म्याग्दी : म्याग्दीको अत्यन्त विकट मानिएको अजिङ्गर भीरमा ट्याक खोलेर सोही बाटो हुँदै गाउँमा नै पहिलो पटक मोटर पुगेपछि दर्मिजा, चिमखोला र कुइनेमंगलेका बासिन्दाहरूले पञ्चेबाजा बजाएर नाचगान गरी खुसीयाली मनाएका छन्।
सोमबार (हिजो) रघुगंगा गाउँपालिको दग्नाम, दर्मिजा–चिमखोला हुदै कुइनेमंगले जोड्ने मोटरबाटोको ९६ वर्षीय दलबहादुर गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले संयुक्त रूपमा मोटरबाटो उद्घाटन गरेसँगै तीनवटै गाउँमा खुसीयाली छाएको हो।
जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भीर छिचोलेर भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेमा करिब ३६ किलोमिटर सडक विस्तारसँगै गाउँमा मोटर गुड्न थालेपछि तीन गाउँका बासिन्दा हर्षले गद्गद् भएका छन्।
दर्जिमामा आयोजित उद्घाटन समारोहमा बोल्ने वक्ताले दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भीरमा दुई तर्फबाट ट्याक खुलेसँगै तीन वडाका बासिन्दाको घर-आँगनमै मोटरबाटो पुगेकाले निकै अघि देखिको सपना पूरा भएको बताए।
मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्वय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडीहरू आएको देख्दा आफूलाई निकै खुसी लागेको बताए। ‘खुट्टाले हिँड्नसमेत नसक्ने चट्टानमा अहिले सडक बनेको छ, ‘मर्ने बेलामा गाउँमै आएको सडकको उद्घाटन गर्न पाइयो,’ उनीहरूले भने।
दर्मिजा, चिमखोला र कुईनेमंगले क्षेत्रका बासिन्दालाई सडक सञ्जालको सहज पहुँच पुर्याउन अजिंगर भीरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
‘भीर छिचोल्दै यहाँसम्म खनिएको सडक हाम्रो गौरवको आयोजना हो, हामीले ठूलो सफलता हासिल गरेका छौं, भण्डारीले भने, ‘हामीले स्थानीयबासीलाई दिएको बाचा पूरा गरेका छौँ।’
उनले सडक सञ्जाललाई हरेक वर्ष मर्मत सहितको योजना समेत बनाउने बताए। उनले गाउँको विकासका ढोका अव खुलेकोले जनप्रतिनिधिसँग समन्वय गरी आय मूलक कार्यमा उपयोग गर्न माटो सुहाउँदो कृषि उत्पादनलाई समेत प्रोत्साहन गरिने बताए।
सडक सञ्जालको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै अब कृषकहरू निर्वाहमुखी भन्दा व्यवसायमुखी बनाउने गरी कृषि, पशुपालन सहित उत्पादनमा आत्मनिर्भर बनाउने अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाए।
गाउँपालिकाको तिन करोड ६२ लाख ६० हजार ७५६ रुपैयाँ, गत आर्थिक वर्ष प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख ११ हजार ९३१ रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।
आर्थिक वर्ष २०७५/७६ मा ६५ लाख रुपैयाँ बजेट परेकोमा २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७/७८ मा पूर्वाधार साझेदारी कार्यक्रममा आएको ५० लाखमध्ये २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। बचत रकम कोरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रशासकीय अधिकृत सुवेदीका अनुसार स्थानीय तहको बजेट बाहेक तुँदी पावर कम्पनी प्रालि र संयुक्त उर्जा प्रालिको करिब ११ करोड रुपैयाँ लागतमा उक्त ट्रयाक खोलिएको हो।
'सडक खुलेपछि हामी निकै खुशी भएका छौँ,' गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष एकबहादुर गर्बुजाले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।