काठमाडौं : नेपाली लोक गीत र लोक दोहोरी क्षेत्रलाई सरसर्ती हेर्दा तीन वर्गका व्यक्तिले संगीत क्षेत्र अगाडी बढाएको देखिन्छ।
पहिलो वर्ग : जो आवश्यकताभन्दा छिटो भोलिका लागि संगीतलाई नै परिवर्तन गरिदिन्छ, लोक गीतमा ग्ल्यामर भरिदिन्छ। यो वर्गले नेपाली लोक संगीतको क्षेत्रमा विकृति ल्याउन अहम भूमिकामा खेलेको छ।
दोस्रो वर्ग छ, जो जसले लोक संगीत धेरै परिवर्तन हुनुहुँदैन भनिठान्छ। पुरानै ढर्रामा चलिरहन मन पराउने उनीहरूका सिर्जना पनि पुरानो शैलीमा छन्। राजनीतिक भाषामा जडसुत्रवादी जस्ता देखिन्छन्।
र, महत्वपूर्ण तेस्रो वर्ग : यो वर्गले मौलिकतालाई बचाउँदै हिजो र भोलिलाई हेरेर आज लोक संगीत क्षेत्रमा पुलको काम गरिरहेको छ। यो वर्ग संक्रिय भइञ्जेल कसैले पनि लोक गीतलाई भत्काउन सक्दैन भन्ने आम बुझाई छ। तर, यी व्यक्तिलाई टिक्न सहज चाहिँ पक्कै छैन।
यो वर्गमा रहेका धेरै युवामध्ये अहिलेसम्मका रचना नियाल्दा शिरीष देवकोटा पनि एक हुन्।
देवकोटाले विभिन्न जनराको गीत गाएपनि उनले 'खेली' (जसलाई रोइला भन्ने गरिन्छ) रोइला गायकको उपमा पाएका छन्। उनलाई रोइला गायकको रूपमा चिन्ने दर्शकको संख्या उल्लेख्य छ।
देवकोटाले जीवनमा तीन धारका गीत गाएका छन्। संसारभर सदावहार रहने माया-प्रेमका, लोक संगीतमा लागेका व्यक्ति देश र समाजप्रति खासै जवाफदेही हुन्नन् भन्ने आलोचना चिर्न समाज रूपान्तरण र परिवर्तनका, जसलाई हामीले सामाजिक गीत भन्दछौं। र, तेस्रो धारमा सांस्कृतिक हिसाबले चलिआएका मौलिक गीतहरू।
मौलिकमध्ये रोइला गीतलाई उनले कलाकारको जीवन व्यावसायिक नै हुनेगरी अघि बढाउँदैछन्।
उनलाई लाग्छ : खेली (रोइला) हाम्रो पुस्ताले संरक्षण र संवर्द्धन गरेन भने अर्को पुस्तासम्म पुग्दा हराउने सम्भावना छ। खेलीलाई संरक्षण गर्दै व्यावसायिक बनाउन आफू प्रयासरत रहेको उनी बताउँछन्।
खेलीबाटै पहिचान
गण्डकी र धौलागिरी क्षेत्रमा रोइला प्रचलित छ। तर, यो शैलीका गीतहरू देशभर गाइन्छ। किनभने रोइला भजनसँग मिल्दोजुल्दो छ।
रेडियो नेपालले यस संरक्षण त गरेको थियो। तर, रेडियोको प्रयास सोचे जस्तो उल्लेख्य नभएको उनलाई लाग्यो।
'आफ्नो गाउँको परिचय दिन सक्ने गीत राष्ट्रिय स्तरमा अपरिचित छ। धेरैलाई यसबारे ज्ञान पनि नभएको भएपछि यो गीत संरक्षण गर्नुपर्छ भन्ने सोच आयो', उनी सुनाउँछन्, '६१ सालमा रोइला रेकर्ड गरेँ, जसको भाका खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउदै बोलाउँछु भन्ने थियो।'
यो गीत एल्बमको 'बी' साइडमा थियो। त्यो सुपरहीट भयो। त्यसमा उनले अभिनय समेत गरेका थिए।
व्यापक रूपमा चर्चामा आएकोले उनलाई आज पनि रोइला गायकका रूपमा चिनिन्छ। तर, उनले रोइलाभन्दा धेरै अन्य लोक दोहोरी गीत गाएका छन्। रोइला नामबाट उनले थुप्रै उपनाम पनि पाएका छन्।
'जुन गीत चर्चामा रहेको छ, त्यसमा नाम जोडिनु स्वभाविक हो। तर मलाई ती उपनामको पाउन लायक अझै भइसकेको छैन', उनी थप्छन्,'जिम्मेवार बन्नुपर्छ भन्ने चाहिँ लागेको छ। मैले अझै रोइलाका विविधता र विशेषतालाई व्यापक रूपमा खोजेर सार्वजनिक गर्नुपर्नेछ।'
