काठमाडौं : घरेलु टोली न्यूजिल्याण्डले अस्ट्रेलिया विरुद्ध ५ खेलको टी-२० सिरिजको दोस्रो खेल ४ रनको रोमाञ्चक जीत निकालेको छ।
मार्टिन गुप्टीलको सानदार प्रदर्शनमा २१९ रनको लक्ष्य दिएको न्यूजिल्याण्ड विरुद्ध अस्ट्रेलियाले पनि उत्कृष्ट जवाफ दिएको थियो। तर, अन्तिम समयमा अस्ट्रेलियाले २१५ रन मात्र जोडेपछि न्यूजिल्याण्डले रोमाञ्चक जीत निकाल्न सफल भएको हो। जीतसँगै सिरिजमा न्यूजिल्याण्डले २-० को अग्रता बनाएको छ।
न्यूजिल्याण्डले विशाल स्कोर तयार गर्ने क्रममा उसका ओपनर मार्टिन गुप्टीलले ९७ रन जोडे। शतक बनाउन चुकेका गुप्टीलले ५० बल खेल्दै ६ चौका र ८ छक्काको विस्फोटक इनिङ खेले। कप्तान केन विलियम्सनले ५७ रनको इनिङ खेले।
अर्का ब्याट्सम्यान जेम्स निसम ४५ रनमा अविजित रहे। यी तीन बाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन असफल भए। समग्रमा न्यूजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो।
२ सय २० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले मार्कुस स्टोइनिसको विष्फोटक इनिङमा रोम्रो जवाफ दिन सफल रह्यो। स्टोइनिसले ३७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ७८ रन बनाएका थिए। त्यस्तै डेनियल सम्सले १५ बलमा ४१ रनको अर्को विस्फोटक इनिङ खेले तर टीमको हार टार्न भने पर्याप्त रहेन। त्यस्तै जोस फिलिपले ४५ रन बनाए।
यसअघि गत २२ फेब्रअरीमा भएको पहिलो टी-२० मा न्यूजिल्याण्डले ५३ रनको शानदार जीत निकालेको थियो। यी दुई टीमबीच ५ खेलको टी-२० अन्तराष्ट्रिय प्रतिष्पर्धाको कार्यतालिका रहेको छ।
न्यूजिल्याण्डले अब एक खेलमा जीत निकाले सिरिज कब्जा गर्ने छ। अब मार्च ३ का दिन वेलिङ्गटनमा तेस्रो टी-२० खेल हुने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।