धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।
गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखद्वारा फेरबदल गरेको भन्दै अनेरास्ववियूले ताला लगाएको हो।
धनकुटा बहुमुखी क्याम्पस प्रमुख र सहायक क्याम्पसको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियू क्याम्पस कमिटी सहसंयोजक संतोष बुढाथोकीले जानकारी दिए।
क्याम्पसमा प्रचण्ड–माधव समूहको नेकपानिकट अनेरास्ववियूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न गत फागुन ११ गते २४ घण्टे अल्टिमेटम दिएको थियो।
अल्टिमेटम दिएको लामो समयसम्म क्याम्पसले बेवास्ता गरेकोले तालाबन्दी गरिएको अनेरास्ववियू क्याम्पस कमिटी संयोजक सञ्जीब लिम्बूले जानकारी दिए। लिम्बूले परिक्षाको क्रममा क्याम्पसले क्याम्पसकै प्रतिष्ठामा आँच आउने र क्याम्पसमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रेको जानकारी दिए। उनले दोषीमथि कारबाही नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए।
यस्तै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ पनि धनकुटा बहुमुखी क्याम्पसमा भएको घटनाप्रति आन्दोलित भएको छ। मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्र प्रसाद पोख्रलले बस्तुगत तर्फको उतरपुस्तिका फेरबदल गरी विद्यार्थीको भविष्यमा खेलवाड गरेको भन्दै आन्दोलित हुनुपरेको उनीहरूले बताएका छन्। पोख्रेललाई तत्काल निलम्बन गरी कार्वाहीको माग गर्दै नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले माग गरेको छ।
धनकुटा बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वासनियतामाथि नै प्रश्न उठ्ने कार्य गरिएको भन्दै तत्काल सहायक क्यापस प्रमुखलाई निलम्बन गरी कारबाही गर्न नेबिसंघले समेत माग राखेको छ।
नेविसंघले आज सहायक क्याम्पस प्रमुखको कुर्सी बाहिर निकाली तस्बिर कुर्सीमा टाँस्दै परीक्षा सजिलै पास गर्ने भए मलाई सम्पर्क गर्नु, बस्तुगत तर्फको उत्तर चाहिए म सहयोग गर्छु जस्ता पोस्टर लेखी क्याम्पसमा प्रदर्शन गरेको छ।
नेविसंघले परिक्षामा भएको अनियमितताको छानबिनमा क्याम्पस प्रशासन उदासिन भएको भन्दै गत ११ गते नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो।
नेविसंघले उठाएका मागको सम्बोधन क्याम्पस प्रशासनलले नगरे अझै आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको सबै परिणाम क्याम्पस प्रशासनले लिनु पर्ने नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालानन्द दाहालले बताए।
यता धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होमबहादुर बस्नेतले सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेल र घटना भएको दिनको परीक्षा इन्चार्ज सरिता भण्डारीलाई अनुसन्धानभरका लागि परीक्षाका कुनै पनि गतिविधिमा संलग्न नगराउने निर्णय गरेको बताए।
उनले थप अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय परिक्षा सञ्चालन बोर्डको अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयले पूर्वाञ्चल निमित्त परिक्षा नियन्त्रक नन्द न्यौपानेले धनकुटा आएर क्याम्पस प्रमुख, सहायक क्याम्पस र परीक्षा सञ्चालनमा खटिएका कर्मचारीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन्।
क्याम्पस प्रमुख बस्नेतले विद्यार्थी संगठनहरुसँग पटकपटक वार्ता भइरहेको जानकारी दिए। विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुख पोख्रेललाई क्याम्पस बस्नेतले निलम्बन गरेर तत्काल कारबाही गर्न माग गरेको भए पनि आफूले त्यो गर्न नसक्ने बताए। क्याम्पस प्रमुखको सिफारिसमा सहायक क्याम्पस प्रमुखको नियुक्ति त्रिवि कार्य परिषदले गर्ने भएकाले हटाउन पनि कार्य परिषदले मात्रै सक्ने क्याम्पस प्रमुख बस्नेतले बताए।
विद्यार्थीको आन्दोलनले विद्यार्थी भर्ना अभियान र परिक्षा सञ्चालनमा समस्या भएको बस्नेतले बताए। पहिले माग राख्ने अनि वार्ता हुने र नमिलेपछि ताला लगाउने भए पनि अहिले विद्यार्थी संगठनले सुरुमा ताला लगाएर मात्र वार्ता गर्ने कुरा गरेको क्याम्पस प्रमुख बस्नेतले बताए। उनले विद्यार्थी संगठनसँग वार्ता भइरहेको जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।