ पनि संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन,' उनले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.