राजनीतिका बासी खुराकमात्रै किन पस्किन्छन्‌ टक शो सञ्चालक ?

|

काठमाडौं : राजनीतिबाट कुनै पनि क्षेत्र अछुतो छैन। जीवन र समाजका सुक्ष्म कुरा पनि राजनीतिबाटै निर्देशित हुन्छन्। राजनीतिक वृत्तको महत्व र गरिमा छ नै, छापादेखि अनलाइनसम्म र रेडियोदेखि टेलिभिजन हुँदै सामाजिक संजाल पनि राजनीतिको अखडा बनिदिएको छ।

हरेकजसो दिन छापा माध्यममा पनि राजनीति नै महत्वपूर्ण रूपमा छापिने गरेको छ। नेपालमा राजनीतिमा यति छिटो घटनाक्रमहरू अगाडी बढ्छन् कि कहिलेकाहीँ दिउसो भएका घटनाहरू बेलुकासम्म बासी भइदिन्छन् जसले गर्दा मिडियाहरूले पलपलका राजनीति वृत्तका ताता खबर छाप्न हानथाप गरिरहेका हुन्छन्‌।

टेलिभिजन तथा रेडियोमा हुने घण्टे बुलेटिनमा पनि मुख्य स्थान राजनीतिले नै ओगटेको छ। साप्ताहिक टेलिभिजन बहसमा पनि राजनीतिक नियुक्ति र नेतृत्वले गर्ने हिसाबकिताबले नै स्थान पाउने गरेको छ।

व्यापकता र महत्व बोकेका राष्ट्रिय टेलिभिजनका बहस जनजीविकासँग जोडिने माध्यम हुनुपर्ने हो। यी बहसले लामो समयसम्म प्रभाव पार्न सक्ने भएकोले पनि महत्वपूर्ण छ। तर, ती बहसमा हुने तर्क-वितर्क जनअपेक्षित देखिँदैन।

देशमा व्याप्त बेरोजगारी, हत्या, बलात्कार, महिला हिंसा, शिक्षा, स्वास्थ्य, गरिबी, मधेस समस्या, खुला सीमा र समस्या, यातायात, खाद्यान्न संकट, कालो बजारी, भ्रष्टाचार, महँगी, खेलकूद लगायतका विविध मुद्दामा समस्या छन्। यी समस्यामाथि बहस खै? प्रश्न यो हो।

टेलिभिजन बहसले समसामयिक राजनीति चर्चा गरिरहँदा अन्य मुद्दाहरू भने छायाँमा छन्। जसले गर्दा युवा र आम नागरिकहरूमा एक किसिमले निराशा छाउने गरेको छ।

'टक शो'मा सत्ताको जोड-घटाउ, समसामयिक राजनीतिक घटनाको व्याख्या र नेताका बासी अभिव्यक्तिहरूले स्थान पाउने गरेका छन्। अहिले राष्ट्रिय मिडियामा चर्चामा रहेका साप्ताहिक बहस कार्यक्रमबारे अध्ययन गर्दा नै यसको पुष्टि हुन्छ।

समाजशास्त्री दिनेश प्रसाईं नेपाली राष्ट्रिय मिडियामा आउने बहसले जनअपेक्षित मुद्दाहरूलाई प्राथमिकतामा राख्न नसकेको सुनाउँछन्।

'राजनीतिक केन्द्र वरिपरी नै हुने बहस पट्टयारलाग्दा भइसकेका छन्। वर्षौंदेखि तिनै अनुहारहरू मिडियामा घुमेका छन्। उनीहरूका बासी अभिव्यक्ति दर्शकमाझ लाद्न मिडियाहरू हानथाप गरिरहेका छन्,' मिडियाको प्रवृत्तिबारे उनी बोल्छन्, 'मूलधारका मिडियाले उठाउने मुद्दा मूलत: राजनीति नै केन्द्रमा पर्छन्। उनीहरू सत्ता बहसमा रमाएका छन्। यसले गर्दा मिडिया समाजसँग जोडिन सकेको छैन। जनजीविकाका सवालहरू बहसमा स्थान दिने विषयमा अझैपनि मूल धारको भनिएका मिडियाहरू चुकिरहेका छन्‌।'

जनजीविकाकाबारे हुने अनेक मुद्दा बहसमा आउन नसक्नुका पछाडि वृहत् अध्ययन र अनुसन्धान अभाव रहेको समाजशास्त्री प्रसाईं बताउँछन्।