फर्केर बालापनमा
नेपाली समाजमा मध्यम वर्गीय परिवारको सपना सन्तानले पढेर आफ्नो नाम राखिदियोस्, कम्तिमा सरकारी जागिर खाइदियोस् भन्ने नै हुन्छ। देवकोटाको परिवारले पनि यस्तै केहि सपना उनीमाथि देखेको थियो।
पढाईको महत्व बुझेका शिक्षक बुबाले छोरालाई पढाइमा कर गर्नु स्वभाविक थियो।
उनी अतितको पोयो फुकाउँछन्, 'अब्बल विद्यार्थीले हाजिरीजवाफ, वक्तृत्वकला, वादविवादमा भाग लिने हो। गानाबजाना गर्ने होइन भन्ने गलत नजिर थियो।'
यसकारण गीत प्रतियोगितामा उनको उपस्थिति हुँदैन थियो। यद्यपी, उनी मेलापात र गोठालो जाँदा भने गीतहरू गुनगुनाउँथे। उनको स्वर मान्छेले नसुनेर के भो त? वनपाखाले सुन्थ्यो, गाइवस्तु र खोलाले सुन्थे। उनी यसरी नै चित्त बुझाउँथे।
पाल्पा दर्मलडाँडाका देवकोटा गाउँमा भजन, खेली हुँदा आमासँगै जान्थे। शिरीषका अनुसार आमाले निकै मीठो गीत गाउनुहुन्थ्यो। उनी सिको गर्थे। 'आमाले एकदमै राम्रो गीत गाउनुहुन्थ्यो। नियतिले उहाँ गायिका हुनुभएन। सायद आमाको गुण ममा सर्यो। मेरो गायनमा रूची बढ्यो,' उनी सुनाउँछन्, 'मेरा जति पनि रोइला गीत छन् ती गीतको पहिलो टुक्का आमाले नै सिर्जना गरेका हुन्छन्।'
डाक्टर बन्न शहर पसेको छोरो जब गायक बन्यो
गायक बन्ने उनको रहर थियो। बुबाको सपना डाक्टर बनाउने थियो। बाबुछोराबीच देखिएको सपनाको भीडन्त शुरू भयो। बहाना एसएलसीको नतिजा बन्यो।
उनलाई डाक्टर बनाउने सपना देखेका बुबाले २०५७ मा एसएलसी नतिजापछि काठमाडौं पठाए। उनी अमृत साइन्स कलेजका विद्यार्थी बने। काठमाडौं आएपछि उनको भेट त्यसबेलाका चर्चित सर्जक भगवान भण्डारीसँग भयो। माध्यम थिए - शिरीषका दाई भरत।
भरतले आफ्नो भाइले पनि गीत गाउने गरेको भनेर सुनाएपछि शिरीषको भेट भण्डारीसँग सम्भव भएको हो। भण्डारी नयाँ पुस्तालाई माया गर्थे। दाजुको कुरा सुनेर भण्डारीले देवकोटालाई गीत सुनाउने शर्तसहित भेट्न बोलाए।
देवकोटाले स्वर सुनाए। भण्डारी समूहले त्यसबेला कान्तिपुर म्युजिक कम्पनी खोल्दै थियो। देवकोटाको स्वर सुनेपछि भण्डारीले भनेछन्, 'पढाइमा चाहिँ निरन्तरता दिनुस्। गायनमा पनि समय दिनुपर्छ। किनभने स्वरमा दम छ।'
एउटा अग्रज सर्जकले गरेको प्रशंसाले उनी फुरुङ्ग भए। त्यति मात्र होइन - देवकोटाको पहिलो एल्बममा नै भण्डारीको कम्पनीले लगानी गरिदियो।
त्यसबेला गीतले लगानी उठायो। संगीत क्षेत्रमा उनको स्वरलाई मन पराइयो। गीतका अफर आउन थाले। यसैबीच एकदिन भण्डारीले भनिदिए, 'तपाईं आफैँ कम्पोज गर्न सक्नुहुन्छ भने मेहनत गर्नुस्।'
सुन्दा त कुरा सामान्य थियो। तर, भण्डारीले समुन्द्रमा फालिदिए। आफैँ पौडी नखेले दुर्घटना हुने पक्कापक्की थियो। देवकोटाका संघर्ष शुरू भए।
डिग्री सर्टिफिकेटको धन्दा
६१ सालमा उनको पहिलो रोइला गीत 'खरबारीमा जान्छु' धौलागिरी क्यासेट सेन्टरले लगानी गर्यो। गीत चल्यो।
६५ सालमा 'म त आउने थिइन् यही चाल हुन्छ भन्या भा' भन्ने खेली उनको जीवनको सर्वाधिक चर्चा पायो। चर्चा गाउँसम्म पुगेपछि डाक्टर बन्न गएको छोरो गायक बनेको परिवारले थाहा पायो। 'गीतको समुन्द्रमा हाम फालेपछि डाक्टर बनाउने बुबा आमाको 'सपना'ले पौडी खेल्न सकेन। अन्तत: गायकको परिचय बन्यो,' उनी खिस्स हाँस्छन्।
