|

पर्वत : पोखरामा भइरहेको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलतर्फका खेलहरू पूरा भएका छन्।

शुक्रवार भएको महिला तर्फको खेलबाट तनहुँ र कास्की जिल्ला बाहिरिएका छन्। पोखरा रङ्गशालामा भएको सेमिफाइनलको खेलबाट फाइनलको लागि म्याग्दी र पर्वत छनोट भएका छन्।

आयोजक कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीका अनुसार म्याग्दी र तनहुँ जिल्लाबिच भएको प्रतिस्पर्धामा तनहुँ पराजित भएको छ। बेस्ट अफ फाइभको आधारमा भएको खेलामा म्याग्दीले तनहुँमाथि २५–११, २५–१९ र २५–१३ को जीत निकालेको हो। यस्तै अर्को खेलमा पर्वतले कास्कीलाई पराजित गरेको छ। पर्वतले कास्कीमाथि २५–१५, २५–२३ र २५–१२ को सेटमा हराएको हो। म्याग्दी र पर्वत बिचको फाइनल खेल शनिबार हुँदै छ।

यसै गरी पुरुषतर्फको सेमिफाइनलअन्तर्गत तनहुँले म्याग्दीलाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट २५–२१ को अन्तरमा म्याग्दीले जितेको थियो। त्यसपछिका सेटहरू निकै प्रतिस्पर्धी हुँदै बढेका थिए।

त्यसपछिका सबै सेटमा ३२–३०, २५–१४ र २५–२० को अन्तरले तनहुँले सफलता पायो। यस्तै अर्को खेलमा स्याङ्जाले पर्वतलाई पराजित गरेको छ। स्याङ्जाले पहिलो दुवै सेट २५–२० र २५–१७ ले जिते पनि पर्वत तेस्रो सेटमा २७–२५ ले लयमा फर्किँदै स्याङ्जासँग प्रतिस्पर्धा गरेको थियो। तर चौथो सेटमा स्याङ्जाले पर्वतमाथि पुन २५–१७ को सहज जित निकाल्दै फाइनलमा तनहुँसँगको भेट पक्का गरेको छ।

आयोजक कास्की जिल्ला भलिबल सङ्घका अनुसार शनिवार तेस्रो स्थानको लागि बिहान साढे ८ बजे महिला र पुरुष नुदै तर्फका खेलहरू खेलाइने छ। जसमा महिलातर्फ तनहुँ र कास्की तथा पुरुषतर्फ म्याग्दी र पर्वत भिड्नेछन्। यस्तै महिला तर्फको फाइनल खेल बिहान साढे ११ बजे र पुरुषतर्फको खेल दिउसो एक बजे खेलाइँदै छ।

अध्यक्ष पराजुलीका अनुसार प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता दुवैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेन्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५/५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.