'हामीकहाँ अध्ययनको कमी छ। आवश्यक तयारी र पूर्वअध्ययन बिना हाम्रो मुद्दाबारे तार्किक बहस हुन सक्दैन। यसका लागि मिडियाले सोच्नुपर्छ,' उनी भन्छन्, 'नेपाली मिडियाले अध्ययन र अनुसन्धान गर्न कति सामर्थ्य राख्छ भन्ने मूल प्रश्न हो। सामाजिक मुद्दाहरू तत्कालै सम्बोधन गर्न गाह्रो भएपनि व्यापक बहस उठान गर्न सकेमात्र मिडिया समाजप्रति कति जिम्मेवार छ भन्ने प्रत्याभूत हुनसक्छ।'

पछिल्लो २ महिनामा नेपालका राष्ट्रिय टेलिभिजनमा हुने गरेका 'टक शो'हरूको मूल्यांकन गर्दा प्रसाईंले लगाएका आरोप सत्य नजिक छ।

के अहिलेको मुद्दा राजनीति मात्र हो? बहसमा अन्य विषयहरू समावेश गर्नु आवश्यक छैन? गरिबी, महिला हिंसा, भ्रष्टाचार, महँगी, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात तथा युवाहरूको बढ्दो निराशामाथि बहस आवश्यक छ कि छैन?

एउटा मिडियाले कुन मुद्दाहरू कसरी प्राथमिकतामा राखेको छ भनेर मूल्यांकन गर्नुपर्ने संचारकर्मी तथा पत्रकार रुपेश श्रेष्ठ बताउँछन्। उनी 'फायर साइड' नामक साप्ताहिक बहस कार्यक्रम सञ्चालक हुन्‌।

​'एउटा कार्यक्रमले सबै कुरा समेट्न सक्छ भनेर आशा गर्नु त्यति धेरै न्यायोचित नहोला। साप्ताहिक रूपमा आउने एक कार्यक्रमले देशभर हुने घटना समेट्न कसरी सक्छ? सञ्चारमाध्यमले दिनभर कस्ता कस्ता विषय उठायो भन्ने मूल कुरा हो,' श्रेष्ठ भन्छन्, 'सबैभन्दा जवाफदेही त्यो हुन्छ-जो जिम्मेवारीमा बसेको हुन्छ। हामीले प्रश्न उनीहरूलाई गर्ने हो। जिम्मेवार व्यक्तिले ती काम, कर्तव्य र अधिकारलाई सही ट्रयाकमा ल्याएपछि अन्य विषयहरू पनि जोडिँदै जान्छन्।'

एउटा कार्यक्रमले सबै विषयको सम्बोधन गर्न नसकेको कारण सञ्चारमाध्यमले विभिन्न कार्यक्रम उत्पादन गरिरहन्छन्। जसले फरक-फरक विषय समेट्ने कोशिष गर्ने उनी बताउँछन्।

नेपालका चर्चित 'टक शो' कार्यक्रमका नियमित दर्शकले अर्कोपटक को पाहुना आउँछन् भन्ने कुरा नै पहिल्यै नै आंकलन गर्न सक्छन्। किनभने राजनीतिक वृत्तका करिब ३०-३५ जना व्यक्ति यस्ता 'टक शो' रोजाइमा छन्।

तर, अनुहार दोहोरिनु सामान्य रहेको श्रेष्ठ बताउँछन्।

'हामीले पटक-पटक तिनै अनुहारलाई नै जिताएर जवाफ दिने ठाउँमा पुर्‍याएका छौं। हाम्रो जिन्दगीको जिम्मा उनीहरूको हातमा छ। प्रश्न सोध्ने पनि उनीहरूलाई नै हो। यसकारण दर्शकले तिनै अनुहार देखिरहनुभएको हो,' श्रेष्ठ थप्छन्‌, 'विधि कार्यान्वयन गर्न बसेका व्यक्तिलाई प्रश्न गर्ने हो। त्यसपछि अन्य मुद्दाहरू समेटिँदै जाने गर्छ। यसो भनिरहँदा मुद्दा केही पनि होइनन् भन्नु चाहिँ गलत हो। तर, प्रणाली नसुध्री अन्य ठाउँ सुधार्न सकिँदैन।'

'हट सिट' नामक वहस कार्यक्रम चलाइरहेका संचारकर्मी तथा पत्रकार जगदीश खरेल सीधा प्रश्न गर्न रुची राख्छन्। तर, कार्यक्रममा उनले गर्ने सीधा प्रश्न अधिकतर राजनीतिबारे नै हुन्छ।

आफूले उठाइरहेका मुद्दा देश र जनतासँग जोडिएको खरेल दाबी गर्छन्। जनजीविकासँग नजोडिएपनि आफूले चलाउने बहसहरू राष्ट्रियतासँग प्रत्यक्ष जोडिएको उनले बताए।