तर, बुबा आमाले अर्को शर्त राखे। गीतमा नै सती जान खोजेपछि देवकोटालाई परिवारले जसरी पनि डिग्रीको सर्टिफिकेट चाहिने बतायो। यो शर्त चाहिँ सजिलो थियो। त्यसपछि उनी शंकरदेव क्याम्पसमा भर्ना भए। बुबाको चाहना पूरा गरिदिए।
संख्याले परिचय दिँदैन
उनको चर्चा भएपछि गीत गाउने अफर आए। तर, उनले आफ्नो सिर्जनालाई महत्व दिए। उनी भन्छन्, 'अफरहरू स्वीकारेर गीत गाएको भए पैसा पनि कमाइन्थ्यो होला। अरूले हिँडेको बाटोमा हिँड्न त सजिलो होला। तर, आफूले बनाएको बाटो कठिन किन भएपनि जीवन्त हुन्छ भन्ने मलाई थाहा थियो।'
लगभग २० वर्षको अवधिमा यो हिसाब थोरै भएपनि उनी सन्तुष्ट छन्। भन्छन्, 'गायकको परिचय संख्याले होइन, गीतको गुणस्तरले निर्धारण गर्छ।' अरूको गीत नगाउने भएपछि आफूले मिहिनेत गर्न शुरू गरे उनले। सिर्जना गरेका गीत कम्पनीलाई लगेर सुनाउने चक्कर शुरू भयो। गीत राम्रो छ भने त्यसबेला कम्पनीले लगानी चाहिँ गरिदिन्थे।
तर, समय उस्तै हुँदैन। समयसँगै कम्पनीले मात्र लगानी गरेर मात्र भाग्यमानी सावित हुने अवस्था रहेन। प्रतिस्पर्धा शुरू भयो। व्यावसायिकता आवश्यक देखियो। उनले समातेको धार टिपिकल थियो। मौलिकता जोगाएर व्यवसायिक हुनु निकै गाह्रो थियो।
लोक संगीतका खराब पाटा
लोक गीत नेपाली संगीतको शासक हो भन्ने उनको बुझाई छ। संगीतको इतिहासमा लोक गीतको इतिहासदेखि वर्तमानसम्म आजसम्म उचाई कायम छ। अचेल गीत निकाल्नु सामान्य भइसक्यो। हिजो गायन पेशा बन्छ भन्नेमा प्रश्न थियो। आज गायनबाट राम्रो जिन्दगी चलाउनेहरूपनि छन्।
प्रविधिको तीव्र परिवर्तनले गर्दा अडियोबाट सिडी, सिडीबाट भिसिडी, भिसिडीबाट सिआरबिटी, सिआरबिटीबाट युट्युब, युट्युबबाट अब फेसबुक पेजसम्म आएको छ। पूर्ण रूपले डिजिटलाइज्ड पनि नभइसकेको, तर पुरानै ढर्रापनि नगइसकेको संक्रमणकालीन अवस्था छ।
'हुन त पढेर स्वर राम्रो हुने होइन। तर, उसको बौद्धिकता, उसको प्रस्तुती, उसको गहनतालाई प्रभावकारी रूपमा हामीले लिएका छैनौं', उनी थप्छन्, 'लोक संगीतमा अध्ययनको कमी छ। चाहे त्यो पूर्वको होस् या त्यो पश्चिमको लोक संगीतको कुरा होस्। लोक गीतको इतिहास र यो इतिहासलाई आजको दिनसम्म ल्याउन कसले के गरे? कति व्यक्तिको जीवन अर्पण छ भन्ने पनि हामीलाई थाहा छैन। अघिल्लो पुस्तालाई अध्ययन गरेर अनुशरण गर्ननसक्नु हाम्रो कमजोरी हो।'
पैसाले सिर्जना किन्ने चलनका कारण सबैभन्दा बढी विकृति आएको उनी सुनाउँछन्। युट्युबबाट कमाइ हुन्छ भन्ने लागेपछि यस क्षेत्रलाई 'युज एण्ड थ्रो' गर्ने क्रम पनि बढेको छ।
लोक गीतमा आवश्यकताभन्दा बढी ग्लामरस बढाउँदा विकृति पनि निम्तिएको छ। त्यसले समग्र गीतमाथि प्रश्न चिन्ह खडा भएको छ। उनी अन्त्यमा भन्छन्, 'सर्जकले सामाजिक मर्यादा नाघ्न थाल्यो भने लोक गीत सकिन्छ। हामीले निर्माण गरेका गीतहरूमा मौलिकता मास्न नलागौँ। यात्रा अझै लामो छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।