'हट सिट' मा सामाजिक विषयहरू ल्याउन नसकेको उनी स्वीकार्छन्। 'राजनीतिक मुद्दाको तुलना सामाजिक मुद्दा ल्याउन नसक्नु मेरो कमजोरी हो,' उनी भन्छन्।

आफूले चलाउने बहस कार्यक्रममा सामाजिक मुद्दाहरू समावेश गर्न चुकेपनि अन्य कार्यक्रममा भने जनजीविकासँग जोडिएका अनेक विषय व्यापक रुपले उठाएको उनले बताए।

'जसरी संसद विघटन भयो, त्यसले ल्याउने राजनीतिक तरंगहरूबारे हामी जानकार छौं। यी जनतासँग जोडिँदैन भन्ने कुरा पटक्कै पनि होइन। अझै केही महिना जनताका विषय गौण हुने सम्भावना छ। जब राजनीति स्थिर बन्छ, राजनीतिले जब लय समात्छ : त्यसपछि मात्र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय नै प्राथमिकतामा रहन्छन्,' खरेल भन्छन्।

टेलिभिजनमा आम दर्शकसम्म पुग्न पनि सजिलो भएर राजनीतिक विषय उठान भएका हुन्? कि यसमा पनि राजनीतिक विषय थुपारेर भारतीय च्यानलहरूमा झैँ 'टिआरपी' बढाउन खोजिएको हो? अहिले उठेको अर्को प्रश्न यो पनि हो।

मुद्दाको प्राथमिकता, त्यसको महत्व, सान्दर्भिकता र यसको प्रभाव मुख्य कुरा भएको र टीआरपी सहायक कुरा रहेको खरेल बताउँछन्‌। बहसमा आउने अनुहार दोहोरिनुको कारणबारे खरेल भन्छन्, 'आधिकारिक निकायहरूमा नै ती अनुहार छन्, त्यसैले बहसहरूमा उही अनुहार दोहोरिनु स्वभाविक हो।' कम्तीमा ५२ हप्ताको सिरिज बनाउँदासम्म जनता र सामाजिक मुद्दाहरू कति आए भन्नेबारे गम्भीर कार्ययोजना आफूले ल्याउने खरेलले बताए।

लामो समय टेलिभिजन पत्रकारिता गरी अनलाइनतर्फ लागेका प्रस्तोता जीवराम भण्डारी पुन: टेलिभिजनमा फर्किए। उनले चलाउने 'सत्य संवाद' पनि फरक दृष्टिकोणमा छैन। यसले पनि समसामयिक राजनीति र तिनै अनुहार देखाउने गरेको छ।

यो दुई महिनामा राजनीतिक तरलता भएको कारण आफ्ना बहसहरू राजनीतिमय भएको भण्डारीले स्वीकारे। अबको राजनीति के होला भन्ने आम चासोले गर्दा त्यसलाई सम्बोधन गर्ने क्रममा आफ्ना बहसमा सबैभन्दा धेरै राजनीतिक विषय हुन पुगेको उनको ठम्याई छ।

बहसहरू राजनीति केन्द्रित हुनु र अरू क्षेत्रमा रहेका विद्वान व्यक्तिलाई बहसमा स्थान दिन नसक्नु सञ्चारमाध्यमको कमजोरी रहेको भण्डारी बताउँछन्।

'समाजमा जून किसिमका मान्छेको उपस्थित छ, तिनीहरूले राजनीतिलाई आधार बनाएर बर्चस्व स्थापित गर्ने लागिपरेका छन्। यो हाम्रो कमजोरी हो,' भण्डारीले भने, ' यद्यपी; समाजलाई प्रभाव पार्ने मात्र होइन, नीति निर्माणका निर्णायक व्यक्तिहरू मैले बहसमा छनोट गर्ने गरेको छु।'

अचेल कार्यक्रम दर्शकसँग आधारित रहेर निर्माण हुन थालेका छन्। जून क्षेत्रमा दर्शकको उपस्थिति बाक्लो छ - त्यसैमा केन्द्रित भएर बहस उत्पादन हुने गरेको, तर यो गलत रहेको भण्डारीले बताए।

कतिपयले आफूलाई टेलिभिजनले राजनीतिक बहस बाहेक अन्य विषयमा मुद्दा निषेध गर्न थालेको हो ? भनेर प्रश्न सोध्न थालेको पनि भण्डारीले सुनाए। 'रंगिन पर्दा, सजावटले भरिएका सेटबाट प्रसारित असंख्य राजनीतिक बहस कार्यक्रमहरू आइरहँदा कतिपयले यस्तो सोच्न थालेका छन्,' उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.